+
+

सांसदलाई मुद्दा लागे स्वतः निलम्बित, निर्वाचनबाट पदपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ४ गते ११:१८


४ वैशाख, काठमाडौं । फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गर्ने तयारी गरिएको छ । यस्तै कुनै सांसद पदमुक्त भएमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था समेत गर्ने तयारी छ ।

यसअघि नैतिक पतन देखिने मुद्दाको हकमा मात्रै स्वतः निलम्बन हुने व्यवस्था थियो भने संसद पदपूर्ति हुने व्यवस्था थिएन ।

हाल प्रतिनिधिसभा नियमावली मस्यौदा निर्माणको काम जारी छ । समितिका संयोजक कृष्णभक्त पोखरेलले नयाँ व्यवस्थासहित नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

‘फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा स्वतः पदमुक्त हुने व्यवस्था गर्न लागेका छौं,’ रिपोर्टस क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पोखरेलले भने ।

विगतमा मुद्दा लागिसकेर जेलमै रहे पनि सांसद पद रहिरहने व्यवस्था भएपनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको उनले बताए ।

खासगरी माओवादीका धेरै नेताहरुलाई जनयुद्धकालका थुप्रै फौजदारी मुद्दा लागेका छन् । अबदेखि त्यस्ता मुद्दा लागेमा सांसद पद निलम्बन हुने छ । तर, अदालतले निर्दोष ठहर गरेमा भने निलम्बन फुकुवा हुनेछ ।

संयोजक पोखरेलका अनुसार कुनै सांसद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर पदपूर्ति गर्ने व्यवस्था पनि नियमावलीले गर्ने जानकारी दिए ।

प्रधानमन्त्री र सांसदको सवालजवाफ महिनाको दुईपटक

संयोजक पोखरेलले महिनाको दुईपटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको जानकारी पनि दिए ।

‘महिनाको दुईपटक सीधा प्रश्न प्रधानमन्त्रीसँग गर्ने व्यवस्था गर्न लागिएको छ । जवाफदेहिता बढाउनका लागि प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिनुपर्छ,’ साक्षात्कारमा पोखरेलले भने ।

विगतमा सांसदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने परिपाटी थियो । प्रधानमन्त्रीले मात्र नभै सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको उनले जानकारी दिए ।

त्यसैगरी संसदमा के विषयमा बोल्ने भन्ने कुरा पनि एक दिन अगाडि नै सांसदलाई जानकारी दिने व्यवस्था गर्न लागिएको उनले बताए ।

१० संसदीय समिति बनाउन प्रस्ताव

पोखरेलले १० वटा संसदीय समिति बनाउने प्रस्ताव गर्न लागिएको जानकारी पनि दिए । विगतमा धेरै समिति बनाइए पनि अब घटाएर १० वटा मात्रै कायम गर्ने उनको भनाइ छ । यस विषयमा प्रतिपक्ष दलको समेत सहमति लिइने उनले बताए ।

अब बस्ने संसद बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरिने पोखरेलले जानकारी दिए । प्रतिवेदन संसदमा पेश गर्नुअघि सबै दलका सचेतकसँग छलफल गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?