Comments Add Comment

नेपालमा वार्षिक १६ अर्बको पोल्ट्रीजन्य कच्चा पदार्थ आयात

१३ चैत, चितवन । अण्डा र कुखुराको मासुमा आत्मनिर्भरको प्रयासमा लागिरहेको पोल्ट्री क्षेत्रले वार्षिक १६ अर्ब बराबरको पोल्ट्रीजन्य कच्चा पदार्थ आयात गर्दै आएको छ । त्यसमा पनि कुखुरालाई खुवाउने दानाको खपतका लागि ठूलो रकम भारत र तेस्रो देशमा गैरहेको छ ।

चितवनको पञ्चरत्न फिड्सका प्रमुख एवम् पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईका अनुसार गएको आर्थिक वर्षमा नेपालका दाना उद्योगले चार लाख ८३ हजार पाँच सय नौ मेट्रिक टन पहेंलो मकै आयात भएको छ । यसैगरी १ लाख ८१ हजार आठ सय ८२ मेट्रिक टन भटमासको पीना, २१ हजार दुई सय ७५ मेट्रिक टन तिलको पीना र २६ हजार ७१ मेट्रिक  टन सूर्यमुखीको पीना पनि भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ ।

पोल्ट्री व्यवसायका लागि आवश्यक दानामा प्रयोग हुने मुख्य कच्चा पदार्थ पहेंलो मकै, भटमासको पीना, तिलको पीना, सूर्यमुखीको पीना र फिड एडिटिभका लागि ठूलो परीमाणको रकम बिदेश गैरहेको छ । नेपालमा उत्पादित मकैले कुल मागको ३० प्रतिशत धाने पनि बाँकी ७० प्रतिशत मकै र भटमासको पीना र अन्य कच्चा पदार्थ शतप्रतिशत विदेशबाट नै आयात गर्नुपर्ने अवस्था रहेको डा. भट्टराईले जानकारी दिए ।

विगतमा सरकारले ल्याएको मकैको परनिर्भरता हटाउन भन्दै ल्याएको मिसन मेज कार्यक्रम सकिँदा उत्पादनमा कुनै वृद्धि भएन । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै ६ अर्ब ९५ करोड १२ लाखको मकै आयात गरिएको तथ्यांक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको छ ।

नेपालमा ८ लाख ७१ हजार हेक्टर क्षेत्रमा मकै लगाउने गरिएको छ । मकैको उत्पादकत्व प्रतिहेक्टर २ हजार ५ सय १ किलो छ । वार्षिक २१ लाख टन मकै उत्पादन हुँदै आएको राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरको तथ्यांकमा उल्लेख छ ।

‘देशमा मकैको प्रशस्त उत्पादन भएको भए कसले बिदेशबाट मकै भटमास किनेर ल्याउँथ्यो र ?’ पोल्ट्री विज्ञ डा. भट्टराईले भने, ‘सरकारको सहुलियत र सहयोगमा युवाहरुलाई व्यावसायिक मकै तथा भटमासको उत्पादनमा लगाउन सके बजारको कुनै समस्या नै हुँदैन ।’

उनले मकै र भटमासको उत्पादनमा निजी क्षेत्रले पनि सहयोग गर्ने बचन दिए । ‘सयौं युवाहरुले रोजगारी पनि पाउँछन्, बिदेशमा तातो हावा खाँदै कडा परिश्रम पनि गर्न पर्दैन,’ पोल्ट्री विज्ञ डा. भट्टराईले थपे, ‘सरकारसँग साझेदार गर्न हामी पनि तयार छौं ।’

नेपाल दाना उद्योग संघका अनुसार नेपालमा अहिले एक सय चार वटा दाना उद्योग सञ्चालनमा छन् । कुखुरालगायत गाईभैंसी र बंगुरका दाना उत्पादन गर्ने उद्योगहरुसमेत रहेका छन् । पोल्ट्रीको राजधानी मानिएको चितवनमा २९ वटा दाना उद्योग छन् । त्यसमध्ये ८ वटा पेलेट दाना उत्पादन गर्ने उद्योगहरु छन् । नेपालमा दैनिक दुई हजार सात सय मेट्रिक दाना उत्पादन हुन्छ । दैनिक १५ करोड रुपैयाँको हाराहारीमा दानाको कारोबार हुन्छ । दानामा चिनियाँ लगानी र प्राविधिक सहयोग पनि भित्रिन थालेको छ । पोल्ट्री विज्ञ डा. भट्टराईले दानामा स्वदेशी लगानीकर्ता नै सक्षम भएको बताउँछन् ।

पोल्ट्री विज्ञ डा. भट्टराईले तत्कालीन समयमा जारी दाना पदार्थ ऐन, २०३३ र नियमावली, २०४३ समयसापेक्ष नभएकोले त्यसमा परिमार्जन गरी कम लागतमा गुणस्तरीय दाना उत्पादनका लागि प्रोत्साहन गर्ने कानुन आवश्यक रहेको बताए ।

दाना उद्योगको दर्ता, क्षमता वृद्धि, ठाउँसारी जस्ता बिषयमा व्यवसायीहरुले झन्झट व्यहोर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment