Comments Add Comment

रौतहटमा विद्युत चोरी गर्ने ६६ जना पक्राउ

विद्युत चोरी बारे जानकारी दिदै प्राधिकरणका प्रमुख उमेश यादव ।

३० फागुन, रौतहट । विद्युत चुहावटमा रौतहट अग्रपंक्तिमा रहेको भन्दै व्यापक आलोचना भएपछि विद्युत प्राधिकरण रौतहटले जिल्लाका बिभिन्न ठाउँमा चेकजाच सुरु गरेको छ । यसरी केही दिन यतामात्र शुरु भएको यो नियमित चेकजाँचले गर्दा विद्युत चुहावटमा कमी आएको छ ।

हाल ४७ प्रतिशत बिद्युत चुहावट रहेको रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम शुरु भएको छ ।

विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयातामा पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख उमेश यादवले बताए ।

विद्युत चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको प्राधिकरणले तिन महिनामा विद्युत चुहावट १२ प्रतिशतले घटाएको छ ।

प्राधिकरणका कर्मचारीहरु प्रहरी र स्थानीय प्रशासनको सहयोगमा चार दिनको अवधिमा जिल्लाको लक्ष्मीपुर, ब्रहृमपुरी, मुडवलवा, रामपुर खाप, राजपुर दमार, पल्टुवा, कुडिया लगायतका विभिन्न स्थानहरुबाट विद्युत चोरी गर्ने ६६ जनालाई पक्राउ गरी ५ लाख भन्दा बढी जरिवाना असुल गरिएको शाखा प्रमुख यादवले बताए ।

लामो समयसम्म पनि विद्युत महशुला भुक्तानी नगर्ने ३०४ जनाको लाइन काटिएको र उनीहरु बाट ५ लाख ४३ हजार रुपैयाँ असुल भएको प्राधिकरणले जनाएको छ ।

देशका विभिन्न स्थानका सहरहरु लोडसेडिङ्ग मुक्त घोषणा भइरहदा रौतहटमा भने वितरणको आधा विद्युतनै चोरी भइरहेको छ । कुनै समय ८२ प्रतिशत चुहावट रहेको रौतहटमा नियमित चेकजाँच तथा चुहावट नियन्त्रणका लागी ठोस पहल हुन निकै जरुरी रहेको छ ।

कर्मचारीहरुको मिलोमतोमा समेत कतिपय स्थानमा विद्युत चुहावट भइरहेको आरोप लाग्ने गरेको प्राधिकरणलाई चुहावट नियन्त्रण गर्न चुनौति रहेको छ ।

रौतहट जिल्ला भरी नै व्यापक रुपमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने प्रवृति बढेको बेला प्राधिकरणले शुरु गरेको योे प्रयासले अवश्य पनि चुहावट नियन्त्रणमा राम्रो शुरुवात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment