Comments Add Comment

सान्जेन र रसुवागढीको सेयरमा भ्रम र वास्तविकता

 

४ फागुन, काठमाडौं । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले ११ देखि ३० फागुनसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि सेयर जारी गर्दैछन् ।

२२ मंसिर २०६८ देखि २० पुस २०७४ सम्म कायम सञ्चयकर्ताले सान्जेनको सेयर पाउन सक्नेछन् । २३ मंसिर २०६८ देखि २० पुस २०७४ सम्म खाता बन्द गरेकाले पनि सेयरमा आवेदन दिन पाउनेछन् । खाता बन्द गरेका ग्राहकले कोषको सिफारिसपत्र भने जुटाउनुपर्ने हुन्छ ।

त्यस्तै, २२ मंसिर २०६८ देखि २६ मंसिर २०७४ सम्म कायम सञ्चयकर्ताले रसुवागढीको सेयरमा आवेदन दिन पाउनेछन् । बीचमा खाता बन्द गरेकाहरूले पनि सिफारिस ल्याएमा यस आयोजनाको सेयरमा लगानी गर्न पाउनेछन् ।

नेपाल टेलिकमको जस्तो मर्का पर्छ कि !

नेपाल टेलिकमको प्रिमियममा सेयर किनेका लगानीकर्तामा कम्पनीको बढी मूल्य पर्ने हो कि भन्नेमा केही भ्रम पनि देखिएका छन् ।

यी दुवै जलविद्युत कम्पनीहरूले सेयर बिक्रीको लागि आह्वानपत्र प्रकाशन गरिसकेका छन् । कम्पनीको अन्य वित्तीय अवस्थासहित त्यसैमा स्पष्टसँग मूल्य उल्लेख गरिएको छ । आह्वानपत्र अनुसार कम्पनीको प्रतिकित्ता सेयरको मूल्य एक सय रुपैयाँ छ ।

प्रिमियम मूल्य नभएकोले नेपाल टेलिकमले सुरुमा सेयर जरी गर्दा जस्तो अवस्था यसमा छैन् । नेपाल टेलिकमको हाल दोस्रो बजारमा मूल्य सात सय रुपैयाँमा चलिरहेको छ । कम्पनीको अवस्था राम्रै छ ।

दोस्रो बजारमा आइसक्दा लाभ कम हुन्छ कि !

जलविद्युत आयोजनाको सेयरमा ‘लकिङ पिरियड’को व्यवस्था छ । आयोजना प्रभावितले प्राप्त गर्ने सञ्चय कोषजस्ता ऋणदाता कम्पनीको कारण सञ्चयकर्ता र कर्मचारीले पाउने सेयरमा लकिङ पिरियड लाग्छ ।

दोस्रो बजारमा सेयर सूचीकरण भएसँगै यस्तो लकिङ अवधि तीन वर्षको रहन्छ । सो अवधिसम्म सेयरधनीले सेयर बिक्री गर्न पाउदैन् । सजिलै सेयर प्राप्त गर्न पाइने भएकोले लकिङ पिरियड राखिएको हुन्छ ।

दोस्रो बजारमा कम्पनीहरूले यस्ता सेयरमा लगाएको लकिङ पिरियड सकिन लाग्दा मूल्य केही घट्ने गरेको पाइन्छ । मूलतः सेयर आपूर्ति बढ्छ भन्ने आधारमा मूल्य घट्ने गरेको हो । अन्य आधारभूत पक्षको प्रभाव भने यसअघिदेखि नै पर्दै आएको हुन्छ ।

मूल्य घटेपनि एक सय रुपैयाँभन्दा माथी नै हुने अवस्था नेपाली बजारमा देखिँदै आएकोले घाटा नै भने हुँदैन । वित्तीय अवस्था कमजोर मानिदै आएको नेशनल हाइड्रो पावरबाहेक अन्य सबै हाइड्रोपावरको सेयर मूल्य न्यूनतम एक सय ३८ देखि अधिकतम आठ सय ९१ रुपैयाँसम्म रहेको छ ।

तर, लकिङ पिरियडकै कारण अन्यले भन्दा आफूहरूले कम सेयर मूल्य प्राप्त गरेको अनुभव पनि केही लगानीकर्ताले सुनाए ।

‘टाठाबाठाले मूल्य वृद्धि हुँदा बेच्छन् र हामीसँग भएको सेयर बिक्री खुल्ने समयमा भने आपूर्ति बढ्ने नाममा घटाइन्छ,’ हालै लकिङ पिरियड सकिएको एक हाइड्रोका लगानीकर्ताले बताए ।

तर, बिक्री खुला गर्नेबित्तिकै सेयर बेचिहाल्न हतारिनु नपर्ने र कम्पनीको अवस्था दरिलो भएको मूल्य पुनः बढ्ने भएकोले डराउन नपर्ने सरोकारवालाहरू बताउँछन् ।

‘सेयर मूल्य कम्पनीको अवस्थाले निर्धारण गर्छ, यो कम्पनीको अवस्था आह्वानपत्रमा स्पष्ट उल्लेख छ,’ सान्जेनका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमूख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना भन्छन् ।

भविष्यमा राम्रो प्रतिफल दिन सक्ने अवस्था कम्पनीको छ भने घटेको मूल्यमा थप सेयर खरिद गर्ने अवसर हुन सक्छ । तत्काल लाभ लिने सोचले लगानी गर्न लागेको हो भने केही समय कुर्नुपर्ने हुनसक्छ ।

जलविद्युत कम्पनीहरूमा के –के हेर्ने ?

विद्युत बिक्री भइरहेको जलविद्युत आयोजनाबाट चाँडै लाभांश प्राप्त गर्ने सम्भावना हुन्छ भने विद्युत उत्पादन बाँकी रहेकोहरूमा लाभांश प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ ।

सञ्चालनमा आइसकेका आयोजनाहरूले पछि पनि सेयर जारी गर्ने गरेको देखिएको छ भने केहीले सञ्चालनमा आउने तयारीको क्रममा नै सेयर जारी गर्छन् ।

सञ्चालनमा आइसकेका कम्पनीहरूमा केहीको उद्देश्य नयाँ आयोजना सञ्चालन गर्ने रहेको हुन्छ भने केहीको आयोजना निर्माणको क्रममा लिइएको ऋण भुक्तानी गर्ने ।

थप आयोजना सञ्चालन गर्ने कम्पनीले भविश्यमा थप अवधिसम्मको लागि प्रतिफल दिन सक्ने अवस्था बन्छ । अर्कोतर्फ पहिलो आयोजनाको सञ्चालन अवधि समाप्त भएपछि सरकारलाई हस्तान्तरण गर्नु परेमा पनि दोस्रो आयोजना भने केही थप अवधिसम्म कम्पनीको साथमै रहने हुन्छ । तुलनात्मक रुपमा दुईवटा आयोजानाबाट हुने प्रतिफल एउटा आयोजनामामात्र सीमित हुँदा घट्ने भएपनि निरन्तरता पाउन सक्ने अवस्था हुन्छ ।

पहिलो आयोजना नै सञ्चालन गर्न बाँकी संस्थाको मूल्यांकन गर्दा भने त्यो आयोजनासम्म ट्रान्समिसन लाइन बने÷नबनेको विषयमा ध्यान दिनु आवश्यक हुन्छ । यसअघि कतिपय आयोजनामा ट्रान्समिसन लाइन नपुगेको कारण विद्युत् उत्पादन हुन नसकेको अवस्था पनि थियो । जति चाँडो ट्रान्समिसन लाइन पुगेको हुन्छ त्यति चाँडो कम्पनीले विद्युत् बिक्री गरेर आम्दानी गर्न सक्ने अवस्था बन्छ ।

सञ्चालनमा आइनसकेका आयोजनाको निर्माण प्रगति के÷कस्तो अवस्थामा छ, यसअघि पनि कुनै आयोजना बनाई सकेको कम्पनी हो भने प्रतिमेगावाट निर्माण लागत कति थियो, बन्ने आयोजनाको लागत कति पुग्न सक्ने देखिन्छ लगायतमा ध्यान दिनु आवश्यक हुन्छ । यस्तो जानकारी इक्रा नेपालले रेटिङ गर्दाको समयमा पनि उल्लेख गरेको हुन्छ ।

यसअघि जलविद्युत् कम्पनी निर्माण गरिसकेका सञ्चालकहरू आफूले लगानी गर्न लागेको कम्पनीका सञ्चालक हुन कि होइन हेर्नुपर्छ । पहिले कस्ता आयोजना निर्माण गरेका थिए, कति लागतमा निर्माण गरेका थिए, सञ्चालित आयोजनाको विद्युत् बिक्रीको अवस्था कस्तो छ भन्नेमा पनि ध्यान दिनुपर्छ । नेपालमा कतिपय संस्थाका सञ्चालक खराब पर्न जाँदा आयोजना पनि धरासयी भएका उदाहरण यसअघि पनि देखिएको छ ।

संस्थाको स्थानीय बासिन्दासँगको सम्बन्धले पनि जलविद्युत् क्षेत्रमा असर गर्न सक्छ । स्थानीयसँग राम्रो सम्बन्ध नभएको संस्थामा विभिन्न खाले अवरोध आउन सक्ने भएकोले यस्तो कुरामा पनि विचार पुयार्उनुपर्छ । यसबाहके वित्तीय विवरणमा पनि ध्यान दिनुपर्छ ।

कम्पनीसँग सम्बन्धित समाचार ः 

रसुवागढी र सान्जेनले कर्मचारी र ऋणदाताका लागि साढे २ अर्बको सेयर दिँदै

१ सय ११ मेगावाटको आयोजनाले सेयर जारी गर्ने, के छन् सबल पक्ष ?

जलविद्युत् कम्पनी सेयरमा लगानी गर्दा के-केमा ध्यान दिने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment