Comments Add Comment

काठमाडौंबासीले युरोपबाट के सिक्ने ?

आमाको प्रश्न- विदेश कस्तो रे'छ !

कामविशेषले काठमाडौँका धनीमानी आफन्त वा कोहीका घरमा कहिलेकाँही पुगिहाल्नुभो भने मेरी आमा घरमा आउनेवित्तिकै सुनाउन थाल्नुहुन्छ, “फलानाको घर यस्तो रे’छ, सजावट यस्तो रे’छ, सामाग्री यस्ता रे’छन् । हाम्रो पनि त्यस्तै भए पो !”

आज आमाबाट छुटि्टएर ‘परदेश’ आइपुगेको दोस्रो सातामा एकाबिहानै फोनमा सोध्नुभो, “विदेश कस्तो रे’छ त ?”

जम्मा तीनै हप्ताका लागि मात्र भए पनि युरोप आएपछि मैले बुझेँ कि आमाले अरू र आफ्ना घरबीच गर्ने तुलना एउटा विश्वव्यापी मानव प्रवृत्ति रहेछ । आफ्नो नियमित जीवनभन्दा टाढाको केही कुरा देख्ने बित्तिकै मान्छेले तुलना गर्न थाल्ने रहेछ । ती कुरा आफैँमा तुलनायोग्य हुन् कि होइनन् भन्ने प्रश्न आफ्नै ठाउँमा रहन्छ ।

सांस्कृतिक उपनिवेशवादको राजनीति

हाल म युरोपकै समृद्ध देशहरूमध्येको नेदरल्यान्ड्समा एउटा अन्तर्राष्ट्रिय र बहुसांस्कृतिक समूहसँग बसिरहेको छु । मेरा साथमा फिलिपिन्स, जोर्डन र जिम्बाब्वेका साथीहरू छन् । यीमध्ये जिम्बाब्वेका साथीले बडो सुन्दर शैलीमा बारम्बार भन्छन् कि युरोपेली जीवन देखेपछि उनलाई आफूले अपि|mकामा भोगिरहेको अनुभवलाई जीवन भन्ने कि नभन्ने भनेर प्रश्न गर्न मन लाग्छ ।

जीवन भन्ने भए यी दुई जीवन कसरी यति धेरै फरक भए त ? भन्न नमिल्ने भए अफ्रिकी र एसियालीको जीवन चाँहि के हो त ?

राजनीतिक र सैन्य उपनिवेशवादको अभ्यास विश्वमा करिब अन्त्य भए पनि अप्रत्यक्ष रूपमा पश्चिमाहरूले एसियाली र अफ्रिकाली जनसङ्ख्यालाई सांस्कृतिक उपनिवेशवाद लादिरहेका छन् भन्ने कुरामा उनी प्रष्ट छन् । तर पनि जीवनका केही पक्षमा युरोपेलीहरू हामीभन्दा माथि रहेको कुरा पनि उनी स्वीकार्छन् ।

यस विषयमा ती साथीको भनाइसँग म पनि सहमत नै छु । सांस्कृतिक, धार्मिक तथा नैतिक मूल्यको बलियो परम्परा भएको परिवारमा जन्मिएको मान्छे भएकैले म आफू वरिपरिका केही साथीहरूजस्तो पश्चिमा जगत्सँग अन्धो माया गाँस्न सक्दिनँ ।

अनि मैले विश्वविद्यालयमा पढेका केही विषयले पनि मलाई पूर्वीय मस्तिष्क र संस्कृतिलाई पश्चिमले कसरी उपनिवेश बनाउँदै छ भन्ने कुरामा थप सचेत गराएका छन् । यद्यपि गत हप्ता यहाँ एम्स्टरड्याम र उत्रेख्त गरी यहाँका दुई सहरको भ्रमण गर्दा मलाई काठमाडौँले युरोपबाट धेरै कुरा सिक्न बाँकी छ भन्ने महसुस भएको छ ।

कति टाढा ? कति नजिक ?

उल्लेखित दुबै सहरमा सयौँको सङ्ख्यामा प्राचीन संरचना रहेछन् । शताब्दीऔँ पुराना चर्च, स्मारक, मूर्ति तथा अन्य भवनले यी दुबैलाई सांस्कृतिक सम्पदामा धनी बनाएका छन् । यहाँ पनि साँघुरा गल्ली र फराकिला चोक रहेछन् । हरेक दिन कुनै न कुनै पर्व वा जात्रा पर्ने रहेछन् ।

हाम्रो काठमाडौँका वाग्मती, विष्णुमती र मनोहराजस्तै यहाँ पनि सहरबीचमै ससाना कुला (क्यानल) रहेछन् । आकाशबाट हेर्ने हो भने सायद् काठमाडौँका तीन दरबार क्षेत्र र बुङमती खोकना, टोखा, कीर्तिपुर लगायतका परम्परागत बस्ती, अनि यी सहर उस्तै नै देखिएलान् ।

रमाइलो कुरा के छ भने अङ्ग्रेजी वर्णानुक्रममा विश्वका देशहरूको सूची बनाउने हो भने नेपाल र नेदरल्यान्ड्स सबभन्दा नजिकका छिमेकी हुन् । (सायद नेपाली वर्णानुक्रममा पनि यही नै लागू होला ।) तर दुई देशबीचको निकटता वर्णानुक्रमगत मात्र रहेनछ । यी दुई देशका मुख्य सहरबीच पक्कै पनि विभिन्न सांस्कृतिक समानता हुनुपर्छ । आवरण फरक भए पनि आधार संरचना उस्तै हुनुपर्छ ।

निकटता केलाउँदा रमाइलै हुने रहेछ, तर भिन्नता नि ? मेरो अनुभवमा यी दुई देशबीचको भौगोलिक दूरी त्यति धेरै छैन, जति दुई देशका नगर क्षेत्रमा बसोबास गर्ने जनताको संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षणप्रतिको धारणा र सीपबीचको भिन्नतामा छ । प्रकृति र प्राकृतिक स्रोतको संरक्षणका सवालमा पनि सायद् यो दाबी सही नै हुन सक्छ । हामी नेपालीले, विशेषतः काठमाडौँबासीले युरोपेलीबाट सिक्नुपर्ने चुरो कुरो यही नै हो ।

यहाँ सांस्कृतिक सम्पदा भएका नगर क्षेत्रका हरेक सडकमा ढुङ्गा तथा इँटा छापिएका छन् । यी बाटा आफैँमा साँघुरा भए पनि पैदल हिँड्नका लागि पर्याप्त फराकिला छन् । काठमाडौँमा जस्तो पसलले आफ्ना सामान राखेर सार्वजनिक बाटा र चोक हडप्दैनन् । केही घण्टाका फरकमा ब्रुमर मेसिनले यी सडक सफा गर्छन् । कसैले पनि जथाभाबी फोहोर फाल्दैनन् । हरेक चोकमा फोहोर फाल्ने भाँडा राखिएका छन् । ओहो, फोहोरका भाँडा पनि चिटिक्कका चित्र कोरेर सजाएर राखिएका हुने रहेछन् ।

फ्याँक्दा नै प्लास्टिकजन्य, कुहिने तथा पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई छुट्टाछुट्टै भाँडामा हाल्नुपर्छ । काठमाडौँमा जस्तो हरेक भित्तामा फिल्म र अन्य विज्ञापनका पोस्टर पनि छैनन् ।

संस्कृतिसँग प्रकृति संरक्षण

संस्कृति संरक्षणका यी सबै प्रयासलाई यहाँका जनताले साथ दिएजस्तो देखिन्छ । प्रकृति र वातावरण संरक्षणका उनीहरूको जागरुकताले संस्कृतिलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ । नगरका बीचबाट बग्ने कुलाहरू सफा र कञ्चन देखिन्छन् । त्यहाँ स्थानीय तथा पर्यटकहरू ‘बोटिङ्’ गर्छन् । तिनका किनारमा लहरै रुखहरू छन् । (दुःखको कुरा, वसन्तभन्दा केही महिना अगाडि आएकाले हरियाली भने मैले देख्न पाइँन ।) अनि सँगै सफा सडक छन् ।

यहाँ यातायातको सबभन्दा लोकपि्रय माध्यम साइकल रहेछ । घर र कार्यालयबीचको दैनिक आउजाउ पनि नजिक भए साइकलमै गरिन्छ । टाढा भए रेल तथा बस स्टेसनसम्म साइकलमा जाने, अनि रेल वा बस चढ्ने, अनि बेलुका फर्किएर स्टेसनदेखि घरसम्म फेरि साइकल चढ्ने गरिने रहेछ । त्यसैले हरेक स्टेसन छेउमा साइकल पार्किङ्को व्यवस्था गरिएको छ । स्टेसनबाट एकदमै टाढा घर वा कार्यालय हुने थोरैले मात्र कार चढ्ने रहेछन् । मोटरसाइकल त लोपोन्मुख नै माने हुन्छ । नेपालमा जस्तो कार चढ्नेको इज्जत धेरै, मोटरसाइकलवालाको अलिक कम, अनि साइकल चढ्ने गरिब भन्ने सोचाइ कसैमा पनि छैन ।

खासमा म यहाँ एउटा तालिमका लागि आएको हुँ । हामी होटेलबाट तालिम लिने ठाउँसम्म सार्वजनिक बसमा जान्छौँ । हाम्रा प्रशिक्षक भने साइकलमा आउँछन् । नेपालमा कुनै सरकारी वा गैरसरकारी संस्थाले विदेशीका लागि यस्तै केही कार्यक्रम गरे भने त्यहाँ यातायातको व्यवस्था कस्तो हुन्थ्यो होला ? कोही साइकल चढ्न तयार हुन्थ्यो कि हुन्नथ्यो ? अनि विदेशीलाई सार्वजनिक बसबाट आवत-जावत गर भन्न हामीलाई हाम्रो इज्जतले दिन्थ्यो त ?

एम्स्टरड्याम र उत्रेख्तको बीचमा पर्ने हिल्बरसम सहरमा तालिम स्थल छ । हाम्रो बसोबासको प्रबन्ध यसभन्दा करिब डेढ किलोमिटर पर बुसुममा गरिएको छ । बस्ने ठाउँ र पढ्ने ठाउँको बीचमा एउटा वन छ । पैदल तथा साइकल यात्रुका लागि वनकै बीचमा बाटो छुट्याइएको छ । बीचबीचमा घाँसे मैदानमा आराम गर्न बेन्च राखिएका छन् ।

तर, अब काठमाडौँमा यस्ता ठाउँ दुर्लभ भइसके । कि तपाईँ गोकर्ण पुग्नुपर्‍यो कि चोभार । नागार्जुन तथा गोदावरी त झनै टाढा भइहाले । तर ती सबै ठाउँमा सडक खन्ने नाममा वन मासिएका छन् । रुखको सङ्ख्या घट्दो छ । सबै वन उजाड हुँदै छन् । यहाँ त सहरबाट एक किलोमिटरभित्रै वनलाई जोगाएर राखिएको छ ।

हातेमालोको आवश्यकता

सांस्कृतिक उपनिवेशवादबारे मेरो राजनीतिक अडानमा म आज पनि स्पष्ट नै छु र यस सन्दर्भमा पश्चिमाहरूको समर्थन गर्न सक्दिनँ । उनीहरूले विकास र सभ्यताका सन्दर्भमा समेत आफ्नै परिभाषा हामीमाथि लादेका छन् भन्ने कुरा पनि म मान्छु ।

तर, गत हप्ताको मेरो अनुभवले के कुरा पुष्टि गरेको छ भने उनीहरू हामीभन्दा पूर्णतः भिन्न भने होइनन् । अनि हामीले आफ्नो संस्कृति र पहिचानका लागि उनीहरूका हरेक कदमको विरोध गर्नुपर्ने आवश्यकता पनि छैन ।

आखिर उनीहरूको जीवन पनि प्रकृति र संस्कृतिसँगको सामीप्यका आधारमा नै चलिरहेको छ । हाम्रो पनि त्यही हो । भिन्नता अब के रहृयो भने उनीहरूले त्यसलाई जोगाउन धेरै मेहनत गरे भने हामीले आधुनिकताका नाममा प्रकृति र संस्कृतिसँगको हरेक सम्बन्धलाई पालैपालो त्याग्दै गयौँ ।

गत भदौमा मैले नेपालका लागि युरोपेली युनियनकी तत्कालीन राजदूत रहेकी, नेदरल्यान्ड्सकी नागरिक रिन्चे टिरिन्कसँग एक अन्तर्वार्ता गर्ने मौका पाएको थिएँ । उनले त्यति बेला युरोपेलीहरूले नेपालबाट धेरै सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता सिक्न सक्ने बताएकी थिइन् । छ महिनापछि आज उनको देशको आतिथ्यबाट प्रफुल्ल भएको म उनलाई आफ्नो भनाइका लागि आभार व्यक्त गर्न चाहान्छु । तर सँगसँगै के थप्न चाहान्छु भने नेपालीले पनि युरोपबाट धेरै कुरा सिक्नुपर्नेछ, विशेष गरी सहरी क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा ।

सायद प्रकृति र संस्कृतिसँगको आफ्नो सम्बन्धलाई बचाएर राख्न एकअर्काले गरेका पहलकदमीलाई पूर्वीय र पश्चिमा जगतले आपसमा बाँड्दा सुदृढ भविष्यका लागि एउटा साझा मार्ग चित्र कोर्न सकिन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment