Comments Add Comment

ड्राइभरले सोध्लान्- केपी ओलीलाई भोट किन नदिएको !

म एमाले र माओवादीको प्रधानमन्त्री होइनः ओली

२७ फागुन, काठमाडौं । आइतबार अपरान्ह ३ बजेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठक साँझ ६ बजेपछि प्रधानमन्त्रीको विश्वास/अविश्वासको भोटिङमा बदलियो । त्यसअघिसम्म बिहानै मात्र सपथ खाएका सभामुख कृष्णबहादुरले विभिन्न दलका नेतालाई रोष्टममा बोल्न दिए ।

रोष्टममा उभिएर बोल्ने सांसदमध्ये कसैले हँसाए, कसैले सबैलाई गम्भीर बनाए, अनि कसैले माननीयहरुलाई अलि बढी नै भावुक पनि बनाए ।

प्रधानमन्त्री केपी शर्मा ओली शुरुमा विश्वासको मत मागिरहँदा भन्दा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै गर्दा निकै रोचकरुपमा प्रस्तुत भए ।

प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि संसदमा एमालेका तर्फबाट माधवकुमार नेपाल, कांग्रेसका तर्फबाट विजयकुमार गच्छदार र माओवादीका तर्फबाट प्रचण्डले सम्वोधन गरे ।

त्यसैगरी राजपाका महिन्द्र राय यादव, संघीय फोरमकी सरिता गिरी, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङदेन, राजमोकी दूर्गा पौडेललगायतले रोष्टमबाट बोलेे ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पुष्पा भुसाल, अत्तहर कमाल मुसलमान र गगन थापाले पनि संसदलाई सम्वोधन गरे ।

संसदमा बोलेका प्रचण्ड माधव नेपाल लगायत सत्तापक्षका नेताले अब विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै कांग्रेसलाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

कांग्रेस नेताहरुले भने आफूहरु प्रतिपक्षमै बस्ने र सरकारको खबरदारी गर्ने बताएका थिए ।

संसदमा विश्वासको मत माग्दै पहिलो चरणमा बोलेका केपी ओलीले कैलालीमा बोक्सीको आरोपमा छात्रामाथि भएको कुटपिटको विरोध गरे । र, दोषीहरुमाथि कडा कारवाहीका लागि निर्देशन दिएको जानकारी दिए ।

तर, कांग्रेस नेतृ पुष्पा भुसालले प्रधानमन्त्रीले संसदमा विलौना गरेको आरोप लगाइन् । भुसालले यसरी बिलौना गरेर हुँदैन, न्यायको महसुस हुनेगरी दोषीमाथि कारवाही हुनपर्छ भनिन् ।

कांग्रेस नेता गगन थापाले केपी ओलीमाथि कडारुपमा प्रस्तुत हुँदै वामक गठबन्धनको घोषणापत्र आफूले कण्ठ पारेर खबरदारी गर्ने र ओली सरकारको एक-एक हिसाब राख्ने चेतावनी दिए । उनले ओलीलाई तपाई एमालेको अध्यक्ष होइन, देशको प्रधानमन्त्री हो भन्दै जथाभावी नबोल्न आग्रह गरे ।

संसद बोलेका मधेसकेन्द्रित दलका सांसदहरुले संविधान संशोधन हुनुपर्ने र मधेसको मुद्दा सम्वोधन हुनुपर्ने भन्दै सरकारलाई समर्थन गर्ने जनाए । राजपाका महेन्द्र राय यादवले आफ्नो पार्टीले विश्वासको मतको पक्षमा मत हाल्ने तर संविधान संशोधन नभएसम्म सरकारमा नजाने अडान राखे ।

संसदमा बोल्नेमध्ये कांग्रेस र नेमकिपाबाहेक अन्य सबै दलका नेताले सरकारलाई समर्थन गर्ने बताइरहँदा प्रधानमन्त्री केपी ओली प्रशन्न देखिन्थे ।

नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन रहेको बताएनन्, बरु नेपाली जनतासँगै रहेर ओली सरकारको कामलाई हेर्ने र संघर्ष गर्ने बताएर आफ्नो सम्वोधनको बिट मारे । यसको अर्थ नेमकिपाले विश्वासको मत नदिने संकेत दियो । कांग्रेस नेताहरुले संसदीय प्रणालीमा प्रतिपक्ष चाहिन्छ भन्दै रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने भाषण गरे ।

ओलीको जवाफः म एमालेको प्रधानमन्त्री होइन

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले सुरुमै कांग्रेस सांसद गगन थापाले उठाएको प्रश्नको जवाफ दिँदै भने- ‘लोकतन्त्र मासिन्छ भन्ने कुनै साथीहरुलाई चिन्ता छ भने कुनै साथीहरुले नराख्नुभए हुन्छ । म आफैं पनि आधा शताब्दिदेखि यसैका लागि लडिराखेको छु । यसमा निश्चिन्त रहँदा हुन्छ ।’

कांग्रेस नेता थापाले केपी ओलीले दुई तिहाई माग्नुको नियत के हो भन्ने प्रश्न उठाउँदै प्रधानमन्त्रीले व्यवस्थालाई भन्दा व्यक्तिलाई बनाउन खोजेको आरोप लगाएपछि प्रधानमन्त्रीले यसको प्रष्टीकरण दिएका हुन् ।

त्यसैगरी कांग्रेस नेतृ पुष्पा भुसालले ‘प्रधानमन्त्रीले बिलौना गाएको’ भनेको प्रति जवाफ दिँदै ओलीले भने- ‘सरकार बनेको एक महिना पनि भएको छैन । यो समाजमा भएका पछौटेपन यही सरकारले अस्ति रोपेर भर्खरै भएको हो कि जस्तो गरियो, सरकारले गरेको होइन । मैले कुनै बिलौना गाएको होइन । प्रहरीले छाडेकोलाई गिरफ्तार गर्ने आदेश दिएको छ । अब प्रभावकारी कदम चाल्छ यो सरकारले ।’

