Comments Add Comment

मातातीर्थ औंसीमा टेलिकमको अफरै अफर

२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले मातातीर्थ औंसी र एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी सोमबारदेखि नयाँ प्याकेज लागू गरेको छ ।  टेलिकमले उपभोक्ताको सुविधाको लागि ‘ह्याप्पी सोसल मिडिया प्याक’ र ‘विद्यार्थी अफर’ उपलब्ध गराएको हाे।

ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । अफर आगामी २०७५ बैशाख १८ गते सम्म लिन सकिने छ ।

ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ ।

ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ ।

टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराएको छ । सो अफर पनि सोमबारबाटै उपलब्ध गराइएको छ ।

विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकममध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

विद्यार्थीहरुले ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत पाउने छन् । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।

त्यसैगरी सो अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

अफरअन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ ।

आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ ।

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुलाई विद्यार्थी अफरको सिम उपलब्ध गराइने छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।

त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।

नेपाल टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

विभिन्न प्याकेज खरिद गर्न तथा जानकारी लिनका लागि *1415# डायल गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment