Comments Add Comment

प्रदेश ५ को मन्त्रिपरिषद्ः कुलप्रसाद गृह, बैजनाथ पूर्वाधारमन्त्री

३ फागुन, बुटवल । प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका हुन् ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

केसी र चौधरीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

रोल्पाबाट प्रदेशसभा चुनाव जितेका केसीले मुख्यमन्त्री दाबी गरेका थिए । तर, चुनावअघि नै शंकर पोखरललाई मुख्यमन्त्री बनाउने सहमति शीर्ष स्तरमा भइसकेको थियो ।

केसी जनयुद्धअघि शिक्षक थिए । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमणको क्रममा कालो झण्डा देखाएपछि उनको जागिर गयो ।

२०५२ फागुनमा माओवादीले सशस्त्र विद्रोह सुरु भएदेखि नै संलग्न उनी विभिन्न भूमिकामा रहे । २० जेठ, २०६० मा भारतको पटनाबाट पक्राउ परेका उनी २०६३ साल साउनमा रिहा भएका थिए ।

पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेका उनी रामबहादुर थापा बादलसँग माओवादीमा फर्किएका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्री बनेका बैजनाथ दोस्रो संविधानसभामा सभासद थिए । २०४० देखि ०४६ सालसम्म सिभिल ओभरसियर रहेका उनी ०४७ सालदेखि राजनीतिमा लागेका थिए । उनी जिविस सभापति भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment