+
+

सिएफएल प्रकरणः इटहरी उपमहानगरका लेखा शाखा प्रमुख हटाइए

 विराट अनुपम विराट अनुपम
२०७४ माघ १६ गते ९:५७

१६ माघ, इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन ।

मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए ।

दशक बढी समयसम्म लेखा शाखामा रहेका चौधरी यस अगाडिका विभिन्न खरिद प्रकरणमा पनि विवादमा आएका थिए । सिफएल खरिदमा अनियमतिता भएको खबर सार्वजनिक भएपछि भने उनलाई हटाउन उपमहानगर गेटमा प्रदर्शन नै भएको थियो ।

इटहरी उपमहानगरका मेयर चौधरी र उपमेयर लक्ष्मी गौतमले भने लेखाशाखा प्रमुख चौधरीलगायत दोषी फाँटका कर्मचारीलाई कारवाही गर्न नमिल्ने बताउँदै आएका थिए । सिएफएल प्रकरण अख्तियारमा गइसकेकाले त्यसमा आफ्नो कुनैपनि कारवाही नहुने तर्क गर्दै आएका थिए ।

सिएफएल प्रकरणमा मुछिएका दोषीलाई सडकमै कारबाहीको माग भएपछि भने नगरकार्यपालिकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टिकरण सोधिएको समय सकिएपछि पनि कर्मचारीहरुले लिखित स्पष्टिकरण नदिएको मेयर चौधरीले बताए ।

सोही प्रकरणमा जिन्सी शाखाका मनोज दाहाललाई भने फाँट सरुवा गर्ने तयारी भएको मेयर चौधरीले बताए । दाहालसँगै उपमहानगरका विभिन्न विवादित र आर्थिक हिनामिनामा तानिएका फाँट प्रमुखहरुको पनि सरुवा हुने मेयर चौधरी बताउँछन् ।

इटहरीमा जनप्रतिनिधिहरु आएको पहिलो तीन महिना साउन १ गतेबाट कात्तिक ७ गतेसम्म खरिद गरिएका ९७ लाख मूल्यका सिएफएल बल्ब तथा सेटमा भ्रस्टाचार भएको बताइन्छ । उपमहानगरले मंसिर ८ गते गठन गरेको छानबिन समितिले २० लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको निस्कर्ष निकालेको छ । दीपक गौतम नेतृत्वको ७ सदस्यीय समितिले टेण्डर प्रकृया र कोटेसनको विधि समेत सार्वजनिक खरिद ऐन विपरित भएको निस्कर्ष निकालेको छ ।

अख्तियारले पनि सिएफएल खरिद प्रकरणका फाइलहरु गत मंसिर ४ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?