Comments Add Comment

संघीय सरकारलाई तिलोत्तमा नगरले बुझायो स्थानीय कानुन

२६ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय कानुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नगरका मेयर बासुदेब घिमिरेले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर ‘तिलोत्तमा राजपत्र’ बुझाएका हुन् ।

नगरसभाबाट पारित १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी संघीय सरकारलाई गराएको हो ।

फागुन ६ गते राजपत्रमा प्रकाशित स्थानीय कानुन नगरपालिकाले ९ गते प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ ।

स्थानीय कानुनको संगालो बुझाउन तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री लगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री ओलीले कानुन निर्माणमा तिलोत्तमाले देखाएको तदारुकता प्रशंसनीय रहेको उल्लेख गरे ।

नगरप्रमुख घिमिरेले ठूला आयोजनाहरुमा सघाउन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment