Comments Add Comment

गज्जब तीन पात्रः बेपर्वाह, बेसुर तर विन्दास 

एकबारको जुनी कसरी काट्ने ? यसमा सबैको आ-आफ्नै रंग र ढंग हुन्छ । अक्सर हामी समाजले स्थापित गरेको मान्यतालाई शिरोधार्य गर्दै जीवन कटाउँछौं । तर, यस्तो फ्रेमभित्र नअटाउनेहरु पनि हुन्छन्/छन् ।

जीवनलाई कुनै फर्मुलाको जोड-घटाउमा तौलिएर त्यसको योगफल खोज्दैनन्, तिनीहरू । जीवन जस्तो छ, त्यसमै रमाउँछन् । जसरी चल्छ, त्यसरी चलाइदिन्छन् । सकेसम्म रेडिमेड नियम, बन्धन तथा सूत्रबाट उन्मुक्त हुन खोज्छन् ।

जीवन यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ, यसो गर्नुपर्छ, त्यसो गर्नुहुँदैन भनेर घोत्लिँदैनन् । आफ्नो मर्जीलाई सर्वोपरि ठान्छन् । र, मनमौजी, बेपर्वाह, निस्पिmक्री बाँच्छन् ।

कति बेसुर कति मदहोस जिन्दगी

मदहोस । भद्दा, अभद्र । सोलोडोलो ज्यान । तस्वीरमा देखिने माथवरसिंह थापाको जस्तै दाह्री-जुँगा । धोत्रो बोली । गिटारको स्ट्रिङमा औंला खेलाउँदै ‘जब सन्ध्या हुन्छ’ गाउँदा भने स्वरले लय समात्छ । उनलाई पिउनका लागि ‘सन्ध्या’ कुरिरहनु पर्दैन । शुभप्रभातमा पनि ‘चियर्स’ गरिदिन्छन् । किनभने उनी शहरकै नामी पियक्कड हुन् नि त ।

यति भनेपछि ‘उहाँ योगेश्वर अमात्य’ भनिरहनु नपर्ला । उनी जस्तो दुर्लभ पात्र खोजेर सायदै भेटिन्छ । तीन करोडी नेपालमा ‘लोपोन्मुख प्रजाति’का व्यक्ति उनै हुन् ।

किनभने,

सायदै भेटिएला, जो वेपर्वाह मदिरा पिउँदै अन्तर्वार्ता दिन्छन् । कुराकानीको थालनीमा सद्दे उनी अन्तर्वार्ता सकिँदै जाँदा मदमस्त भइसक्छन् ।

सायदै भेटिएला, जो नितान्त व्यक्तिगत कुरा खुल्लमखुल्ला पोख्छन् । एक अन्तर्वार्ताको क्रममा बेलायतमा बस्ने श्रीमतीलाई सम्झदै भनेका थिए, ‘उनी उता तड्पिन्छिन्, म यता हस्तमैथुन गर्छु ।’

सायदै भेटिएला, जो कन्सर्टमा गाएर आफ्नो भाउ तोकदैनन् । देशी-विदेशी स्टेजमा गाएर कति ठाउँमा पारिश्रमिक लिँदैनन् ।

यी दुर्लभ प्राणी कहिले रोयल लुक्समा ठाँटिन्छन्- दौरा, सुरुवाल, कम्मरमा छालाको पेटी, भादगाउँले टोपी, कालो चस्मा लगाएर कानमा फूल सिउरिएर । कहिले क्लासिक फेसन गर्छन्- कालो ह्याट, कालो पाइन्ट, कालो टिसर्ट, कालो कोट, कालो जुत्तामा । कहिले ककटेल फेसन पनि गर्छन्- चुज पाइन्ट, पार्टी सुज, इस्टकोट, मफलर र त्यसमाथि ओभरकोटमा ।

‘लोग्ने मान्छे भएर रुनुहुन्न रे’ गाउने योगेश्वर अमात्याको स्टाइल नै ‘खानदानी’ ।  सिंगल माल्ट पिउँछन् । हीराजडित आभूषण लगाउँछन् । औंलामा घुसारेको औंठी हीराको, कानमा लत्रिएको कुन्डल हीराकै ।

नाडीको घडी उस्तै महंगो । तर, समयप्रति भने बेपर्वाह । पुख्र्यौली शान-सौकतमा राज गरिरहेका उनलाई न जागिरको धपेडी छ, न व्यापारको । दुनियालाई ‘बाल मतलब’ दिँदै उनी आफ्नै मर्जीमा रमाएका छन् ।

कति अराजक कति निराकार जिन्दगी

उनी चुरोट-प्रेमी हुन् । एकपछि अर्को चुरोटको ठूटो ओंठमा ठोस्छन् र बुङबुङ्ती धूवाँ उडाउँछन् । उनको मुखबाट बाहिरिएको धूवाँ वायुमण्डलमा जसरी फैलन्छ, ठ्याक्कै उनको बाँच्ने ढंग पनि त्यस्तै छ । निराकार । आउट अफ फ्रेम !

उनीको रोज्जा ठाउँ हो, मसानघाट । जल्दै गरेको लासबाट मडारिने धूवाँमा बेपत्ता टोलाउँछन् । औंशीको मध्यरात ढुंगे धारामा निर्वस्त्र सर्वांग भिजाउँछन् । चिन्डे टाउको, कलेटी ओंठ, ठिक्कको उचाई-गोलाई । विचित्रको बस्त्रधारी ।

यति चिनारी दिइसकेपछि भनिरहनु पर्दैन्, उनी कुमार नगरकोटी हुन् । किनभने तीन करोड नेपालीमा उनीजस्तै दोस्रो व्यक्ति सायदै फेला पार्न सकिएला ।

कुमार नगरकोटी आफैमा ‘वान पिस’ छन् । अनलाइनखबरसँगको भेटमा उनी भन्थे, ‘बिहान चुरोटको बट्टा च्यापेर निस्कन्छु । कहाँ निस्केको आफैंलाई पत्तो हुन्न । जता मन लाग्छ, उतै हिँडिदिन्छु । यसरी हिँड्दा हिँड्दै कहिले सिनेमाको टिकटघर अघिल्तिर उभिइरहेको हुन्छु, कहिले पाटनको गल्लीमा रल्लिइरहेको हुन्छु ।’

घर पुग्ने, खाने, सुत्ने कुनै कुराको टुंगो हुँदैन । किनभने उनी नाडीमा घडी बाँध्दैनन् । र, घडीको काँटा जस्तै नियन्त्रित/नियमित जीवन घिसार्दैनन् ।

शहरमा उनको परिचय ‘फिक्सन डिजाइनर’को रूपमा छ । उनको लेखकीय खुराक पढिरहँदा लाग्छ, कुमार नगरकोटीको मगजमा कसरी यस्ता कुराहरू घुस्छन् ? औसत मगजमा जे कुरा खेल्दैन, त्यही कुरा उनको मगजमा खेल्छ । स्वादचाहिँ के छ भने, जीवनजस्तै लेखनमा पनि उनी सूत्रबद्ध छैनन् ।

अंगे्रजी शिक्षक बन्न छाडेर फुलटाइमर लेखनमा लागेका हुन् उनी । विवाहित हुन् । एक छोराको पिता पनि । तर, उनको ढंग हेर्दा लाग्दैन, यी कुनै पारिवारिक जीवन बिताउने मान्छे हुन् । उनी भन्छन् पनि, ‘म घर-परिवार, गृहस्थी, स्वास्नी, छोराछोरी भनेर तालुमा हात लगाएर बस्दिन ।’

उनको ढंग हेर्दा अराजकजस्तो पनि लाग्छ । ठाडै भन्छन् ‘किशोर उमेरमा नगरबधुसँग अन्तरंग पल साटेकादेखि भित्री वस्त्र कहिल्यै नलगाएको’ कुरा । यी रस-रंगीला नगरकोटीको रोजाइ भने अनौठो छ । अध्याँरो रात, कालो बिरालो, डार्क कलरको लुगा, कठ्याँगि्रने चिसा दिन, मसानघाट उनलाई मनपर्छ । र, बेपर्वाह जिन्दगी पनि ।

कति स्वप्निल, कति विन्दास जिन्दगी

जरुर साथी म पागल

यस्तै छ, मेरो हाल

लक्ष्मीप्रसाद देवकोटाले कोरेका यी पंक्ति कसैको वास्तविक जीवनसँग मेल खाएमा त्यो संयोग मात्र हुनेछैन । खासगरी केशव स्थापितको जीवनसँग ।

स्थापितको कुरा सुनेपछि औसत मानिस भ्रमित हुनसक्छन्, ‘उनी उडन्ते हुन् कि स्वप्न द्रष्टा ?’

‘स्वप्न द्रष्टा’ हुन् भनौं भने उनको कुरा पत्याइनसक्नुको छ । ‘उडन्ते’ भनौं भने काठमाडौं महानरगरका मेयर पड्काइसकेका हर्ताकर्ता व्यक्ति । फेरि उनको कुरा सुनिरहँदा यसरी मन्त्रमुग्ध भइन्छ, मानौं उनी सम्मोहन विधिका ज्ञाता हुन् ।

युट्युबमा हेरौं, उनका असंख्य भिडियो छन् । ती भिडियोमा उनले आफ्नो व्यक्तिगत कुरा गरेका छैनन् । कुनै राजनीतिक भाषण गरेका छैनन् । कसैलाई उपदेश दिएका छैन । कसैलाई गाली गरेका छैनन् । विकास योजनाका आश्चर्यलाग्दा कुरा गरेका छन् ।

काठमाडौं महानगरलाई कसरी ‘जुरिच शहर’ बनाउने भनेर सोधियो भने, उनले उदाहरण सहित लम्बेतान व्याख्या गरिदिन सक्छन् । काठमाडौंको माटो सुँघेर हुर्किएका उनलाई यो शहरभित्र कहाँ कस्तो जग्गा छ, त्यसलाई कसरी विकास गर्न सकिन्छ, त्यसरी विकास गरियो भने कस्तो फाइदा पुग्छ भनेर तथ्यसहित योजना सुनाउन सक्छन् ।

स्थापितको मगजमा कहिले तन्नेरीका लागि मनोरम ‘डेटिङ स्पट’को खाका बनिरहेको हुन्छ भने,  कहिले महानगरको खोला किनारै-किनार केवल बस चलाउने परिकल्पना मडारिइरहेको हुन्छ ।

यस्तो लाग्छ, उनको दिमागमा काठमाडौंको विकासभन्दा अरू केही घुसेको छैन । आफ्नै जीवनसँग पनि उनलाई बाल मतलब ।

उनी आफूलाई ‘जोगी मान्छे’ भन्छन् । ‘सिकर्मीको छोरो’ भन्छन् । र, भन्छन्, ‘म अरूले देखेको काठको ठुटोलाई मूर्ति देख्छु । बगरका ढुंगा र पहराको चट्टानलाई रत्न देख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment