Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्रीको सम्भावित प्रश्न : नेपालबाट बेपत्ता पूर्वकर्णेल खोई ?

भारतीय खुफिया एजेन्सीले अपहरण गरेको पाकिस्तानको आरोप


२० फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन् ।

नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउने भनिएका उनले भारतसँग जोडिएको एउटा संवेदनशील सुरक्षासम्बन्धी प्रश्नसमेत नेपाल सरकारलाई सोध्ने अनुमान गरिएको छ ।

पाकिस्तानले नेपाललाई सोध्न लागेको प्रश्न हो- गतवर्ष नेपालबाट बेपत्ता बनाइएका एक रिटायर्ड पाकिस्तानी पूर्वकर्डेलको खोजी ।

नेपाली भूमि प्रयोग गर्दै भारतीय खुफिया एजेन्सी ‘रअ’ ले रिटायर्ड लेफ्टीनेन्ट कर्णेल मोहम्मद हबिबलाई गत अपि्रल ६ मा अपहरण गरेको पाकिस्तान सरकारको आरोप छ ।

रिटायर्ड पाकिस्तानी लेफ्टीनेन्ट कर्णेल मोहम्मद हबीब गत अपि्रल ६ मा लुम्बिनीबाट बेपत्ता भएका हुन् । कर्णेल हबिबको परिवारले उनी बेपत्ता भएको विषयमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा उजुरी गरे पनि अहिलेसम्म उनको पत्तो लागेको छैन ।

कसरी आइपुगे नेपाल ?

सन् २०१४ को अक्टोबरमा रिटायर्ड भएका हबिब पछिल्लो समय एउटा निजी कम्पनीमा काम गरिरहेका थिए । अर्को रोजगारीको खोजीमा उनले आफ्नो सीभी अनलाइनमा पोष्ट गरेका थिए । त्यसपछि उनलाई आकर्षक युएनको जागिरको लोभ देखाएर पाकिस्तानबाट नेपाल बोलाइयो ।

नेपालबाट मार्क थोम्पसोनका नाममा कसैले उनलाई इमेल र टेलिफोनबाट सम्पर्क गर्‍यो र आकर्षक जागिरको लोभ देखाउँदै नेपाल बोलायो । उनलाई नेपालसम्मको हवाई टिकट र होटलको बुकिङसमेत उपलब्ध गराइएको थियो ।

लगत्तै हबिब नेपाल आए । काठमाडौं आएर उनी बुद्ध एयरको विमानबाट भैरहवा प्रस्थान गरे ।

काठमाडौंमा उनलाई रिसिभ गर्न आएका जाभेद अन्सारीले नेपालको सिमसमेत उपलब्ध गराएको खुलेको थियो । सोही सिमबाट उनले पाकिस्तानमा आफ्नो परिवारलाई गन्तव्यमा आइपुगेको भनेर सन्देश पठाएका थिए ।

अनुसन्धानले देखाएअनुसार उनलाई बेलायतको नम्बरबाट फोन गरिएको थियो, जुन नक्कली थियो । इमेल र त्यससँग सम्वद्ध डोमेन भने भारतमा दर्ता भएको देखिएको छ । त्यसैले यो अपहरणमा भारतीय खुफिया एजेन्सी ‘रअ’ को हात रहेको पाकिस्तानी अधिकारीहरुले दाबी गर्दै आएका छन् ।

यो अपहरणमा जोडिएका तीन भारतीय नागरिकको नाम पनि बाहिर आएको अन्तरराष्ट्रिय मिडियाहरुले लेखेका छन् । ती भारतीयहरु जाहिरको हवाई टिकट बुकिङ गर्ने, होटल बुकिङ गर्ने र एयरपोर्टमा उनलाई रिसिभ गर्ने काममा संलग्न रहेको बताइएको छ ।

विभिन्न सञ्चार माध्यमका अनुसार सफल चौधरी नाम गरेका भारतीयले जाहिरका लागि काठमाडौंबाट हवाई टिकट खरिद गरेका थिए । सबु रजोरा नाम गरेकी भारतीय महिलाले उनका लागि काठमाडौंमा होटेल बुक गरेकी थिइन् ।

आफ्ना नागरिकको अपहरणबारे खोजविनका लागि नेपालस्थित पाकिस्तानी दूतावासले समेत प्रयास गरिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेका हुन् ।

पूर्व कर्णेलको अपहरणको यो विषयले पाकिस्तानी संसदमा समेत प्रवेश पाइसकेको हुनाले पाकिस्तानी प्रधानमन्त्री अब्बासीले यसबारे नेपालका प्रधानमन्त्रीसँग गुनासो राख्न सक्ने अनमान गरिएको छ ।

यसका साथै पाकिस्तानी प्रधानमन्त्रीले अहिलेसम्म अगाडि बढ्न नसकेको सार्क शिखर सम्मेलनको गाँठो फुकाउने विषयमा पनि नेपालका प्रधानमन्त्रीसँग छलफल गर्नु भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment