+
+

पोखरामा कवि विनोदविक्रम : तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २४ गते १५:२१

फुक्काफाल हिँडिरहेछन् चोरहरू
खुलेआम घुमिरहेछन् हत्याराहरू
पुलिसचौकीकै छायामुन्तिर निस्फिक्री  चुरोट फुकिरहेछन् लुटेराहरू
निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू
हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू
अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू
र, यता
तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ

पोखरामा झरी पर्दै थियो । बिहानैदेखि परेको झरी छल्दै कविता पारखी भने पोखरा थिएटरसम्म कविता सुन्न आइपुगे । कवि विनोदविक्रम केसीले ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ कविता वाचन थाल्दा कविताप्रेमी भने झरी बिर्सेर केसीका कविता निगरानी गर्दै थिए ।

विनोदका ताता कविताको रुझानले पोखरेलीका रौं ठाडा भए । समसामयिक विषयमाथि खरो उत्रने विनोदका कविता हरफले शनिबार थिएटरको गन्धर्व नाटकघरमा गर्मी पैदा गर्‍यो ।

पठन संस्कृतिको विकास गर्न खुलेको र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले यसपटक फरक स्वादको कार्यक्रम पस्केको थियो । वर्तमान समयचेतका अब्बल कवि विनोदविक्रमलाई र्‍यान्डमले एकल कविता वाचनमा उभ्याएको हो ।

पहिलो पटक पोखरेली मञ्चमा उभिएका विनोदले कविताको फरक स्वाद चखाए । झन्डै दर्जन कविता वाचन गरेका विनोदले रचना गर्भसँगै कविता पाठ गर्दा कार्यक्रम सकिएको पत्तै भएन ।

तिमीहरूलाई स्वास्नी, र
मलाई वेश्या बनाउने
सिस्टम एउटै हो
संसार एउटै हो
शास्त्रहरू उनै हुन्
जैरी हो,
हामी यसभन्दा धेरै लायक थियौँ

कवि विनोदविक्रमले भोका, निरिह र भूइँमान्छेलाई मात्रै कवितामा पस्केनन् ‘जन्ड ब्यस्याको बक्तव्य’ पनि सुनाए । उनका हरेक कविताले देशको राज्य व्यवस्थामाथि धाबा बोले । सामाजिक विसंगति र सत्ताप्रति कटाक्ष गरे ।

गोल्डमेडल, नेपाल सानै छ देवकोटाजी, ओ घाम नअस्ताउने साम्राज्य, भूमण्डलीकरण, आज शिक्षकको क्लास लिन्छ विद्यार्थी निमुखा मुमताजहरु लगायत कविताले सामाजका ऐना देखाए र कविताप्रति गम्भीर बनाए ।

पहिरो कवितामार्फत दैवी प्रकोपका बेला मानवीय धर्म बिर्सेर गरिने संवेदनाहीन प्रकृतिलाई उनले कडा ब्यङ्य गरे । उज्ज्वल प्रसाई, कल्पना चिलुवाल र उपेन्द्र पौडेलले क्रमश हत्याराको डायरी, निकाल तेरो पशुपति नाथलाई बाहिर र चुम्बन कविता पाठ गरेर सघाए । अप्ठेरो मान्छे कविता पाठ गर्दै वाचनको बिट मारेका विनादले पोखरेलीको भने सजिलै मन जिते ।

सजिलै मलाई केही चाहिँदैन
एक दानो अनाज र एक घुट्को पानी चाहिँदैन
जून चाहिँदैन, फूल चाहिँदैन
सजिलै त मलाई कसैको प्रेम पनि चाहिँदैन

कवि विनोदका कवितामाथि टिप्पणी गरे, समीक्षक गुरुङ सुशान्तले । उनले कवितामा विषय छनोट, दृष्टिकोण र प्रस्तुतिले कवि धारणा थाहा हुने बताए । ती तिनै कुरामा विनोद अब्बर रहेको गुरुङको भनाइ थियो ।

पार्टीभन्दा पनि विचारमा विश्वास गर्ने कवि विनोद मुखर पछिल्लो समयको सेलिब्रेटी कवि भएको उनले बताए । परातन शैली र भूपी शेरचन, विमल निभा लगायतका कविबाट थिचिने संम्भावनाबाट मुक्त कविताका रुपमा विनोदविक्रमलाई गुरुङले चिनाए । कवि संगीतस्रोताले विनोदको ‘छोरी लाइदे अलाराम’ गीत गाउँदै कार्यक्रम सकिएको जानकारी लगाए ।

अर्को महिना ध्रुवसत्य परियारको कैरनमाथि मिरा ढकालले चर्चा गर्ने र्‍यान्डम रिडर्सले जानकारी दियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?