Comments Add Comment

सञ्चालनमै नआएपछि भैरहवा सेजमा उद्योगीको चासो कम

२९ माघ, रुपन्देही । उद्घाटन भएको तीन वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रुपन्देहीको रोहिणीमा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीले चासो दिन छाडेका छन् ।

विद्युत् अभाव भएको बताउँदै सेज सञ्चालनमा ढिलाइ भइरहेको छ । हालसम्म उद्योग सञ्चालनका लागि ११ वटा निवेदन दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।

१० माघमा सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनको समय दिएको थियो । उक्त समयमा निकै थोरै उद्योगले मात्र निवेदन दर्ता गराएका हुन् ।

यसअघि १९ उद्योगले समझदारी जनाएकामा आवेदनका लागि समयसीमा माग गरेपछि संख्या घटेको छ ।

निवेदन दर्ता गराएकामध्ये आईडीएस इलेक्टि्रक र सुगम नानो हर्बलले भने राजश्ववापतको २५-२५ हजार रुपैयाँसमेत बुझाइसकेका छन् ।

विद्युतको समस्या नहटेको र कार्यविधिमा पनि समस्या रहेकाले लगानी गर्न हिच्किचाउनुपरेको उद्योगीहरु बताउँछन् । सेज सञ्चालनका लागि २५ मेगावाट विद्युत् आवश्यक देखिएको छ ।

थापाका अनुसार थोरै मात्र आवेदन आएकाले पुनः १५ दिनको म्याद थप्ने तयारी भइरहेको छ ।

रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघामा रहेको सेजमा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा प्लट निर्माण गरिएको छ ।

बिजुलीको समस्या समाधानका लागि विद्युत् प्राधिकरणले धकधईमा सब-स्टेसन निर्माण थालेको छ ।

सेजभित्र खाद्य, कृषिजन्य, जडीबुटी प्रशोधन, छालाका वस्तु, तयारी पोशाक, हस्तकला, धातु र प्लास्टिक उद्योगलाई प्राथमिकता दिइने थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment