Comments Add Comment

बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रमा लक्ष्यभन्दा बढी पाठापाठी तयार

२, बैशाख, तनहुँ । तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी उन्नत जातका बाख्राका पाठापाठी तयार गरेको छ ।

केन्द्रले चालु आर्थिक वर्षमा १६५ बटा विभिन्न प्रजातिका बाख्राका पाठापाठी तयार गर्ने लक्ष्य निर्धारण गरेको भएपनि अहिलेसम्म १८२ भन्दा बढी पाठापाठी केन्द्रमा तयार भैसकेका छन् ।

अझै बाँकी ३ महिनामा १५ वटा जति थपिने अपेक्षा केन्द्रले लिएको छ । फागुन र साउन महिनामा बढी मात्रामा बाख्रा ब्याउने गर्दछन् ।

किसानलाई शुद्ध बोर जाते (सय प्रतिशत) पाठाको प्रति केजी एक हजार रुपैयाँमा ब्याड बोका बेच्ने गरीएको छ ।

केन्द्रमा हाल १६१ वटा बाख्राका माउहरु छन् । जसमा शुद्ध बोर ४७ वटा , ७५ प्रतिशतवाला १० वटा, ५० प्रतिशत खाले ३२ वटा छन् ।

खरी जातका ३१ वटा माउ छन् । जमुनापारी ५० प्रतिशत भएको ९ वटा, शुद्ध सानन् १४ वटा छन् । बारबरी, किको र नोवयन जातका माउपनि छन् ।

केन्द्रले ५ वटा बाहृय अनुसन्धान केन्द्र पनि सञ्चालन गर्दै आएको छ ।

तनहुँको बरादी र बरभज्याङ, गोरखाको बक्राङ र नवलपुरको नयाँ बेलहनीमा केन्द्र सञ्चालन गरी ती केन्द्रबाट उन्नत जातका बोकाहरु किसानहरुका बाख्राहरुमा क्रस गराउने र शुद्ध जातका माउ बाख्राहरुको पहिचान गरी आवश्यक सहयोग किसानलाई पुर्‍याउने कार्य भैरहेको विज्ञ डा. सगुण मल्लले जानकारी दिए ।

उनका अनुसार किसानहरुलाई खोर निर्माण, आहार व्यवस्थापन र विभिन्न रोगहरु लाग्दा आवश्यक उपचार एवम् अनुसन्धानका काम पनि यि केन्द्रबाट हुँदै आएका छन् ।

बन्दीपुरको अनुसन्धन केन्द्रमा ३ जना बैज्ञानिक, प्राविधिक अधिकृत ३ जना र प्राविधिक सहायक एक जना छन् ।

आयातित उन्नत जातका बाख्राहरुसँग नेपाली स्थानीय जातका बाख्रासँग क्रस बि्रडिङ गराउने र नेपालको हावापानी सुहाउँदो जात निकाल्ने काम केन्द्रमा हुँदै आएको डा. मल्लले जानकारी दिए ।

बोर जातको बाख्रा मासुको लागि, सानन जातको बाख्रा दुधको लागि पाल्ने गरिन्छ ।

केन्द्रले चालु आर्थिक बर्षमा ९ वटा प्रोजेक्ट चलाइरहेको छ । ब्रीडको डेभलपमेन्ट र मूल्याङ्कन, आहारा व्यवस्थापन, चरन क्षेत्र, खोरको निर्माण जस्ता बिषयमा पनि किसानहरुलाई तालिम समेत दिइन्छ ।

हरेक दिन पाँचदेखी सात टोलीसम्म केन्द्रमा अध्ययन र अवलोकनका लागि आउने गरेका छन् । नेपालमा चार जातका स्थानीय बाख्रा प्रजाति पाइन्छ ।

उच्च हिमाली क्षेत्रमा च्याङग्रा, मध्य हिमाल क्षेत्रमा सिन्हाल (मनाङ मुस्ताङ) पहाडी र मध्य पहाडी क्षेत्रमा खरी र तराई क्षेत्रमा तराई बाख्रा पाइने बाख्रा विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment