Comments Add Comment

मन्थली-रामेछाप सडकः काम नसिकिदै कालोपत्रे भत्कियो

२३ चैत, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडकको काम पूरा नहुँदै कालोपत्रे उक्किएको छ ।

कामनै सम्पन्न नभइ सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयता माथि प्रश्न उठेको छ ।

मन्थलीदेखि रामेछापसम्मको १७ किलोमिटर लामो सडकको कालोपत्रेको काम सन् २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको थियो ।

एक वर्ष ढिलो गरी हालै काम पूरा भएको सो सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माणकार्य पूरा गर्नेगरी सो कम्पनीले काम जिम्मा लिएको हो । सडकको नाली बनाउने तथा पाइप राख्ने, कालोपत्रे गर्ने र अन्य काम पूरा भएको छ ।

काम गुणस्तरीय भएन

सडकको काम पूरा गरिसकेको निर्माण कम्पनीले गरेको काम गुणस्तरीय नभएको स्थानीय उपभोक्ताले सुरु देखिनै गुनासो गर्दै आएका थिए ।

सडक निर्माणको क्रममा लगाइएको पर्खाल तथा नालीमा सिमेन्टको मात्रा कम प्रयोग भएको तथा पर्याप्त पानी नहाल्दा पर्खाल र नाला कमजोर भएको भन्दै स्थानीयले पहिलादेखि नै गुनासो गर्दै आएकोमा अहिले पिचको काम सकिनासाथ कालोपत्रे उक्किएपछि काम गुणस्तरीय नभएको प्रमाणित भएको छ ।

सिमेन्ट वालमा क्युरिङ नगर्दा नाली ठाउँ ठाउँमा भत्किएको र पर्खाल बालुवाको जस्तो भएको सडकको पिच समेत गुन्दि्र बेरेझै बेरिएर उठेको छ ।

सडकको रामेछाप बजारको भागमा बिचबाटै सडकको कालोपत्रे उक्किएको छ । ‘सडक निर्माणको काम पुरा नहुँदै पिच उक्किनु आश्चर्यको विषय हो’, गैसस महासंघका पूर्वअध्यक्ष वीरेन्द्र श्रेष्ठले भने । उनले यस विषयमा छानविन गरी आवश्यक कारबाही गर्नु पर्ने बताए ।

ठेकेदारको लापरवाहीले गर्दा सडक बनिनसक्दै भत्किदा पनि यस विषयमा भने सरोकारवाला निकाय गम्भीर देखिएन ।

यो सडक हेर्ने सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख राकेश महर्जन कालोपत्रे भत्किएको बारेमा आफूलाई थाहा भएको भए पनि त्यो सामान्य भएको बताउँछन् ।

उनले सडक पिच गर्दा प्रयोग गरिने सामान कम भएर नभइ बढी भएर सडक भत्किएको बताउँछन् ।

उनले भने,’सो सडकमा कालोपत्रे गर्दा विटुमिन बढी हालिएकोले यस्तो भएको हो । कालोपत्रे गर्दा चिसो मौशममा गरिएको हुँदा बढी विटुमिन प्रयोग भयो । अहिले गर्मिमा विटुमिन पग्लिएर सडक भत्किएको हो । ‘

उनले अझै सो सडकका विभिन्न मोडहरुमा सडक यसैगरि भत्कन सक्ने बताए । ‘विगि्रएको ठाउँमा निर्माण कम्पनीलेनै मर्मत गर्छ, यसमा आत्तिनु पर्ने कुरा छैन’, उनले भने ।

सरोकार समिति वेपत्ता

सडक निर्माणको क्रममा उपभोक्ताको तर्फबाट निर्माण कार्यको गुणस्तरीयता अनुगमन गर्न प्रभावित क्षेत्रको आम भेलाले सरोकार समिति पनि बनाएको थियो । तर, त्यो समिति नाममा मात्र सिमित रहृयो ।

समितिले सुरुदेखिनै गुणस्तरीय काम नहुँदा पनि कतै आवाज उठाएको पाइएन । उसले निर्माण कार्यको निगरानी गर्नुपर्नेमा त्यसमा कुनै चासो दिएको छैन । समितिकको एक पटक पनि बैठक नबसेको समितिका सदस्यहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment