Comments Add Comment

संसदीय दलको नेता चुन्न समिति बनाएर कांग्रेस बैठक सकिने

सभापति देउवाले भने- चुनावको समिक्षा अर्को बैठकमा

फाइल तस्वीर

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको आइतबारको केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गर्ने भएको छ । सो समितिले संघीय संसदको पहिलो बैठक अघि नै दलको नेता चयन गर्ने छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिर निस्किएका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार आजको बैठक संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गरेपछि दलको नेता चयनका लागि समिति गठन गरेर सम्पन्न हुने छ ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘आजको बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन एउटा सानो समिति निर्माण गर्ने छ । तर, अहिले निर्वाचन समिति प्रस्तावित भइसकेको छैन ।’

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दावी गर्दै आएका छन् ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार केन्द्रीय समितिको बैठकमा मध्यानहृनसम्म एक दर्जन नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । रमेश लेखक, मिन विश्वकर्मा, धनराज गुरुङ, अर्जुननरसिंह केसी, चिनकाजी श्रेष्ठ, कुमार खड्का, पुष्पा भुसाल, नविन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडु, रामकृष्ण यादव, डा. रामशरण महत र आनन्द प्रसाद ढुंगानाले बैठकमा धारणा राखिसकेको प्रवक्ता शर्माले जानकारी दिए ।

आजको बैठकमा निर्वाचनको समिक्षा भने हुने छैन । संसदीय दलको नेता चयन गरिसकेपछि अर्को बैठक राखेर निर्वाचनको समिक्षा गर्ने सभापति शेरबहादुर देउवाले बैठकमा बताएको प्रवक्ता शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment