+
+

मोफसलको फिल्म बजारः दर्शक बाँडिए, फरक धार बिकेन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १६:०२


कुनै पनि फिल्म रिलिज गर्दा निर्माताको मुख्य ध्यान काठमाडौंमै हुन्छ । किनकी काठमाडौंमा हुने व्यापारले नै फिल्मलाई ‘हिट’ वा ‘फ्लप’ बनाउँछ । त्यसो त काठमाडौंबाहिर मोफसलमा पनि थुप्रै हलमा नेपाली फिल्म प्रदर्शन हुन्छन् । तर, तिनीहरुले व्यापारको ठूलो हिस्सा ओगट्न सक्दैनन् । अहिले मोफसलभन्दा काठमाडौमा चलचित्रको सेयर बढी छ । आखिर किन, कम सेयर आइरहेको छ काठमाडौ बाहिरबाट ?

काठमाडौंमा धेरै मल्टिप्लेक्स खुलेका छन्, जहाँ टिकट दर उच्च हुन्छ । मोफसलमा खुलेका मल्टिप्लेक्समा काठमाडौको भन्दा टिकटको मुल्य कम छ । अधिकांश चलचित्र सिंगल हलमा चल्छन् । त्यसैले गर्दा, हल धेरै भए पनि सेयर कम आइरहेको छ ।

काठमाडौ केन्दि्रत चलचित्रको प्रचारप्रसार पछिल्लो केही महिनायता मोफसलमा पनि केन्दि्रत हुन थालेको छ । निर्माताहरु कलाकार बोकेर काठमाडौं बाहिरका विभिन्न शहरमा पुग्न थालेका छन् । मोफसलमा प्रचार नगरे दर्शक नै आउँदैनन् भन्ने सोच निर्मातामा आउन थालेको छ । मोफसलको बजार बढाउन सकेको खण्डमा निर्माताहरुले काठमाडौंमा मात्रै भरपर्नु पर्नेछैन ।

काठमाडौपछि मोफसलका पोखरा, चितवन, हेटौडा, वुटवल, इटहरी, धरान, दमक, विर्तामोड नेपाली चलचित्रका लागि मुख्य बजार हुन् । जहाँबाट निर्माताले राम्रो रकम उठाउन सक्छन् ।

चितवनका रंग पत्रकार रवि अधिकारी, हलको व्यापार स्थिर रहेको बताउँछन् । उनले भने-‘हलले पनि टिकट दर निकै बढाइसकेका छन् । हिजो २ सय रुपैयाँ रहेको हलमा आज ३ सय टिकट पुगिसकेको छ । तर, हलको खर्च पनि बढेको छ । मल्टिप्लेक्स खुलेसँगै स्टाफ खर्च, विजुली खर्च लगायत बढेका छन् ।’

चितवनमा एउटै चलचित्रले दिनमा १५ लाखसम्मको व्यापार गरेको रवि बताउँछन् । तर, खासै प्रचार नभएका, गतिला कलाकार नभएका, कमजोर ब्यानर र निर्देशकले दर्शकको भीड अपेक्षा गर्नु पनि मुर्खता नै हुन्छ ।

हल बढ्दा दर्शक बाँडिए
वितरक तथा हल व्यवसायी प्रदिप कुमार उदय काठमाडौबाहिर नेपाली चलचित्रको व्यापार नघटे पनि दर्शक बाँडिएको बताउँछन् । एउटै शहरमा धेरै हल खुल्दा दर्शक बाँडिएको उनको भनाई छ । उदयले भने-‘दर्शकको संख्या घटेको छैन, बढेको छ । तर, पहिले पहिले एउटा शहरमा एउटा मात्र हल हुँदा दर्शकको भीडभाड बढी देखिन्थ्यो । अहिले, एउटै शहरमा ३-४ वटा हल हुँदा दर्शक बाँडिएका छन् । जसले गर्दा, हलवालाहरुलाई भने घाटा लागिरहेको छ ।’

प्रदिपको भनाइमा एफडी कम्पनीका अध्यक्ष तथा हल व्यवसायी नरेन्द्र महर्जन पनि सहमत छन् । उनले भने-‘राम्रो हाइप भएका चलचित्रमा दर्शक आएका छन् । यो बर्षमात्र ‘म यस्तो गीत गाउँछु, प्रेमगीत २, ए मेरो हजुर २, २ रुपैयाँ, छक्का पन्जा २, फाटेको जुत्ता, कृ, कान्छी, सत्रु गते’मा दर्शकको उपस्थिती बाक्लो छ ।’

एक बर्षमै यति धेरै चलचित्र चल्नु भनेको राम्रो भएको उनले बताए । काठमाढौ बाहिर चलचित्र चल्नका लागि गीतसंगीत, कलाकार, चलचित्रको प्रचार र ब्यानरले फरक पार्ने प्रदिप र नरेन्द्रको भनाई छ । तर, काठमाडौ बाहिर फरक धारका चलचित्र नचल्ने प्रदिपले बताए । उनले भने-‘धेरै, सिंगल हल भएकाले एक्सन, लभस्टोरी चलचित्रमा दर्शक बढी आउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?