Comments Add Comment

एपीएफलाई हराउँदै त्रिभुवन आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा

२८ माघ, सिमरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४-० ले हराउँदै त्रिभुवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमिफाइलमा प्रवेश गरेको छ । आर्मीको जितमा जर्जपि्रन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १/१ गोल गरे ।

कार्कीले ३६ औं मिनटमा आर्मीलाई अग्रता दिलाएका थिए । पेनाल्टी एरियामै तेस्रो प्रयासमा कार्कीले गोल गरेका हुन् ।

पहिलो हाफमा १-० ले पछि परेको एपीएफविरुद्ध आर्मीले दोस्रो हाफमा ३ गोल गर्‍यो ।

खेलको ४७ औं मिनटमा नवयुग श्रेष्ठले डी एरियामा टंक बस्नेतले दिएको पासलाई गोलमा परिणत गरे ।

७१ औं मिनटमा दिनेश हेम्जनले नवयुग श्रेष्ठको पासमा आर्मीका लागि तेस्रो गोल गरे। खेलको उतरार्धमा ३-० को फराकिलो अन्तर झेलेको एपीएफ खेलको ७५ औं मिनेटमा ९ खेलाडीमा सीमित भयो भने आर्मी १० खेलाडीमा सीमिति भयो ।

एपीएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई आर्मीको डिबक्समा लडाएपछि केहीबेर मैदानमा तनाव भयो । पहेंलो कार्ड पाएका रञ्जन आर्मीका खेलाडीसंग झगडा गर्न गएपछि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए ।

रञ्जनसंगै उनका भाई एवं एपीएफका स्ट्राइकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । आर्मीका चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ पनि रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । सशस्त्र र आर्मीका खेलाडीबीच मैदानमै हात हालाहाल समेत भयो ।

खेलको ८२ औं मिनटमा आर्मीका जर्ज पि्रन्स कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को शानदार जित दिलाए । डि बक्सभित्र दिनेश हेम्जनले दिएको पास सदुपयोग गर्दै कार्कीले आर्मीको सेमिफाइनल यात्रा स्मरणीय बनाए ।

प्रतियोगिताको छैठौं संस्करणको उपाधि विजेता तथा साविक उपविजेता आर्मीले अब साविक विजेता संकटा र वीरगञ्ज युनाइटेड क्लबबीच मंगलबार हुने अन्तिम क्वार्टरफाइनलको विजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगितामा सोमबार रुस्लान थ्रीस्टार क्लब र सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुनेछ ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले आर्मीसंग अप्रत्याशित हार व्यहोर्नुपरेको बताए । सुरुवातमा अवसरहरु गुमाउनु टिमका लागि दुर्भाग्य भन्दै महर्जनले खेलाडीले सोंचेजस्तो प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले म्याच बराबरी जस्तो भए पनि पाएका अवसर सदुपयोग गर्दा ४-० को नतिजा पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment