+
+

मुलुकको नेतृत्व कांग्रेसले नै लिन्छः प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते २०:४०

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको नेतृत्व नेपाली कांग्रेसले नै लिने बताएका छन् । कांग्रेसले बाहेक अरु पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने उनले दावी गरे ।

पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको स्मृति दिवसको अवसरमा शुक्रबार नेविसंघले काठमाडौंको सभागृहमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘ढिलो चाँडोको मात्र कुरा हो, मुलुकको नेतृत्व कांग्रेसले नै गर्नेछ । हामीले नै मुलुकलाई सम्वृद्ध बनाउने छौं ।’

आर्थिक सम्वृद्धिसहित मुलुकका सामु आउने चुनौति सामनाका लागि कांग्रेसमा सुधार जरुरी रहेकोमा सिंहले जोड दिए । ‘अहिलेकै अवस्थामा आर्थिक संवृद्धि र आगामी चुनौतिको सामना गर्न सकिँदैन,’ उनले भने ।

पार्टी विधि, प्रक्रिया र विधानअनुरुप सञ्चालन नहुँदा नेता–कार्यकर्ता निराश भएको भन्दै उनले सबैले आ–आफ्नो स्थानबाट कमीकमजोरी स्वीकार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । विधि र विधान अनुसार अघिबढे मात्र पनि धेरै समस्या समाधान हुने दाबी गर्दै उनले भने, ‘पार्टीलाई विधिसम्मतरुपमा अघि बढाउनु अहिलेको पहिलो आवश्यकता हो ।’

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पराजयको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनले दोहो¥याए । कार्यक्रममा नेता सिंहले भने, ‘संसदीय दलको नेतादेखि उम्मेदवार छनोट उहाँकै तजविजीअनुसार हुने तर, रिजल्ट राम्रो नआएपछि चाहिँ सबैले जिम्मेवारी लिनुपर्छ भन्न मिल्दैन, यसको सबै जिम्मेवारी शेरबहादुर जीले लिनुपर्छ ।’

नेविसंघ ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले कांग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने र पार्टी सुधारमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको चर्चा गर्दै कांग्रेसले आगामी पाँच वर्षसम्म पार्टीलाई गुट–उपगुटबाट मुक्त बनाउन लाग्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व नै नरहने दावी गरे ।

अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिष्टसँग कांग्रेस डराउन नपर्ने भन्दै पार्टीभित्र मौलाउँदै गएको विकृति र विसंगतिविरुद्ध पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र गुरुराज घिमिरेले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?