+
+

शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते ११:०५


१७ माघ, चितवन । जिल्लाको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु भएको छ ।

काठमाडौंको इको कोड नेपाल प्रालिले डिपिआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डिपिआर प्रक्रियालाई द्रुतगतिमा अगाडि बढाइएको छ । आज स्थानीय जनप्रतिनिधिको उपस्थितिमा छलफल गरी डिपिआर प्रक्रियालाई तीव्रता दिइएको छ ।

इको कोड नेपाल प्रालिका इन्जिनियर कुमार धमलाले छ महिनाभित्रै डिपिआरको कामलाई पूरा गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिदैं डिपिआरको काम सकिएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि तत्काल सुरु गरिने बताए ।

शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ विघा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणाअनुरुप प्रदेश नं.३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

चितवन उद्योग संघका पदाधिकारी, वडा अध्यक्ष, डिपिआर गरिरहेको टोलीले औद्योगिक क्षेत्रको निरीक्षण समेत गरेर त्यहाँको वस्तुस्थितिवारे जानकारी लिएको छ ।

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग संघले निर्माणको अगुवाई गरिरहेको छ । संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रमा वातावरणमैत्री उद्योगहरू राखिने बताए ।

शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुने भएपछि स्थानीय निकाय पनि हर्षित भएका छन् । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र नगरपालिकाकै गौरवको आयोजना भएको बताए ।

शक्तिखोर औद्योगिक क्षेत्र पूर्व पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरतर्फ पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?