प्रधानमन्त्री ओलीले अगाडि भने- ‘बलात्कार वा समाजिक अपराधका घटनाहरुमा दण्डहीनता भन्ने कुरा सैह्य हुँदैन । दरबारमार्गमा बलात्कारका काण्ड हुन्छ, मध्यस्थता हुन सक्दैन ।’

संविधान संशोधनबारे उठेका प्रश्नहरुबारे प्रधानमन्त्री ओलीले भने- ‘अलिकति प्रोभोकिङ भाषा पनि आयो, सम्झाउन खोज्या होला । संविधान अपरिवर्तनीय दस्तावेज होइन, दुनियाँभरि संविधान संशोधन हुन सक्छ, समयको मागअनुसार, देश र जनताको आवश्यकताका आधारमा, औचित्यका आधारमा संशोधन हुन सक्छ । लहडका आधारमा होइन ।’

विगतमा युद्ध गरेर समेत अहिले मिलाप भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतमा भनाभन हुनु स्वाभाविक भए पनि अब विवाद नगरी अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्रीले संसदमा भने- ‘हामी लडाइँमा पनि गयौं नि । हतियारै उठ्यो नि । लडाइँबाट त हामी एकतामा त आयौं भने भनाभन छाडिदिनोस् अब ।’

आफूले निरंकुश हुनका लागि दुई तिहाईको कुरा नगरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उनले भने- ‘मैले दुई तिहाईको समर्थनको कुरा गर्दा गलत कामलाई खबरदारी नगर्नोस् भनेको होइन । दुई तिहाई दम्भका लागि होइन, देश एकजुट छ भन्ने सन्देश दुनियाँलाई दिन, शालीनताका साथ भनेको हुँ, दम्भका लागि होइन ।’

प्रधानमन्त्री ओलीले आफू एमाले वा माओवादीको मात्रै नभएर देशकै प्रधानमन्त्री भएको भन्दै पार्टीका लागि नभएर देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।
‘म एमालेको प्रधानमन्त्री होइन, नेपालको प्रधानमन्त्रीको हो । एमाले र माओवादी केन्द्रको प्रधानमन्त्री होइन,’ प्रधानमन्त्रीले संसदमा भने,’ एमाले र माओवादीको तालमेलले छानेको पृष्ठभूमि हो तर, म त्यतिका लागि मात्रै प्रधानमन्त्री होइन ।’

देशमा समस्यै समस्या छन् भन्ने नेमकिपाका सांसद प्रेम सुवालको भनाइतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- ‘एकजना मित्रले भन्नुभो, यस्तो पनि सुन्या छ…. पानी नभएकैले मेलम्ची आउन लागेको हो । देशमा समस्या छन् र त समाधान गर्न लागेका हौं । नीति तय गरेर, योजना बनाए/m योजनाका साथ अगाडि बढ्ने हो, हिँड्दौ जाँदा जहाँ पुगिएला भनेर होइन ।’

प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने- ‘प्रतिपक्षले खबरदारी गरोस् ।’

कांग्रेस सांसद गगन थापाले आजैदेखि प्रधानमन्त्रीको काउण्ट डाउन सुरु भयो भनेको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘काउण्ड डाउन त भइहाल्छ नि । आज २७४ साल फागुन २७ गते, भोलि २८ गते हुन्छ ।’

प्रधानमन्त्रीले अगाडि भने- ‘समयको सीमा हुन्छ । ज्ञानको पनि सीमा हुन्छ । म सीमाभित्र छु । तर, इमानको कुनै सीमा हुँदैन ।’

प्रधानमन्त्र अिोलीले आफूलाई भोट नहाल्ने सांसदलाई गाडीका ड्राइभरले, सुरक्षा गार्डले र घरमा खाना पकाउने मानिसले प्रश्न गर्ने भन्दै ठट्टामिश्रति अभिव्यक्ति दिए । भोट नदिने सांसदलाई सबैभन्दा बढी उनीहरुकै मनले प्रश्न गर्ने र राति निद्रा बिग्रनसक्ने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले भने- ‘बाहिर निस्केपछि ड्राइभरले सोध्ला, केपी ओलीलाई किन भोट नदिएको ? गार्डले सोध्ला- केपी ओलीलाई किन भोट नदिएको म्याडम ? खाना बनाउँदै गर्दा भान्सामा सोधिएला दिदी केपी ओलीलाई भोट दिनुभएन ? मलाई भोट दिनुभएन भने पनि माननीयहरुको निद्रा नबिथोलियोस् । तपाईलाई आफ्नै मनले सोध्छ ।

प्रधानमन्त्री ओलीले अब सबै मिलेर देश बनाउने बताए । उनले भने- ‘हामी अब मिलेर जाने र देश बनाउने हो । कसले राम्रो बोल्यो, कसले तर्क दियो, केही छैन ।’

प्रधानमन्त्री ओलीले आफूलाई विश्वास नगर्नेहरुले पछुताउनुपर्ने संकेत गर्न खोज्दै भने- ‘मेरो इमान्दारता देशप्रति हो, जनताप्रति हो । देशको भविश्य उज्वल बनाउने, सुशासन र विकासको प्रतिवद्धता हो । यसका निम्ति विश्वास गर्दा फरक पर्दैन । विश्वास नगर्दा कोरा राजनीतिबारे केही ठहरिँदैन । त्यसैले समर्थन जनाउनोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment