+
+

मन्त्री गोकर्ण विष्टको अनुरोध : मन्त्रालयमा खालीहात आउनुहोला !

' शुभकामना दिन रित्तो हात आउँदा मन्त्रीले अप्ठ्यारो मान्दैन'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ६ गते १७:००

६ चैत, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा आफूलाई शुभकामना दिन आउनेहरुलाई खाली हात आइदिन अनुरोध गरेका छन् ।

‘जनताले खुशी व्यक्त गर्नका लागि जुन तरिका व्यक्त गर्दै आएका छन्, यही तरिका कायम राख्नुपर्छ भन्ने छैन’, मन्त्री विष्टले अनलाइनखबरसँग भने- ‘आज उप्रान्त यो मन्त्रालयमा मलाई बधाइ दिन आउने सबै दाजुभाइ दिदीबहिनीहरु कसैले पनि बुकी, माला र खादाको खात बोकेर नआइदिनुहुन अनुरोध गर्दछु ।’

नेकपा एमालेले पोखरा घोषणापत्रमा अनावश्यक खादा, माला, बुकी आदिमा फजुल खर्च नगर्ने नीति लिएको स्मरण गर्दै मन्त्री विष्टले यस्ता भद्दा तरिकाहरु हटाउँदै लैजानुपर्ने बताए ।

मन्त्रालयभित्र मन्त्रीहरु खादा र माला लगाइदिनेहरुबाट घेरिने गरेको फोटोफिचर अनलाइनखबरमा प्रकाशित भएको भोलिपल्ट मंगलबार मन्त्री विष्टसँग अनलाइनखबरले यसबारे छोटो कुराकानी गरेको छः

मन्त्रीज्यु, तपाई एमालेको नेता पनि हुनुहन्छ, पोगितो माला र खादा नलगाउने भनेर एमालेले यसअघि निर्णय नै गरेको थियो हैन र ?

हो, मैले नै गरेको प्रस्ताव हो त्यो । म मोर्चा संगठनको प्रमुख, मोर्चा संगठनको अयाोजनामा सबै जनवर्गीय संगठनको प्रशिक्षण थियो, नेताहरु पनि उपस्थित हुनुहुन्थ्यो । त्यो मोर्चा संगठनले पोखरा घोषणा जारी गरेर भद्दा शैली रोक्ने र सरल शैली बनाउने भनेर घोषणा गरेको हो ।

तर, त्यो क्रम रोकियो त ? मन्त्रालयमै खादा माला र बुकी लिएर आउनेहरु भेटिइरहेका छन् । तपाईकै मन्त्रालयमा पनि हिजो निके ठूलो भीड लागेको थियो…

लागिरहेको बानी, सम्पूर्णरुपले कार्यान्वयन त भएको छैन । तर, हामाीले पोखरामा त्यो निर्णय गरेपछि धेरै नै कन्ट्रोल भो । ८० प्रतिशत कन्ट्रोल भो । २० प्रतिशत त छ । मैले पनि चुनावमा त माला लगाएरै हिँडें ।

तर, सभा समारोहहरुमा धेरै सुधार आएको छ । विभिन्न कार्यक्रमहरुमा, मञ्चमा खादा लगाउने क्रममा सुधार आएको छ । तर, निर्वाचनमा जाँदा, निर्वाचन जित्दा जनताले लगाइदिने माला र जनताले खुशी व्यक्त गर्ने कुरालाई बाध्यतावश ग्रहण गर्ने स्थिति अहिले पनि कायम छ ।

उसोभए मन्त्रीहरुले मन्त्रालयभित्रै खादा र माला लगाउनुपरेको घटना बाध्यतावश हो ?

जनताले खुशी व्यक्त गर्नका लागि जुन तरिका व्यक्त गर्दै आएका छन्, यही तरिका कायम राख्नुपर्छ भन्ने छैन । निर्वाचनमा जाँदा, विजय प्राप्त गर्दा र त्यसपछि मन्त्री बन्दा साथीहरुले, जनताले, दाजुभाइ दिदीबहिनीहरुले सदभाव राख्ने र खुशी व्यक्त गर्नेकुरा त्यो स्वाभाविकै हो । तर, हामीले तरिका बदल्नुपर्छ । यस प्रकारको खादा, बुकी, मालाजस्तो अनावश्यक खर्च र अनावश्यक तरिकालाई हामीले घटाउनुपर्छ ।

सम्पूर्ण हिसाबले नियन्त्रण गर्न सकिएन भने पनि यसलाई घटाएर सामान्य ढंगले खुशी व्यक्त गर्ने, सदभाव व्यक्त गर्ने, बधाइ व्यक्त गर्नेखालको तरिका नै हामीले अपनाउनुपर्छ ।

मन्त्रीको कार्यकक्ष बाहिर सूचना नै टाँस्दा के हुन्छ ? बधाइ दिन आउनोस्, तर बुकी, माला, खादा प्रशंसापत्र लिएर नआउनोस्….

तपाईले सही कुरा नै भन्नु भो । मलाई पनि मनमा यही लागेको छ ।

अब मन्त्रालयमा तपाईलाई भेट्न आउने आफ्ना शुभेच्छुकलाई अनलाइनखबरमार्फत् यो कुरा भन्न मिल्छ ?

मिल्छ । शुभकामना, बधाइ, शुभकामना व्यक्त गर्न आउने, सुझाव दिन आउने सबै साथीभाइ, दिदीबहिनी इष्टमित्रहरु फूल, माला, खादा, अनावश्यक खर्चिलो भद्दा तरिकाले भन्दा खाली हात आइदिनुहोला ।

म यो अनलाइनखबरमार्फत फेरि पनि अनुरोध गर्न चाहन्छु कि सबै इष्टमित्र, दाजुभाइ दिदीबहिनीहरुले सदभाव व्यक्त गर्न आउँदाखेरि खालीहात आउनका लागि अनुरोध गर्दछु । यो अनुरोध सबैमा पुगोस् भन्ने मेरो आग्रह छ ।

सबै प्रकारका इष्टमित्रहरुले शुभकामना व्यक्त गर्दा परम्परागत तौरतरिका अनुसार गर्नुभएको छ, यो तरिकालाई हामीले सहज बनाइदिऔं । मन्त्रीकहाँ इष्टमित्रहरु शुभकामना दिन खालीहात आउँदाखेरि कतै मन्त्रीले अप्ठ्यारो मान्छ कि भन्ने कुराले पनि उहाँहले माला, खादा, बुकी ल्याउनुभएको होला । हामीले उहाँहरुमा खालीस्हात आउँदा सजिलो हुन्छ भन्ने सन्देश पुर्‍याउनुपर्छ ।

रित्तै आउन अप्ठ्यारो मान्नेखालको हाम्रो चलन छ । यो चलनले पनि अप्ठ्यारो पारेको छ । म अनुरोध गर्छु कि यो खादा, माला, बुकीभन्दा विल्कुल साधारण ढंगले शुभकामना व्यक्त गर्ने कुरालाई हामीले अवलम्वन गर्नुपर्छ । मितव्ययिताको दृष्टिले पनि हाम्रा बधाइ दिने तरिकाहरु भद्दा बन्दै नजाउन् भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ ।

त्यसैले आज उप्रान्त यो मन्त्रालयमा मलाई बधाइ दिन आउने सबै दाजुभाइ दिदीबहिनीहरु कसैले पनि बुकी, माला र खादाको खात बोकेर नआइदिनुहुन अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?