Comments Add Comment

रक्षामन्त्री पोखरेलले भने – फास्ट ट्रयाक तोकिएकै समयमा पूरा हुन्छ

८ चैत, बारा । रक्षामन्त्री ईश्वर पोखरेलले तराई मधेस जोड्ने द्रुत मार्ग तोकिएकै समयमा पूरा हुने बताएका छन् ।

बिहीबार नेपाली सेनाले निर्माण गरिरहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

काठमाडौंबाट तराई जोड्ने फास्ट ट्रयाकको गत जेठ महिनामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए । नेपाली सेनाले ४ वर्षमा पूरा हुने गरी फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको हो ।

निरीक्षणपछि पूर्वपश्चिम राजमार्गसंग जोडिएको जिरोप्वाइन्टमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनामा प्रधानमन्त्रीको चासो रहेकाले पछिल्लो अवस्था र प्रगति बुझ्का लागि आफू आएको बताए ।

द्रुतमार्ग आयोजनाबाट प्रभावित स्थानीयको अवस्थाका बारेमा आफू जानकार रहेको भन्दै मन्त्री पोखरेलले देशको समृद्धिसंग जोडिएको आयोजना निर्माणलाई समस्यामा नपार्न समेत आग्रह गरेका छन् । मन्त्री पोखरेलले दु्रतमार्गसंगै सरकारले अब चीनको तिब्बत जोड्ने बाटो निर्माणलाई पनि अघि बढाउने बताए ।

तराई मधेसका २० जिल्लाका सदरमुकामलाई एकीकृत ढंगले विकास गर्न सरकारले गरेको निर्णय पनि अब कार्यान्वयनमा जाने मन्त्री पोखरेलले बताए ।

कार्यक्रममा स्थानीयले ५० बर्षपछिको अवस्थालाई मध्यनजर गर्दै दु्रतमार्गलाई ६ लेनको बनाउन माग गरे । यसअघि ६ लेनको बनाउने भनिए पनिसेनाले अहिले चार लेनको ट्रयाक खन्ने र सडक निर्माणको काम गरिरहेको छ ।

नेपाली सेनाका उपरथी योगेन्द्रध्वज खाडले ‘एसियन हाईवे प्राइमरी क्लास ए’ अनुसार नेपाली सेनालाई निर्माणको जिम्मा दिएकाले त्यसैअनुसार काम गरिरहेको बताए । उपरथी खाडले नेपाल सरकारले स्विकृति दिए सेनाले ६ लेनको बनाउन सक्ने बताए ।

फास्ट ट्रयाक निरीक्षण गर्न मन्त्री पोखरेलसहित रक्षा मन्त्रालयका सचिव विनोद केसी, वन मन्त्रालयका सचिव युवकध्वज जिसी, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, उपरथी शरद गिरीलगायतको टोली बारा आइपुगेको थियो । उनीहरु नेपाली सेनाको हेलिकप्टरमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment