Comments Add Comment

नारायणी उपक्षेत्रीय अस्पतालमा छड्के, ६३ चिकित्सक र कर्मचारी कार्यालयमा भेटिएनन्

१५ फागुन, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक, कर्मचारीहरु कार्यालय समयमा अस्पताल नजाने गरेको पाइएको छ ।

समयमा कार्यालय नपुग्ने चिकित्सक तथा कर्मचारीहरु मंगलबार प्रशासनको छड्केमा परेका हुन् । चिकित्सक तथा अन्य कर्मचारीहरु कार्यालय समयमा नपुग्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार बिहान पौने १० बजे गरेको छड्के अनुगमनका क्रममा ६३ जना चिकित्सक, नर्स तथा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ ।

बिहान ९ बजे अस्पतालमा हाजिर हुनुपर्ने चिकित्सक तथा कर्मचारीहरु कार्यालय समय भन्दा पौनेघण्टा पछि प्रशानसनको टोली अस्पतालमा पुग्दा पनि अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

छड्के निरीक्षणमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत ठाकुराम भण्डारी र नायब सुब्बा महेश अर्याल अस्पताल पुगेका थिए ।

छड्के निरीक्षणको क्रममा प्रशासनको टोली पौने १० बजे अस्पताल पुग्दा नेपाल सरकारका १२ जना चिकित्सक र १० जना विकास समितिका चिकित्सक मात्रै अस्पतालमा पुगेका थिए ।

छड्के निरीक्षणमा गएका प्रशासकीय अधिकृत भण्डारीले अस्पतालमा पौने १० बजेसम्म नेपाल सरकारका चिकित्सक १८ जना, विकास समितिका चिकित्सक १२ जना, प्राविधिक कर्मचारी १८ जना, नर्स १० जना र प्रशासनका ५ जना कर्मचारी अनुपस्थित पाइएको जानकारी दिए । ‘डाक्टरहरु ९ बजे आउनुपर्ने हो, अन्य प्रशासनका कर्मचारीहरु १० बजे आउनुपर्ने हो । ‘ प्रशासकीय अधिकृत भण्डारीले भने ‘ पौने १० बजेसम्म उनीहरुको हाजिर भेटिएन । कर्मचारीहरुको हकमा हामीले सवा १० बजे छड्के गरेका थियौं ।’

पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले दिनहुा गुनासो आएपछि नारायणी उपक्षेत्रिय अस्पतालमा छड्के निरीक्षण गराइएको बताए । ‘तोकिएको समयमा चिकित्सक नजाने, रिपोर्ट लिएर जाादा चिकित्सक नभेटिने गुनासो दिनहुा आइरहेको थियो ।’ उनले भने, ‘ त्यसैले छड्के निरीक्षणका लागि टोली खटाएको हो । चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा लापरबाही बढी देखियो ।’

सरकारी तलब सुविधा लिएर कार्यालय समयमा निजी क्लिनिक चलाउन जाने चिकित्सकको बारेमा उजुरी दिन पनि सेवाग्राहीलाई भनेको प्रजिअ घिमिरेले बताए ।

नारायणी उपक्षेत्रीय अस्पताल गरीब नागरिकको अस्पतालको रुपमा परिचित छ । निजी स्वास्थ्य संस्थामा उपचार सेवा लिन नसक्ने विरामीहरु नारायणीमा पुग्ने गरेका छन् । तर अस्पतालमा दिनदिनै लापरबाही बढ्दै गएको गुनासो सेवाग्राहीको छ ।

पर्सा, बारा, रौतहटको मात्रै नभएर नारायणी उपक्षेत्रीय अस्पतालमा छिमेकी मुलुक भारतबाट पनि विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment