+
+

मुख्यमन्त्री राउत र जीतपुर सिमराका उपमहानगर प्रमुख पौडेलबीच भेटघाट

सुरेश बिडारी सुरेश बिडारी
२०७४ फागुन १९ गते १६:०६


१९ फागुन, वीरगञ्ज । गृह नगर वीरगञ्जमा रहेका प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतलाई बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले भेटेका छन् । मुख्यमन्त्रीसँग पहिलोपटक भएको भेटमा उनले जितपुर प्रदेश नं २ को समृद्धिका आधारहरु निर्माणका लागि आग्रह गरेका छन् ।

‘मुलुकको सात प्रदेशमध्ये प्रदेश २ ले भौगोलिक तथा जनसांख्यिक महत्व बोकेको मधेश विशेष प्रदेशको रुपमा रहेको यो प्रदेशको सामथ्र्यताको अवस्था कमजोर मानिन्छ । गरीवी, बेरोजगारी र पछौटेपनको मात्रा ज्यादा रहेको यो प्रदेशलाई सवल र सुदृढ बनाउन सकिने प्रचुर सम्भावनाहरु छन्,’ प्रमुख पौडेलले भने ‘कृषि, उद्योग व्यवसाय र पर्यटनलाई व्यवस्थित गरेर यो प्रदेशलाई आत्मनिर्भर र सवल बनाउन सकिन्छ । भन्ने बारे मुख्य मन्त्रीको ध्यानाकर्षण गराएको हुँ ।’

उनले जीतपुर सिमरा उपमहानगरपालिकाको विकास र समृद्धिका खाकाहरु प्रस्तुत गर्दै प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गरे । जीतपुरसिमरा उपमहानगरपालिका यतिखेर भौतिक पूर्वाधार, मानवविकास र सामाजिक न्यायका हिसावले कमजोर अवस्थामा छ । तीन वर्ष अघि नगरपालिका बनेको र पूर्वाधार तयार नहुँदै एक वर्षअघि उपमहानगरपालिका बनेको जीतपुरसिमराको वर्तमान अवस्था खासै राम्रो छैन ।

जीतपुरसिमरासंग ऐतिहासिक पक्ष, विकासको पछिल्ला दशकको अनुभव र भावी सम्भावनाका आधारहरु रहेको प्रमुख पौडेल बताउँछन् । ‘ जीतपुरसिमरा उपमहानगरभित्र र जोडिएर रहेको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल, तराई काठमाण्डौं एक्सप्रेस हाइवे, विशेष आर्थिक क्षेत्र, वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोर, प्रमुख व्यापारिक मार्ग, पर्सा राष्ट्रिय निकुञ्ज, पेट्रोलियम पाइपलाइन प्रदेश २ का महत्वपूर्ण वैभव हुन् ।’

उनले अगाडी भने ‘ हामीले यी राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरु पुरा गर्नका लागि आरम्भदेखि नै केन्द्र सरकार र सम्वद्ध पक्षहरुलाई ध्यानाकर्षण गराएका छौं । प्रदेशको समृद्धिसंग जोडिएका ती आयोजनाहरु पुरा गराउनका लागि प्रदेश सरकारको विशेष प्राथमिकता चाहिन्छ ।’

प्रमुखमा निर्वाचित भएसँगै पौडेलको टीमले जीतपुर सिमरामा दोस्रो मातृभाषा भोजपुरी भाषालाई दोस्रो कामकाजको भाषा बनाउने, बहुआयामिक विकासको आधार बाटो विशेषतःदुई तहको चक्रपथसहित सबै सडक सञ्जालहरुलाई व्यवस्थित गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र आमनागरिकको जीवनस्तरमा रुपान्तरणका योजनाहरु बनाएर अघि बढेका छन् ।

पदबहालीलगत्तै चाडपर्व, प्रदेससभा नहुनु, कर्मचारी अभाव, कानूनको अभाव र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जस्ता बहुआयामिक संक्रमणको परिवेशले हामीलाई काम गर्न निकै कठिनाई भयो,’ उनले भने ‘ यद्यपि निर्वाचित भई कार्यआरम्भ गरेको करीव एक महिनाभित्रै प्रदेश २ मा पहिलोपटक नगरसभा गरेर विकास निर्माण, सामाजिक न्याय र समृद्धिका यात्राहरुलाई तीव्रताका साथ अघि बढाउन प्रयासरत छौं ।’

जीतपुरसिमरा उपमहानगरले प्रदेशमा सिफारिस गरेका योजनाहरुसहित प्रथमनगरसभा (३० कातिक २०७४) पुस्तिका पनि मेयर पौडेलले मुख्य मन्त्री राउतलाई हस्तान्तरण गरेका थिए ।

‘प्रदेश सरकार र सम्वन्धित मन्त्रालयहरुको कार्यसूचिमा प्राथमिकता साथ योजना पारिदिनुहुन मुख्य मन्त्रीलाई भेटेर आग्रह गरेको छु । उहाँ सकारात्मक देखिनुभएको छ,’ प्रमुख डा पौडेलले भने ।

भेटमा जितपुर सिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती चौधरी लगायतको उपस्थिति रहेको थियो । जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख डा पौडेलले शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, उपपप्रमुख शान्ति कार्की लगायतसँग पनि भेट गरी आपसी सहकार्यका सम्भावनाका बारेमा छलफल गरेका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?