Comments Add Comment

कोहलपुर नगर विकासको करिब ३० करोडको जग्गा भेटियो, कतिपय अतिक्रमणमा

जग्गा अतिक्रमण गरेर टहरा बनाएका धेरैजसोले होटल तथा पसल खोलेका छन् । तस्वीर: संगीन शर्मा

१ चैत, कोहलपुर । कोहलपुर नगर विकास समितिको करिब ३० करोडको गुमनाम जग्गा फेला परेको छ । शिक्षण अस्पताल कोहलपुरको उत्तर गेटतर्फको सडकको पूर्व र पश्चिमपट्टि जग्गा फेला परेको हो ।

पूर्वपट्टीको कि.नं. ६० तथा पश्चिमपट्टि कित्ता नम्बर ७८ र ७९ का एक-एक कठ्ठाको जग्गा फेला परेका हुन् । तर, ति जग्गामा मानिसहरु अस्थायी टहरा बनाएर बसिरहेका छन् । शुरुमा त्यो जग्गा आफूहरुको भएको दावी त्यहाँ बस्दै आएका मानिसहरुले गरेका थिए । तर, उनीहरुसँग प्रमाण नभएको दावी कोहपुर नगर विकास समितिले जनाएको छ ।

‘ती तीन वटै घडेरीहरुलाई खाली गराउने काम शुरु गछौं,’ नगरविकास समितिका अध्यक्ष अवराज खड्काले भने, ‘ती घडेरीहरु टेण्डर गरी विक्री गर्ने कि आफ्नै स्वामित्वमा राखेर बहुआयामीक भवन बनाउने भन्नेबारेमा छलफल भइरहेको छ ।’

हाल टेण्डर गर्दा ती एक कठाका प्लटहरु करिब २ करोडदेखि ३ करोड रुपैयाँसम्ममा विक्री हुने सम्भावना रहेको खड्काले बताए ।

नगर विकास समितिको तथ्यांकअनुसार २०५४/५५ सालतिर घडेरीहरु बिक्रीका लागि टेण्डर गर्दा ती प्लटहरुमा टेण्डर नपरी बाँकी रहेका थिए । ‘त्यसयता कुनै पनि समितिले त्यसबारे वास्ता नगरेको वा त्यस क्षेत्रका सबै प्लट विक्री भइसकेका भनेर बसेको अवस्था थियो । हालका अध्यक्षले सबै तथ्यांकहरु हेर्दा र मालपोतमा श्रेस्ता हेर्दा ती प्लटहरु हालसम्म विक्री नभएको तर अरुले नै प्रयोग गर्दै आइरहेको फेला पर्‍यो,’ खड्काले भने ।

त्यसैगरी कोहलपुर शिक्षण अस्पतालको पश्चिमपट्टीको पूर्वपश्चिम राजमार्गदेखि पर्यटन कार्यालयको अगाडिसम्मको १३ मिटर चौडा सडकको पश्चिमपट्टी रहेका करिब ३५ वटा घडेरीहरु पनि बिक्री नभएको अवस्थामा फेला परेका छन् । त्यहाँ २७ वटा घडेरीहरु केही ८ धुर त केही ९ धुरका छन् । हाल त्यहाँको १३ मिटर सडक पिच गरिएको छ र सडकसँगै बनाएको नाली निर्माणकै क्रममा भत्किएको छ । ती २७ वटा घडेरीहरुमध्य केही नगर विकास समितिको क्षेत्रभन्दा पश्चिमपट्टि घडेरी भएका व्यक्तिहरुले अतिक्रमण गरी घर बनाएका छन् ।

ती २७ वटा घडेरीको १३ मिटर सडक ग्राभेल रहेको अवस्थामा पनि प्रतिधुर २ लाख २० हजार मूल्यांकन थियो । हाल सो सडक पिच भइसकेकाले त्यसको न्यूनतम मूल्यांकन प्रतिधुर ३ लाख रुपैयाँभन्दा माथि हुने र टेण्टर प्रक्रियामा जाँदा प्रतिप्लट ३० लाख रुपैयाँभन्दा माथि बिक्री हुने नगर विकास समितिको अनुमान छ । यस हिसाबले ती घडेरीहरुको मात्रै ८ करोडभन्दा बढी मूल्यांकन हुने स्थानीय बताउँछन् ।

त्यस्तै कोहलपुर-नेपालगञ्ज सडक खण्डको एनटिभी जाने चोकदेखि करिब ५० मिटर पश्चिम नगर विकास समितिका ४ वटा प्लटहरु र सडक समेत अतिक्रमण गरी केही व्यक्तिहरुले घर बनाएको नापजाँचको क्रममा भेटिएको छ । ती प्लटहरुको मूल्य हाल करिब १० करोड रुपैयाँ बराबर हुन्छ ।

ती सबैमा हाल नगर विकास समितिले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापा सहितको अनुगमनमा घर भत्काउन रेखांकन समेत गरिसकेको नगर विकास समिति अध्यक्ष खड्काले बताए ।

हाल कोहलपुर नगरपालिका प्रमुख रावत र कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले संयुक्त रुपमा अनुगमन गर्ने र यसरी अतिक्रमणमा रहेका जग्गाहरु पत्ता लगाई नाप नक्सा गराउने कार्य गरिरहेको बताएका छन् ।

– संगिन शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment