१३ फाल्गुन, धनगढी । धनगढीमा आयोजना गरिएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।
फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६० रन मात्रै जोड्न सक्यो ।
पूुर्वाञ्चलका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक जोड्न सकेनन् ।
एपीएफका लागि कसिलो बलिङ गरेका रेखा रावल, करुणा भन्डारी, सीता राना मगर, रीतु कनोजीया र अन्जली चन्दले १/१ विकेट लिए । जवाफमा ६१ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
एपीएफको जितमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिइन् । पूर्वाञ्चलका संगता राई र शान्ति चौधरीले एक/एक विकेट लिएपनि जितका लागि प्रयाप्त भएन ।
विजेता एपीएफले ५ र उपविजेता पूर्वाञ्चलले २ लाख पुरस्कार प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ पूर्वाञ्चलका खेलाडीको बर्चश्व रहृयो । पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट बलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् ।
उत्कृष्ट ब्याट्स वुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदुरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदुरपश्चिमाञ्चलनै चुनियो ।
प्रतिक्रिया 4