Comments Add Comment

बढ्दो प्रविधिको प्रयोगले वित्तीय प्रमूखको भुमिकामा चुनौती थपिदै

आफ्नो स्वामित्व रहेको अर्को संस्थासँग कारोबार गर्न डराउनु पर्दैन !

१७ माघ, काठमाडौं । विश्वमा बढेको प्रविधिको प्रयोगले वित्तीय प्रमूख (सीएफओ) को भुमिका चुनौतीपूर्ण बन्दै गइरहेको सरोकारवालाहरुले बताएका छन् ।

‘प्रविधि जहिले पनि सहयोगीको रुपमा उपयोगी हुन्छ तर यो हाकिम बन्यो भने सबैभन्दा खतरनाक हुन्छ । अहिले विश्वमा बढ्दै गएको प्रविधिको प्रयोगले वित्तीय प्रमूखहरुको भुमिकामा पनि चुनौती थपिएको छ,’ सीएमए श्रीलंकाका परिषद सदस्य एड्रियन परेराले भने ।

अहिले विश्वमा ९ सयभन्दा बढि डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोगमा रहेको, सायबर अपराध बढिरहेको र रोबटले मानिसले जस्तै काम गर्न थालेको अवस्थामा वित्तीय व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको तर्क परेराको तर्क छ । मंगलवारदेखि सञ्चालनमा रहेको दक्षिण एशियाली लेखा व्यवसायीहरुको सम्मेलनको दोस्रो दिन भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बुधवार तीन सत्रमा कार्यक्रम सञ्चालन भएको थियो । पहिलो सत्र वित्तीय प्रमूखको भविष्य, दोस्रो सत्र संस्थागत सुशासनमा वित्तीय प्रमूखको भुमिका र तेस्रो सत्र प्रविधिगत रुपान्तरणमा वित्तीय प्रमूखको भुमिकामा केन्द्रीत थियो ।

अधिकांश मुलुकका ७५ प्रतिशत वित्तीय प्रमूखहरुले प्रविधिको कारण आफ्नो कार्य कुशलतामा फरक पर्ने विश्वास व्यक्त गर्ने गरेको तथ्यांक सहभागीहरुले प्रस्तुत गरे । विश्वमा हालसम्मकै सबैभन्दा धेरै तथ्यांकको सृजना पछिल्ला दुई वर्षमा भएको समेत उनीहरुको दाबी रहेको छ ।
परेराले वित्तीय व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्नु राम्रो भएपनि यो नै सबै समस्याको समाधान नभएको उल्लेख गरेका छन् ।

‘वित्तीय व्यवस्थापनमा प्रविधि ‘सिगंल बुलेट’ होइन, यो चुनौती पनि हो । हामी दक्षिण एशियाली मुलुकमा रहेका काम गर्छौ, त्यसैले यहाको परिवेशको पनि ध्यान राख्नै पर्छ,’ परेराले भने । दक्षिण एशियाली मुलुकमा संस्थागत सुशासनमा समस्या रहने गरेकोले पनि त्यसलाई ध्यानमा राख्नु पर्ने उनको सुझाव थियो ।

संस्थागत सुशासन सम्बन्धि सत्रमा पनि वक्ताहरुले वास्तविक धरातलमा फरक रहेकोले प्रविधिको काल्पनिक दुनियाँमा मात्रै वित्तीय प्रमुखहरु रमाउन नहुने बताए ।

‘वित्तीय प्रमूखहरुको भविष्य र प्रविधिका बारेमा सुनेर तपाईहरु मिठो कल्पनामा रमाउनु भयो होला, तर तपाईहरुले भुल्नु हुँदैन कि भरे गएर काम गर्ने संस्थामा अहिले भनिएको जस्तै अवस्था नहुन सक्छ,’ आइसीएमए बंगलादेशका पुर्व अध्यक्ष आरिफ खानले भने । उनले अहिले पनि संस्थाहरुमा सञ्चालक समिति र व्यवस्थापनबीच अदृश्य युद्ध चल्ने गरेको बताए ।

संस्थागत सुशासनको लागि वित्तीय प्रमुखहरुले नियम बाहिरका कुरालाई नकार्न सक्नु भर्ने र सञ्चालक समितिको अगाडी झुक्न नहुने तर्क पनि खानको छ । संसारका सबैजसो देशमा स्वतन्त्र सञ्चालकको नाममा आफ्ना नजिकका साथी वा आफन्त राख्ने चलन रहेको उनको कथन छ । उनका अनुसार बंगलादेशका कम्पनीहरुमा २० प्रतिशत सञ्चालक स्वतन्त्र हुनुपर्ने नियम रहेको छ ।

भारतीय कम्पनी रिबुक, शारदा समूह लगायतमा भएको घोटला प्रकरणमा प्रमूख कार्यकारी र वित्तीय प्रमूखहरु नै पहिले सजायको भागिदार भएको उदाहरण समेत उनले बताए ।

आइक्यानमा पुर्व अध्यक्ष कौशलेन्द्र के सिंहले नेपालमा पनि सञ्चालक र प्रमूख कायृकारीबीच जटिल सम्बन्ध रहने गरेको बताए । उनले वित्तीय प्रमूखहरुले संस्थामा रहँदा सबै राम्रा नराम्रा कामको साक्षी हुनुपर्ने अवस्था रहेको भएपनि उनीहरुले मौन बस्नु पर्ने अवस्था रहेको समेत औल्याए ।

परम्परागत शैलीमा काम गर्ने प्रमूखहरुको अस्तित्व संकटमा

प्रविधिको प्रयोग बढ्दै गएकोले परम्परागत शैलीमा काम गर्ने वित्तीय प्रमूखहरुको अस्तित्व संकटमा पर्ने सरोकारवालाहरुको धारणा छ ।
‘अब वित्तीय विवरण बनाउने, तथ्यांक राख्ने लगायतका काम मात्र गर्ने वित्तीय प्रमूखहरुको अस्तित्व संकटमा पर्ने निश्चित भएको छ,’ आइसीए श्रीलंकका उपाध्यक्ष मनिल जयसिंगे बताए ।

अबका दिनमा हालको जस्तो वित्तयि विवरण बनाउन सजिलो नभएको समेथ जयसिंगेको तर्क छ ।  ‘अहिले भारतको उबर कम्पनीसँग एउटै ट्याक्सी स्वामित्वमा छैन्, तर कम्पनी यातायातकै क्षेत्रमा व्यवसाय गरिरहेको छ, अब परम्परागत किसिमको वित्तयि विवरण कसरी लागु हुन्छ र ?,’ जयसिंगेको प्रतिप्रश्न छ । उनले ऐतिहासिक तथ्यांकको विश्लेषण गरेर भविष्यको वित्तीय खाका बनाउने दिन समाप्त हुुँदै गएको समेत औल्याए ।

नेपाल बंगलादेश बैंकका प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले वित्तीय प्रमूख नै प्रमूख पछि बरियताका आधारमा दोस्रो र भावी प्रमूख भएकोले आफुलाई परिर्वतन गर्न लाग्नु पर्ने बताए । उनले व्यवसायको जोखिम व्यवस्थापन गर्नेदेखि साइबर सुरक्षा अवलम्बन, राष्ट्रिय र अन्तराष्ट्रिय मापदण्डको परिपालना लगायत सबै किसिमका काममा आफुलाई अध्यस्त गनुृपर्ने अवस्था रहेको उल्लेख गरे ।

आफ्नो स्वामित्व रहेको अर्को संस्थासँग कारोबार गर्न डराउनु पर्दैन

कार्यक्रममा भारतीय आइसीए भारतका केन्द्रीय परिषद सदस्य विजय कुमारले आफ्नो स्वामित्व रहेको अर्को संस्थासँग कारोबार गर्न डराउनु नपर्ने बताए ।

‘टाटा मोटर्सले टाटा स्टिल कम्पनीसँग कारोबार नगरेर अन्य स्टिल कम्पनीसँग कारोबार गर्छ र ? गर्दैन, हामीले यसमा लाज मान्नु पर्ने कुरा केही छैन्,’ कुमारले स्पष्ट पारे । उनले मात्रै कारोबार पारदर्शी ढंगमा र नियमसंगत रुपमा गनुृपर्नेमा जोड दिए ।

नेपालमा पनि पछिल्लो समय आफ्नो स्वामित्वको अन्य कम्पनीसँग सस्तोमा कारोबार गर्ने र मुल कम्पनी डुबाउने काम भएको भन्दै यस्ता कारोबारको विरोध हुने गरेको छ ।

सम्मेलनमा ४ सयभन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय लेखा व्यवसायीहरुले सहभागिता जनाउने छन् । दोस्रो दिन उत्कृष्ठ बार्षिक वित्तीय विवरण प्रस्तुत गर्ने संस्थाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।  तेस्रो दिन ५१ औं साफा बोर्ड बैठक र ८६ औं सभा बस्नेछ । चौथो दिन सार्वजनिक वित्त व्यवस्थापनमा पेशाकर्मीहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment