Comments Add Comment

डिभिजन सडकमा प्रकाशमानको डेलिगेसन, विकासको हिसाबकिताब खोज्ने चेतावनी

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माणको नाममा जथाभावी भत्काउने र खन्ने काम नगर्न सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित डिभिजन सडक कार्यालयमा डेलिगेसनका लागि पुगेका नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो मर्का परेको बताए ।

काठमाडौं उपत्यकाका सडक बिस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने क्रममा जथाभावि खनिएका सडकले सर्वसाधारण मर्कामा परिरहेका बेला नेता सिंह आफ्नो क्षेत्रका जनप्रतिनिधि र उपभोक्ताका प्रतिनिधिसहित डिभिजन सडक कार्यालयमा दवावका लागि पुगेका थिए ।

काठमाडौं क्षेत्रनम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसदसमेत रहेका नेता सिंहले सरकारी निकायबीच समन्वय गरेर विकासका निर्माणका काम हुनुपर्नेमा जोड दिए ।

सडक निर्माणलगायतका विकास आयोजनाहरू कहिलेदेखि सुरु हुने हो र कति समयमा सकिने हो भनेर सर्वसाधारणले देख्ने र बुझ्ने गरी स्पष्ट लेखिएको साइन बोर्ड राख्न उनले सुझाव दिए । अन्यथा त्यसको हिसाब किताब खोजिने उनले बताए ।

गुपचुप काम गर्ने पद्दतिले पारदर्शितामा आशंका उब्जाउने भन्दै नेता सिंहले भने, ‘सडक भत्काउँदा वा विकास निर्माणका आयोजनाहरू सुरु हुँदा कति मितिदेखि शुरु भएर कुन मितिमा सम्पन्न हुने हो साइनबोर्डमा लेखेर राख्नुपर्छ । अन्यथा उपभोक्ता र जनप्रतिनिधिहरूले अबदेखि त्यसको हिसावकिताव खोज्ने छन् ।’

नेता सिंहले भने, ‘सडकले बाटो भत्काउँछ । ढलले पनि बाटो खन्छ । खानेपानीले पनि बाटो भत्काउँछ । सबैले खान्ने तर मर्मत सम्भार र काम नगर्ने परम्पराले जनता आजित भएका छन् । अबदेखि यस्तो लापरबाही गर्न पाइँदैन ।’

नियममा रहेको कुरा पनि सरकारी कर्मचारीले गर्दै नन् भन्ने सर्वसाधारणको गुनासो रहेकाले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे ।

काठमाडौंका सडक खनेको धेरै भइसकेपनि हालसम्म मर्मत सम्पन्न नभएको भन्दै कांग्रेस नेता सिंहले भने, ‘काठमाडौंका सडक त समयमा पूरा भएको छैन, झन् उपत्यका बाहिरका सडक र विकास निर्माणको हालत के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment