Comments Add Comment

रक्षामन्त्री प्रधानलाई यसरी पर्‍यो लाखौं रुपैयाँ उपचार खर्चको ‘चिठ्ठा’

अरुकै लागि उपचार खर्च माग्दा आफ्नै निर्णय

२८ माघ, काठमाडौं । शेरबहादुर देउवा सरकार पछिल्लो समय निकै ‘दानी’ देखिएको छ । हरेक मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता, शहीद घोषणा वा कुन न कुनै बहानामा आर्थिक सहयोग दिने निर्णय भटाभट गरिहेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकमा त रक्षामन्त्री भीमसेन दास प्रधानलाई उपचार खर्चका लागि लाखौंको चिठ्ठा नै पर्‍यो ।

कांग्रेस नेता प्रधान मुटुरोगबाट पीडित छन् । ७ वर्षअघि हृदयघात भएपछि दुई दिनसम्म अचेत भएका थिए प्रधान । त्यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका प्रधानलाई डाक्टरहरुले ‘पशुपतिनाथले जोगाएको’ भने ।

उनको मुटुसँग जोडिएको रक्तनलीमध्ये दुईवटा पुरै टालिएको छ, एउटाले मात्र सामान्य काम गरेको छ । शहीद गंगालाल हृदयरोग केन्द्रका चिकित्सक डा.अरुण मास्केले उपचारका लागि जापान जान सुझाव पनि दिएका थिए ।

तर, सरकारले दिएको लाखौंको उपचार खर्च न उनले मागेका थिए न त उपचारमा जाने कुनै योजना नै थियो । आकस्मिक रुपमा आइलाग्यो उपचार खर्च ।

अरुकै विषय उठाउँदा आफ्नै निर्णय

मन्त्री प्रधानका अनुसार कांग्रेस नेता तथा पूर्वसांसद रामकृष्ण ताम्राकारले ब्लड क्यान्सरको उपचार गर्न असोजमा सरकारसँग आर्थिक सहयोग माग गर्दै निवेदन दिएका रहेछन् ।

तर, लामो समयसम्म कुनै निर्णय भएन । कांग्रेसका केही नेताहरुले मन्त्री प्रधानलाई भेटेर ‘यो फाइल प्रधानमन्त्री कहाँ पुगेको छ, तपाईले पनि पहल गरिदिनू है’ भने ।

दुई हप्ताअघि बसेको मन्त्रिपरिषद बैठकमा रक्षामन्त्री प्रधानले तामाकारको फाइलबारे कुरा उठाए । उहाँलाई पैसा किन नदिएको भन्दै उनी अलि कडि्कएका थिए ।

मुख्यसचिव लोकदर्शन रेग्मीले फाइल गृह मन्त्रालयबाटै आउन बाँकी रहेको जवाफ दिए । मन्त्रीप्रधानले प्रधानमन्त्री नै गृहमन्त्री भएपछि के बाँकी रहृयो भने ।

तर मुख्यसचिवले गृहमन्त्रालयबाट प्रक्रिया पुर्‍याउन बाँकी रहेकाले दिन नमिल्ने दोहोर्‍याए ।

‘उहाँले आउनुपर्ने प्रोसेस बाँकी नै छ भन्नुभयो,’ मन्त्री प्रधानले अनलाइनखबरसँग भने, ‘अचानक मलाइ के आयो, के आयो, म रक्षामन्त्री, मलाई यस्तो समस्या छ, मसँग पैसा छैन भनेँ । ए तपाईंको छ (आर्थिक सहयोग माग गरेको निवेदन) नि है ! जानुस् जानुस् भनेर सबैले भने ।’

त्यो क्याबिनेट बैठकले मन्त्री प्रधानलाई २५ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गर्‍यो ।

‘मिडियाले लेख्छन् भनेर चुप लागेँ’

सरकारले उपचार खर्च दिने भएपछि रक्षामन्त्री प्रधानले जापानको सोनान तामाकुरा जनरल अस्पतालबाट आफ्नो उपचारमा लाग्ने खर्च विवरण मगाए । डाक्टरले इमेलमार्फत ३७ लाख रुपैयाँ जत्ति खर्च हुने जानकारी दिए ।

लगतै शुक्रबार सरकारले अर्को निर्णय गर्‍यो, रक्षामन्त्रीलाई २५ लाख होइन, उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने ।

‘म चेक लिन्न । हस्पिटलमा जति पैसा खर्च हुन्छ, जापानको एम्बेसीले तिर्नुपर्छ भनेको छु’ प्रधानले अनलाइनखबरसँग भने ‘क्याबिनेटले निर्णय पनि यसैगरी गरेको छ ।’

मन्त्री प्रधान सानासाना विषय पनि मिडियामा आउने भएकाले सरकारबाट उपचार खर्च लिन नखोजेको बताउँछन् । ‘धेरै पैसा लाग्दैन भन्ने ठानेको थिएँ, फेरि सबै कुरा मिडियाले लेख्छन् भनेर पनि नभनेको हुँ’ उनले भने, ‘तर, रामकृष्ण ताम्राकारको विषय उठाउँदा उठाउँदा आफ्नै विषयमा पो निर्णय भयो ।’

डाक्टरले ‘समयमा उपचार नगराए पछि समस्या हुन्छ, भर्‍याङ चढ्न ओर्लन पनि गाह्रो हुन्छ’ भनेकाले पनि सरकारी खर्चमा उपचार गर्न लागेको उनले बताए ।

‘उपचार गर्न पुग्ने मेरो सम्पत्ति छैन’

मन्त्री प्रधानमन्त्री काठमाडौंका रैथाने हुन् । उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा पनि ७ थान हिरा, २० तोला सुन र ७ केजी चाँदी रहेको उल्लेख छ ।

श्रीसम्पत्ति भएका मन्त्रीले ‘आफ्नै हात जगन्नाथ’ भने जस्तै उपचार खर्च लिएको भन्दै आलोचना भइरहेको छ ।

रक्षामन्त्री प्रधान भने आफू विगतदेखि नै सचेत भएर राज्यस्रोतको प्रयोगमा सचेत रहेको दाबी गरेका छन् । ‘बाहिर दीपक मनाङेले चुनाव जित्छन्, भ्रष्टाचारीले जिते पनि केही आउँदैन । यहाँका मान्छे कन्सस छन्, केही भए समचार आउँछ भनेर मैले २०७० सालमा सांसद हुँदादेखि उपचार सुविधा लिएको छैन,’ उनले भने ।

आफूसँग काठमाडौंमा ६ आनामा बनेको सगोलको घरबाहेक केही नभएको पनि उनले दाबी गरे । ‘मैले पेश गरेको सम्पत्ति विवरण राम्रोसँग हेरे थाहा हुन्छ, मेरो नाममा कुनै सेयर पनि छैन, बैंकमा भएको तलब मात्र हो’ उनले भने ।

७ वर्षअघि पनि १३ लाख

प्रधानले सन् २०११ मा अस्पताल भर्ना हुँदा पनि सरकारबाट १३ लाख उपचार खर्च लिएका रहेछन् ।

नर्भिक अस्पतालमा भर्ना हुँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भेट्न पुगेका थिए । फर्किने बेलामा भट्टराईले प्रधानकी पत्नीलाई उपचार खर्च सरकारले तिरिदिने बचन दिएका रहेछन् ।

‘त्यतिबेला प्रधानमन्त्रीले उपचार खर्च सरकारले तिरिदिन्छ भन्नुभएछ’ उनले भने, ‘मैले किन मागेको भनेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment