Comments Add Comment

जुमडाँडाको कथा: सामुदायिक वनले बदल्यो जीवन


१ वैशाख, तनहुँ । बैदेशिक रोजगारीका लागि ८ वर्ष कतार बसेर फर्किएका बन्दीपुर ४ जुमडाँडाका तिलकबहादुर आलेमगरले यतिबेला घरमा नै बंगुरपालन व्यवसाय सुरु गरेका छन् । अर्काको देशमा कति बस्ने आफ्नै गाउँघरमा नै गएर केही गरौं भन्ने सोच आएपछि उनी स्वदेश फर्किए । घरमा आएर उनले बंगुर पाल्ने निधो गरे । हातमा प्रर्याप्त रकम नभएकाले खोर निर्माण आफैले गरे बंगुरका पाठा खरिदका लागि जुमडाँडा झप्री सामुदायिक बनले खडा गरेको घुम्ती कोष, हरीयो वन र जीवकोपार्जन कोष कार्यक्रमले उनलाई सहयोग गरेको छ ।

तिलक जस्तैं जुमडाँडाका १२ जनाले अहिले बंगुर पालन गरेका छन् । पाँच हजारमा पाठा किनेर ल्याएर ८ महिनामा १ सय किलोसम्म बनाउन सकिने र मुनाफा पनि हुने भएपछि स्थानीयहरु यसतर्फ आर्कषित बन्दैं गएका छन् ।

तिलकले बंगुर पालन सम्वन्धी ५ दिनको तालिम पनि लिएर आए । प्रतिकिलो बंगुरको मासु ३८० रुपैयाँ पर्दछ । आम्दानी हुन थालेपछि सामुदायिक बनले खडा गरेको घुम्ती कोषबाट लिएको रकम फिर्ता गर्ने गरेका छन् उनीहरुले ।

तिलकले जस्तैं सुकमाया थापाले पनि घर नजिकै खोर बनाएर बंगुर पालेकी छिन् । उनका श्रीमन बैंदेशिक रोजगारीका लागि विदेश छन् । ३ वटा बंगुर पालेर बेचिसकेको बताउने सुकमायाले खर्च कटाएर ४६ हजार बचाइन् । ‘श्रीमानले मात्रैं कमाएकोले घर चलाउनै मुस्किल भयो, त्यसैंले गाउँमा बसेरै भएपनि केही गरौं भन्ने लाग्यो र समूहमा मिलेर सुरु गर्‍यौं’ सुकमायाले भनिन्, ‘यसले जीवीकोपार्जनमा राम्रो गरेको छ, छोराछोरी पढाउन पुगेको छ ।’

बंगुरका माउ पाल्ने योजना रहेको सुकमायाले सुनाइन् । गाउँमा बंगुर पालेपनि भेटेनरी प्राविधिकहरुको अभाव झेल्नुपरेको गुनासो तिलक र सुकमायाको छ ।

धुवाँ चुल्होबाट उन्मुक्ति

बन्दीपूर जुमडाँडाका १०६ घर मध्ये ७३ वटा घरमा सुधारीएको चूल्हो निर्माण गरीएको छ । हरीयो वन नेपाल र सामुदायिक वनको अभिभावकिय भूमिकामा सुधारीएको चूल्हो निर्माण गरेपछि गाउँमा खुसी छाएको छ । दाउराको वचत भएको छ, धुँवाबाट पीडित बन्नुपरेको छैन, बन्दीपुर ४ की ६३ बषिर्या रत्नकुमारी घर्तीले भनिन्, ‘पहिला एक भारी दाउराले २ छाक हुन्थ्यो भने, अहिले ४ छाक पाँक्छ ।’

धुँवारहित सुधारिएको चुल्हो निर्माणपछि आँखाबाट आशु आउने, खोकी र काँसो लाग्ने समस्याबाट मुक्ति पाएको घर्तीले बताइन् । रत्नको जस्तै सुधारिएको चूल्होले खुसी ल्याएको छ, ३४ बषिर्या देवी घर्तीको पनि । ‘पहिला ढुम्रोले आगो फुक्दा फुक्दा प्राण नै खुस्कीएला जस्तो हुन्थ्यो, दाउरा पनि धेरै लाग्ने, बाहिर बाहिर जाने, धुँवापनि उस्तैं हुने, देवी भन्छिन्, ‘अहिले त घर पनि सफा भएको छ, केटाकेटीलाई समयमा नै पकाएर खुवाउन पाइएको छ, बेलैमा काम सकिन्छ ।’

गोबरग्यासले फेरिएको जूनी

जुमडाँडामा केही वर्षअघिसम्म जताततै खुल्ला दिसा देख्न पाइन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । स्थानीय महिला रत्नकुमारी घर्ती नजिकको जंगल देखाउँदै विगतका दिन सम्झदैं भन्छिन्, ‘विहानै उठेर जंगलमा गएर दिसा गरिन्थ्यो, बषर्ामा जंगल र पानीमा, हिउँमा बारीमा ।’

अहिले गोबरग्याँस बनाएपछि सफा शौचालय पनि गाउँघरमा सँगै निर्माण गरिएको छ । ३८ घर परिवारले गोबरग्यास प्लान्ट निर्माण गरेका छन् भने, अन्य बनाउने क्रममा छन् । खाना पकाउन गोबरग्यासले सहयोग भएको बताउँछिन् स्थानीय सुकमाया थापा । ‘चाँडै खाना पाक्छ, घरबारीको काम गर्न पनि भ्याइएको छ, पशु चौपायाको रेखदेख गर्न पनि समय मिलेको छ,’ थापाले भनिन्, ‘सामुदायिक वन, हरीयो बन र बायो ग्यास कम्पनीले सहयोग गरेका छन् ।’

जुमडाँडा झप्री सामुदायिक वनको अध्यक्षसमेत रहेकी लक्ष्मी रानाले घरघरमा गोवर ग्यास र सुधारिएको चूल्होले गर्दा गाउँका महिलाहरुको जूनी फेरिएको बताउँछिन् । सामुदायिक बनले यस्ता काममा सहयोग गरेकोमा उनी खुसी हुँदै भन्छिन्, ‘आजको यो अवस्था आउला भन्ने सोचिएको थिएन ।’

निर्धक्क बोल्छन् महिला

जुमडाँडा झप्री सामुदायिक वनको १३ सदस्यीय कार्यसमितिमा ११ जना त महिला मात्रै छन् । पहिले गाउँमा कोही नयाँ मान्छे आउँदा बोल्न डराउने महिलाहरु अहिले आफैले विषयको ‘डिल’ गर्दछन् ।

हरीयो वन, जिल्ला वन कार्यालय र सामुदायिक बनले स्थानीय महिलाहरुको क्षमता वृद्धि गर्दै आयआर्जनमा जोड दिने कार्यक्रम ल्याएपछि महिलाहरु सक्षम बन्न थालेका हुन् । ४७ हजार हेक्टर क्षेत्रफलमा फैलिएको वन संरक्षणमा महिलाहरुले नै अगुवाई गर्न थालेका छन् । वन संरक्षणमा पुरुषभन्दा महिलाहरु बढी अग्रसर छन् ।

अहिले गाउँका महिलाहरुमा चेतनाको वृद्धि भएको, समक्ष र उद्यमशिल बन्दै गएकोमा अध्यक्ष लक्ष्मी राना खुसी छन् । मुख छ बोल्न सकिदैन, खुट्टा छ उभिने आँट छैन, मान्छेको जुनी पाएपनि यस्तो अवस्था थियो, विगतका दिन सम्झदै अध्यक्ष लक्ष्मी भन्छिन्, ‘अहिले त हामी घरब्यवहार आफैं चलाउँछौं, सामाजिक काममा नेतृत्व लिन्छौं ।’

पुरुषसरह होस्टेममा हैंसे गर्न सक्ने भएको बताउँछिन् अर्की महिला लक्ष्मीमाया जर्घामगर ।

महिलाहरुले समूहमा मिलेर अचार बनाउने, दुना टपरी बनाएर बेच्ने काम पनि गरेका छन् । यस्ता कामले एकातिर आत्मीयता बढाएको छ भने अर्कोतिर क्षमता अभिवृद्धि गराएको छ, सामुदायिक बनको कोषाध्यक्षसमेत रहेकी सुकमाया थापा भन्छिन्, ‘परम्परागत रुपले भन्दा फरक ढंगले सोच्ने भएका छौं ।’

महिलाहरुलाई अग्रसर बनाएर अघि बढाउने आफुले विगतदेखि नै सहयोग गर्दै नेतृत्व हस्तान्तरण महिलाहरूमा नै गराएको निवर्तमान अध्यक्ष डिलबहादुर गुरुङले बताए ।

‘गाउँमा युवाहरु पनि खास छैनन्, महिलाहरु नै अगाडि नसरी केही नहुने अवस्था छ, पहिलाको हेरी त अहिले पुरुषभन्दा बढी चलाख छन् महिला,’ निवर्तमान अध्यक्ष गुरुङले भने, ‘अवसर पाए महिलाले पनि काम गर्न सक्छन् भन्ने प्रमाणित भयो, हरीयो वन, जिल्ला वनका विभिन्न कार्यक्रममा ऊर्जा मिल्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment