+
+

हलमा अनमोल पुग्दा देखियो यस्तो क्रेज (भिडियोसहित)

‘कृ’को आक्रामक व्यापार,

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २७ गते १७:०२


चलचित्र ‘कृ’ले रिलिजको दोश्रो दिन शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको छ । काठमाण्डौमा चलचित्रको व्यापार बम्पर छ । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलमा चलचित्रको आक्रामक व्यापार देखियो । काठमाण्डौको सर्वाधिक चर्चित हल मानिएका गोपिकृष्ण मुभिज र अष्टनारायण पिक्चर्समा चलचित्रको व्यापार बम्पर रह्यो ।

गोपिकृष्ण मुभिजमा बिहानी शोमा ४ वटा हल हाउफूल रहे । दिउँसो सवा २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले रहे । नेपाली चलचित्र पहिलो पटक एकसाथ ६ वटा पर्दामा लागेको हल संचालकले जानकारी दिएका छन् ।
 बलिउड चलचित्र ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट नेपाली चलचित्र ‘कृ’ले विस्थापित गरिदियो । शनिबार काठमाण्डौको अष्टनारायण हलमा बिहानी शोदेखि रात्रीकालिन शोसम्म ४ वटै पर्दामा ‘कृ’ हाउसफूल रह्यो । हिन्दी चलचित्रलाई हटाएर दिनभर अष्टनारायणका ४ वटै पर्दामा नेपाली चलचित्र ‘कृ’ देखाइएको थियो ।

हल संचालकहरुले लामो समयपछि यस्तो क्रेज हलमा देखिएको बताए । काठमाण्डौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै शत प्रतिशत व्यापार गर्न सफल रह्यो । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माताले बताएका छन् । काठमाण्डौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडामा पनि चलचित्रले उच्च कलेक्शन गर्न सफल भएको छ ।

हलमा अनमोलको यस्तो क्रेज
नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी शनिबार काठमाण्डौका २ हलमा पुगे । दिउँसो सवा १ बजे काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका अनमोल र अदितीलाई ६ जना बडिगार्डको सुरक्षा दिइएको थियो । अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो । अनमोललाई देखेर धेरै यूवती रोएका थिए भने कतिपयले अटोग्राफ मागे । गाडीबाट हलसम्म पुग्न अनमोललाई लामो समय लाग्यो । दर्शक गाडीमै चढेपछि अनमोल बाहिर निस्किएर सबैलाई अभिभावदन गरे र धन्यबाद भनेका थिए ।

दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए । नायिका अदिती वुढाथोकीले दर्शकको यस्तो माया पाउँदा खुशी लागेको बताइन् ।
यस्तै, काठमाण्डौको अष्टनारायण हलमा भने अनमोल चलचित्रको ब्रेकमा हल भित्रै प्रवेश गरेर दर्शकलाई धन्यवाद दिएका थिए । अनमोल एक्कासी हलमा पुग्दा दर्शक ‘अनमोल अनमोल’ भनेर चिच्याएका थिए । बच्चादेखि यूवायूवतीहरु उनीसँग सेल्फी खिच्न लालयित देखिए ।

निर्देशक सुरेन्द्र पौडेलले आफुहरुको मिहिनेत सफल भएको बताए । यस्तै, निर्माता सुवास गिरीले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए । प्रेम र एक्सनको मिश्रण यो चलचित्रलाई बदलाको कथामा बनाइएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले नायक अनमोल केसीले सधै एकै प्रकारको चलचित्र खेलेको तर ‘कृ’बाट फरक शैली अपनाएको भन्दै खुशी व्यक्त गरे । अनमोल केसीको एङ्ग्री अवतारलाई दर्शकले बढी मन पराएका छन् ।

चलचित्रको ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले लामो समयसम्म चलचित्र चल्ने निर्माता सुवास गिरीको विश्वास छ । सुवास गिरी र नायक भूवन केसीले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रले शनिबार देशभरी नै शत प्रतिशत व्यापार गरेको वितरक र निर्माताले बताएका छन् ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?