Comments Add Comment

मोदीले नेपाललाई महत्वपूर्ण सहयोग घोषणा गर्न सक्छन्ः कोशियारी

भोलिदेखि यसरी हुँदैछ केपी ओलीको भारत भ्रमण

फाइल फोटो

२२ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान पौने एघार बजे इन्दिरा गान्धी विमानस्थलमा उत्रिएलगत्तै उनको व्यस्त कार्यतालिका सुरु हुने भएको छ ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा कसले स्वागत गर्ने भन्ने भारतीय पक्षले जानकारी दिएको छैन ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसहित मन्त्रीहरूलाई राष्ट्रपति भवनमै आतिथ्यको व्यवस्था गरिएको छ । टोलीका अरु सदस्यहरु ताजमानसिंह होटलमा रहनेछन् ।

विमानस्थलमा ओर्लिएकै दिन शुक्रबार नै ताज होटेलमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका उद्योगी व्यवसायीहरुसँग अन्तरक्रियामा सहभागिता जनाउनेछन् ।

शुक्रबार दिउँसो नेपाली दूतावासमा नेपाली समुदायसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्नेछन् । नेपालका हरेक प्रधानमन्त्री दिल्ली आउँदा यहाँका प्रवासी नेपालीहरुले प्रधानमन्त्रीलाई भेट्ने र ज्ञापनपत्र बुझाउने प्रचलन छ ।

दूताबासको अन्तरक्रियापछि शुक्रबार साँझ नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गर्ने रिसेप्सनमा प्रधानमन्त्रीको टोली सहभागी हुने कार्यक्रम छ ।

भ्रमणको दोस्रो दिन शनिबार दिनभरि राजनीतिक भेटवार्ता हुने दूतावासले जनाएको छ । बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरपछि महात्मा गान्धी समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्न जाने प्रधानमन्त्री ओलीको कार्यसूची छ ।

सोही दिन प्रधानमन्त्री ओलीसँग भारतका विभिन्न राजनीतिक दलका नेताहरुले भेटवार्ता गर्नेछन् ।

शनिबार अपरान्ह हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुने र हस्ताक्षर हुने दूताबासका अधिकारीहरुले जानकारी दिए ।

केपी ओली भारतका विशिष्ट पाहुना हुन् र फरक परिस्थितिमा भ्रमण भैरहेकाले महत्वपूर्ण सहयोग घोषणा मोदीले गर्न सक्ने भाजपा उपाध्यक्ष तथा सांसद भगतसिंह कोशियारीले अनलाइनखबरलाई बताए ।

यद्यपि नेपालका सरकारी अधिकारीहरुले यो भ्रमण सदभाव भ्रमणमात्र भएकाले नयाँ सम्झौताहरु नहुने बताउँदै आएका छन् ।

अघिल्लोपटक केपी ओलीको भ्रमणका बेला भारतले नेपालको संविधानलाई स्वागत गर्न नमानेपछि संयुक्त वक्तव्यसमेत जारी भएको थिएन । यसपालि भने संयुक्त वक्तव्य आउन सक्ने अनुमान दूताबासका अधिकारीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment