Comments Add Comment

धनुषामा ट्रिपरमा लगाइयो टाइम कार्ड, छिटो चलाए कारबाही

फाइल फोटो

२२ फागुन, जनकपुरधाम । धनुषामा ट्रिपर चालकको लापरवाहीले दुर्घटना बढेपछि ट्राफिक प्रहरीले टाइम कार्ड लागू गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मंगलबारदेखि जनकपुर ढल्केवर सडकखण्डमा चल्ने ट्रिपरहरुमाथि गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको हो ।

जनकपुर ढल्केवर सडक खण्डको मुजेलियास्थित ट्राफिक प्रहरीले डेस्क राखेर ट्रिपर चालकलाई अत्यधिक गतिमा गाडी चलाउन बन्देज लगाएको छ ।

पछिल्लो समय अत्यधिक गतिमा ट्रिपर चलाउँदा दुर्घटना भएर जनधनको क्षति हुनुको साथै सर्वसाधारण र अन्य गाडी चालक आतंकित भएका थिए । सोमबार अत्यधिक गतिका कारण ज १ क २९३ नम्बरको ट्रिपरले किचेर धनुषाको बटेश्वर गाउँपालिकाका शिक्षकको मृत्यु भएको थियो ।

नयाँ निमय अनुसार अब खाली ट्रिपर जनकपुरबाट ढल्केवर जान वा आउन एक घण्टा लगाउनुपर्ने छ । त्यस्तै निर्माण सामग्री लोड भएका ट्रिपरको एकतर्फी समय डेढ घण्टा तोकिएको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले बताए ।

‘तोकिएको समयभन्दा चाँडै ट्रिपर आइपुगेमा कारबाही गर्छौं’ उनले भने, ‘ यदि बीच बाटोमै अत्यधिक गतिमा ट्रिपर चलाउँछ भने हामीलाई खबर गर्नुस्, हामी कार्वाही गर्छौ ।’

यो नियम विहान ६ बजेदेखि बेलुका ९ बजेसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment