Comments Add Comment

फिल्डमै पुगेर कुलमानले सुल्झाए काबेली करिडोरको समस्या

प्रसारणलाइन निर्माण सक्न ६ महिनाको म्याद


२७ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ सय ३२ केभीए काबेली करिडोरमा रहेको मुआब्जाको समस्या सल्टाउन लागेका छन् ।

उनले शनिबार इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्काबासीका स्थानिबासीसँग छलफल गरेपछि स्थानियबासीहरु आयोजनाको सर्वे गर्न दिन सहमत भएका छन् ।

नेपाल विद्युत प्राधिकरण, आयोजना, देवमाई नगरपालिका र स्थानीय बासिन्दाबीच शनिबार भएको छलफलमा प्रसारणलाइनबाट प्रभावित हुने जग्गा तथा घरधनी, रुखबिरुवा, घरटहरा लगायतका संरचनाको यकिन गर्न तत्काल सर्वेको काम सुरु गर्ने सहमति जुटेको छ ।

प्रभावितको यकिन गरी मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्ने र त्यसपछि प्रसारण लाइन निर्माणको काम सुचारु गर्ने निर्णय भएको छ । स्थानीयको अवरोधका कारण सिद्धिथुम्कामा ११ वटा टावर निर्माण हुन सकेको छैन ।

घिसिङले प्रसारण लाइनको दायाँ वायाँ ९/९ मिटर ‘राइट अफ वे’मा पर्ने जग्गाको स्थानीय बासिन्दाको मागअनुसार सत् प्रतिशत क्षतिपूर्ति दिन नसकिने प्रष्ट पारे ।

‘विद्यमान कानूनअनुसार मूल्याङकित रकमको १० प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन सकिंदैन’,उनले भने । टावर रहने स्थानको जग्गाको सत् प्रतिशत र राइट अफ वेको १० प्रतिशत मात्रै क्षतिपूर्ति दिन कानूनी व्यवस्था छ ।

साथै घिसिङले आयोजनालाई ६ महिनाभित्रै काम सक्न निर्देशन दिएका छन् । यो आयोजना ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

११ वर्षअघि देखि निर्माण सुरु भएको यो आयोजनामा ठेकेदार र सहायक ठेकेदार बिच पनि राम्रो सम्बन्ध छैन । रकम भुक्तानका बिषयमा भएको उनीहरु बीचको विवादले पनि निर्माण प्रभावित हुन पुगेको छ ।

साथै प्रसारणलाइन निर्माण क्षेत्रमा पर्ने निजी जग्गाको स्थानियसँग हुने मुआब्जाको विवाद पनि अहिलेसम्म यथावत छ । केहि क्षेत्रमा यस्तो मुआब्जा विवादका कारण स्थानीयले काम अघि बढाउन दिएका छैनन् ।

समयमा निर्माणको काम अघि नबढेपछि शुक्रबार घिसिङ नै निर्माण स्थल पुगेका थिए । निर्माणस्थल पुगेर उनले आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदी र ठेकेदार कम्पनी जगुर एन्ड एस्टर जेभीलाई ६ महिनाभित्रै काम सक्न निर्देशन दिएका छन् ।

साथै सहायक ठेकेदार ए एण्ड एलाई तत्काल काम थाल्न निर्देशन पनि दिए । ‘ पाँचथरको जोरसल्लादेखि थापाटारसम्म ११ वटा टावर ठड्याउन बाँकी छ , यसमा ठेकेदार कम्पनी भोलि देखिनै काम सुरु गर्न सहमत भएको छ ।’ अनलाइनखबरसँग कुराकानी गर्दै घिसिङले भने ।

पाँचथरको फिदिम नगरपालिकामा पर्ने जार्ताेलदेखि थापाटार सम्म बनको क्षेत्रमा ११ वटा टावर ठड्याउनुपर्नेछ । बन कार्यालयले भने रुखमा टाँचा लगाएर रुख कटानको काम सुरु गरिसकेको छ । तर ए एण्ड एले यो क्षेत्रमा काम सुरु गरेको छैन ।

र, यो क्षेत्रको ११ वटा टावर ठड्याउनका लागि सहायक ठेकेदार ए एण्ड एलाई घिसिङले ५० दिनको समय दिएका छन् ।
ठेकेदार र सहायक ठेकेदारबीच भुक्तानीको बिषयमा भएको विवादका कारण यो क्षेत्रमा काम अघि बढ्न सकेको थिएन ।

काम सम्पन्न भएपछि सहायक ठेकेदार ए एण्ड कम्पनीलाई कुलमानले आफूले नै सिधै रकम भुक्तान गरिदिने बाचा गरेका छन् । उनले यसो भनेपछि ए एण्ड ए काम अघि बढाउन सहमत भएको हो ।

यसअघि यो आयोजनाको मूख्य ठेकेदार कम्पनी जगुर एन्ड एस्टर जेभीले भुक्तान गर्ने गथ्र्याे । तर, मूख्य ठेकेदार कम्पनीले समयमै भुक्तान नदिने गरेका कारण निर्माणको काम प्रभावित हुन पुगेको थियो ।

झापाको दमक, इलामको गोदक, पाँचथरको थापाटार र दुबीचौरमा सवस्टेसन निर्माणको काम यसअघि नै सकिएको छ ।
यो करिडोर झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म बन्न लागेको हो । ९० किमी लामो यो प्रसारणलाइनमा २ सय ६३ वटा टावर ठड्याउनु पर्नेछ । जसमध्ये झापाको दमकदेखि इलामको गोदकसम्म ३४ वटा टावर ठडिसकेका छन् ।

त्यस्तै गोदक देखि थापाटार सम्म १ सय २५ वटा टावर निर्माण गर्नुपर्नेछ । जसमध्ये अहिले सम्म ९८ वटाको फाउन्डेसन तयार भएको छ । २७ वटा टावर निर्माण पश्चात तार टाग्ने बेलामा स्थानियले मुआब्जाको बिबाद निकाल्दै काम अघि बढाउन रोकेका छन् । जसका बारेमा शनिबार कुलमानले स्थानियसँग छलफल गर्दैछन् ।

यो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण सकिनै लाग्दा प्रसारणलाइन निर्माणको भने टुंगो छैन । पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ ११ वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको हो ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको तीन अर्ब ५९ करोडको लागतमा यो प्रसारणलाइन निर्माण अघि बढाइएको छ ।

प्रसारण लाइनलाई तीन खण्डमा भिाजन गरी निर्माण भइरहेको छ । त्यसमध्ये पहिलो दमक-गोदक खण्डको निर्माण भइसेकको छ । दोस्रो खण्ड गोदक-फिदम खण्डमा स्थानीयका अवरोधका काम काम अवरुद्ध छ ।

तेस्रो फिदिम-ताप्लेजुङ खण्डको निर्माण अन्तिम चरणमा छ । गोदक, थापाटार र ताप्लेजुङको अमरपुरमा सव-स्टेसन निर्माण सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment