+
+

दातृ निकायको थैली खुल्दा बालसाहित्यमा करोडौंको ब्यापार

यी हुन् वर्षका चर्चित १२ बालसाहित्यकार

अश्विनी कोइराला अश्विनी कोइराला
२०७५ वैशाख ८ गते १०:००


कुनैबेला बाल साहित्य लेख्छु भन्दा राष्ट्रिय समाचार समितिका तत्कालीन पत्रकार प्रमोद प्रधान हास्यका पात्र बनेका थिए । हास्यका पात्र भए पनि उनले बालसाहित्य लेख्न छाडेनन् ।

सानो छँदा आफूलाई पढ्न मन लाग्ने पुस्तक किन्न नपाएको पीडाले उनको मनलाई हुँडलिरहन्थ्यो र उनी बालबालिकाका लाागि कविता रचिरहन्थे । र, आफ्नै खर्चमा बालसाहित्यका पुस्तक प्रकाशन गर्थे ।

हुन पनि आम मानिसमा बालसाहित्य भनेको लेख्न नजान्ने सिकारु लेखकको काम भन्ने ठानिन्छ । तर अहिले बालसाहित्यको बजार यसरी गर्माएको छ, चर्चित लेखकहरु समेत बालसाहित्यतर्फ लम्केका छन् ।

उदाहरण खोज्न कतै जानु पर्दैन । हिजो ‘बालकका लेखक’ भनिने प्रमोद प्रधान आज बालसाहित्यका हस्तीहरुमध्ये एक भएका छन् । नेपालमा प्रकाशित बालसाहित्यको साङ्गोपाङ्गो अनुसन्धान गरेका प्रधानलाई बालसाहित्यले नै ‘बाँच्न सक्ने अवस्था’ मा पुर्‍याएको छ ।

प्रमोदको भन्दा रमाइलो कथा विनयकुमार कसजुको छ । पाल्पाको तानसेनमा प्रधानपञ्चका रुपमा निर्वाचित तर समाजसेवी विनयकुमार कसजु प्रजातन्त्रपछि काठमाडौं आए । काठमाडौंमा उनले प्रेस काउन्सिलको सल्लाहकार भएर काम गरे । त्यसपछि मानवअधिकार आयोग र इन्सेकको सल्लाहकार भए । हाँस्यब्यङ्ग्य र लघुकथाकारको रुपमा प्रशिद्धि कमाए । तर आजभोलि यी सबै पद र प्रतिष्ठा छाडेर उनी बालसाहित्यकारको परिचयमा साँघुरिएका छन् । उनी बालसाहित्यकारलाई तालिम दिन्छन् र वालकथाका पुस्तकहरु सम्पादन गर्छन् । आजभोलि उनको नाम गिनेचुनेका वालसाहित्यकारका रुपमा लिने गरिन्छ ।

त्यति मात्र होइन, कुनै बेला रंगपत्रकारको परिचय बनाएका कृष्णदीप सिग्देल पनि चलचित्रको रंगिन दुनियाबाट हराएका छन् । उनी पनि नेपालका चर्चित बालसाहित्यकारका रुपमा गनिन्छन् । हिजो जुन नायक–नायिकाको अन्तरवार्ता गर्थे, आज तिनै कलाकारका छोराछोरीका उनी प्रिय लेखक भएका छन् । ६० वटा बालपुस्तक प्रकाशन गरिसकेका कृष्णदीपनेपालमा बालसाहित्य लेखेर जीवन चलाउनेथोरै लेखकका रुपमा गनिन्छन् र गर्व गर्छन् ।
नेपालमा बालसाहित्यको अवस्था कसरी परिवर्तन भइरहेको छ भन्ने यी केही उदाहरण हुन् । मुलधारका ‘साहित्यका एडल्ट विद्वानहरु’ नेपाली साहित्यको विकास भएन भनेर कराइरहँदा बालसाहित्यले भने अनौठो फड्को मारेको देखिन्छ ।

नेपाली भाषामा वालसाहित्य लेखिन थालेको थोरै समयमै करिब ३ हजार प्रकारका पुस्तक लेखिसकिएको ‘नेपाली वालवाङ्मय परिचयकोश’ भाग एक र दुईमा उल्लेख छ । अहिले दर्जनौ निजी तथा गैरसरकारी संस्थाले बालसाहित्य प्रकाशन गरिरहेका छन् । बालबालिकालाई रुचि हुने र हेर्दा पल्टाइरहुँ भन्ने खालका पुस्तकहरुको बाढी आएको छ । अहिले दैनिक एउटाका दरले बालपुस्तक छापिरहेको ती प्रकाशन संस्थाहरुले दाबी गरेका छन् । बाल पुस्तकको माग बढ्दै जाँदा एउटै लेखकले वर्षमा २० वटा पुस्तक प्रकाशन गरेको रेकर्ड पनि उनीहरुले राखेका छन् । ती पुस्तक लेखिएका मात्रै छैनन्, निजी तथा सरकारी विद्यालयहरुका पुस्तकालयमा सजिन पनि थालेका छन् ।

‘सबै संस्थाको प्रकाशन हेर्दा वार्षिक करोडौंको कारोबार भएको देखिन्छ । यसले बालसाहित्यको विकासमा अकल्पनीय परिवर्तन ल्याएको छ ।’ बालसाहित्यकारलाई तालिम दिँदै आएका विनयकुमार कसजु भन्छन्, ‘त्यसमध्ये केही व्यक्ति र संस्थाहरु हतारमा कमाइहालौं भन्नेहरु प्नि छन् । जसले गर्दा गुणस्तरहीन सामग्री पनि बजारमा आएका छन् ।’

नेपाली बालपुस्तकको अत्यधिक माग हुन थालेपछि केही संस्थाहरुले वयस्कहरुका लागि पुस्तक प्रकाशन गर्न छाडेर त्यो बजेटलाई बालपुस्तक प्रकाशनमा परिवर्तन गर्न थालेका छन् ।

कसरी भयो यो परिवर्तन ?

हरेक बालवालिका राति सुत्नुअघि आमा–बुवा अथवा हजुरबा–हजुरमाको मुखबाट अनौठा कथा सुन्न रुचाउँछन् । विश्वभरि नै यो प्रचलन छ ।

विदेशतिर सुत्नुअघि बालबालिकालाई अभिभावकले कथा सुनाउनु पर्ने नियम नै बनाइएको हुन्छ । त्यहाँका विद्यालयमा अघिल्लो दिन आफ्ना अभिभावकबाट सुनेका कथा कक्षामा सुनाउनु पर्ने नियमका कारण पनि बालसाहित्य अभिभावकले पनि पढ्नुपर्ने बाध्यता बनाइएको छ ।

यसले बाल्यकालदेखि नै पुस्तक पढ्ने संस्कारको विकास हुँदा भविष्यमा पुस्तक अध्ययन र लेखनको दह्रो जग निर्माण हुने गरेको छ । विदेशमा पुस्तक पढ्ने संस्कार बढ्नु र लेखकले आकर्षक रोयल्टी पाउने कारण यही हो ।

नेपालमा त्यही शैलीलाई संस्थागत गर्न विदेशी दातृ निकायले सहयोग गर्न थालेयता वालसाहित्य लेखन र प्रकाशन ह्वात्तै बढेर गएको हो । हुन त घरघरमा वालवालिकालाई रामायण, महाभारततथा बैदिक कथा सुनाउने चलन नेपालमा नभएको होइन । त्यस्ता कथामा नैतिक शिक्षा, परम्परागत नैतिक एवं धार्मिक शिक्षालाई महत्व दिइन्थ्यो ।

विशेष गरी राति सुत्नुअघि वालवालिकालाई अर्ति बुद्धि दिने प्रचलन थियो । गाउँघरमा आज पनि बालबालिकाहरु घरका सबैभन्दा पाको व्यक्तिसँग यसकिसिमका कथा सुन्न रुचाउँछन् ।

यो परम्परासँग परिचित दातृ निकायले पुराना धार्मिक–सांस्कृति कथा परम्पराभन्दा भिन्न वर्तमान जगत र ज्ञान–विज्ञानका कथाहरु पढ्ने र सुन्ने वातावरण बनाउन गणतन्त्रपछि बालसाहित्यमा लगानी गर्न थालेका छन् ।

पहिले साझा प्रकाशन र रत्न पुस्तक भण्डारले मात्र थोरै सङ्ख्यामा बालसाहित्य प्रकाशन गर्थे । आजभोलि विवेक–शिर्जनशील प्रकाशन, शब्दार्थ प्रकाशन, एडुकेसनल इन्टरप्राइजेज, कथालय जस्ता संस्थाले बार्षिक दर्जनौ कृति प्रकाशन गर्छन् ।

त्यस्तै बीएन, बुक प्यालेस, ऐरावती, स्वदेश प्रकाशन, बुक आर्ट जस्ता संस्थाहरु पनि बालसाहित्य प्रकाशनमा जमेर लागेका छन् । विभिन्न दातृ निकायको सहयोगमा सबै सरकारी विद्यालयमा अनिवार्यरुपमा पुस्तकालय खोल्ने र त्यसमा कम्तिमा सय वटा बालसाहित्यका पुस्तकहरु हुनुपर्ने नियम शिक्षा मन्त्रालयले बनाएका कारण यी सबै प्रकाशनका पुस्तक विक्री हुने वातावरण तयार भएको छ ।

त्यसैगरी रुम टु रिड र सेभ द चिल्ड्रेन जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि पुस्तक प्रकाशनमा ठूलो धनराशी खर्च गरिरहेका छन् । यी दुबै संस्थाले आकर्षक कलेवरमा पुस्तक प्रकाशन गरेर सामुदायिक विद्यालयमा अनुदान र सहरी पुस्तक पसलहरुमा लागत मूल्यमा पुस्तकहरु वितरण गरिरहेको छ ।

यी सबै प्रकाशनका लागि विभिन्न उमेर समूहका लागि बालसाहित्य लेख्न सक्ने लेखक आवश्यक परेका कारण बालसाहित्य लेखेरै जीवनयापन गर्ने वातावरण तयार भएको हो । यसले एकसाथ सकारात्मक र नकारात्मक प्रभाव पनि पार्न थालेको छ । यसले एकातिर बालबालिकामा विद्यालयका पाठ्यपुस्तक बाहेक अन्य सामग्री पढ्ने बानीको विकास हुन थालेको हो ।

अर्कोतिर बालसाहित्यको नाममा आएको सहयोग पचाउन गुणस्तरहीन पुस्तक छाप्ने प्रकाशन गृहहरु अचानक बढेका छन् । यसले एकातिर हतारमा बालसाहित्य लेखेर पैसा कमाउने लेखकहरु जन्मिएका छन् भने अर्कोतिर ‘गुणस्तरीय साहित्य लेखेर योगदान पनि दिने र नाम पनि कमाउने’ लेखकहरुलाई पनि बाँच्न सजिलो भएको छ ।

बालसाहित्यको यही बाढीका कारण कतिपयले पेसा परिवर्तन गरेका छन् भने कतिपय चाहिँ पुरानो जागिर छाडेर पूर्णरुपमा बालसाहित्यमा होमिएका छन् ।

वर्षका चर्चित १२ साहित्यकार

नेपालमा गोरखापत्रको प्रकाशनदेखि नै बालसाहित्य लेखिन र छापिन थालेको इतिहास छ । यद्यपि यसको विकासमा लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, रमेश विकल, कृष्णप्रसाद पराजुली, दुर्गालाल श्रेष्ठ, कविताराम श्रेष्ठ, चुडामणि बन्धु, दैवज्ञराज न्यौपानेलाई बाल साहित्यमा राम्रो योगदान गरेका र बालबालिकाका प्रिय लेखक मानिन्छन । यीमध्ये अधिकांशको मृत्यु भैसकेको छ भने केही बृद्धाअवस्थाका कारण बालसाहित्यमा निष्कृय छन् ।

तर, शान्तदास मानन्धर, रामबाबु सुवेदी, प्रभा भट्टराई, डा. शैलेन्द्रुप्रकाश नेपाल, लक्ष्मी उप्रेती, केदार श्रेष्ठ, ध्रुव घिमिरे, यशोदा अधिकारी, सविना सिन्धु, प्रा. रामकुमार पाँडे, आन्विका गिरी, भावसागर घिमिरेजस्ता लेखक आज पनि बालसाहित्यमा योगदान गरिरहेका छन् ।

प्रकाशन संस्थाहरुका अनुसार खगेन्द्र सङ्ग्रौला, भिक्टर प्रधान, कल्पना प्रधान, गंगा पौडेल, दिनमान गुरुङ, पेशल आचार्य, ध्र्रुव घिमिरे, तेजप्रकाश श्रेष्ठ, प्रभा भट्टराई, मित्रलाल पंगेनी, रमेशचन्द्र घिमिरे, मञ्जु ज्ञवाली, क्रान्ति पाण्डे, सुधा रिसाल, हरिहर तिमल्सेना जस्ता साहित्यकारहरु अहिले पनि बाललेखनमा सक्रिय छन् । उनीहरुका पुस्तक पनि बालबालिकाको रोजाइमा परेका छन् ।

तै पनि यी नाम भन्दा विशेष रुपमा वर्ष ०७४ मा भने भाग्यमानी रहे, प्रमोद प्रधान, अनन्तप्रसाद वाग्ले, प्रभा भट्टराई, विजयराज आचार्य, यशु श्रेष्ठ, कृष्णदीप सिग्देल, माधव शयपत्री, कार्तिकेय घिमिरे, शान्ता दाहाल, शास्वत पराजुली, अनुराधा र विनयकुमार कसजु ।

वर्षका चर्चित १२ को नाम वालसाहित्यमा चर्चित नामहरुबाटै लिएका थियौं । नाम चलेका २२ वालसाहित्यकार, ६ पुस्तक प्रकाशन गृह र काठमाडौंका १४ पुस्तक पसलमा सबैभन्दा बढी विक्री हुने बालपुस्तकका आधारमा यी नाम छनौट गरिएको हो ।

सुरुमा हामीले उत्कृष्ट १० को छनौट गर्ने योजना बनाएका थियौं । तर तीनजना साहित्यकारले बराबर नम्बर प्राप्त गर्नु भएका कारण यो वर्षका १२ साहित्यकारलाई वर्षका १२ बालसाहित्यकारको उपाधि दिइएको हो ।

यी १२ साहित्यकारहरुलाई पनि हामीले उनीहरुका नजरमा उत्कृष्ट काम गरेका साहित्यकारको नाम सिफारिस गर्न आग्रह गरेका थियौं । उनीहरुले दिएको नामलाई पनि हामीले यो सूचीमा संकलन गरेर सबैभन्दा बढी भोट पाउने लेखकलाई क्रमशः वर्षका चर्चित बालसाहित्यकारका रुपमा लिएका हौं

१‍. प्रमोद प्रधान

२०३५ सालमा राष्ट्रिय समाचार समितिका जागिरे हुनुअघि प्रमोद प्रधान विराटनगरमा नाम चलेका कवि हुन् । विराटनगर क्षेत्रीय प्रमुख हुँदै राससका प्रधानसम्पादकसम्म भएका प्रमोद प्रधानले २०६५ सालमा स्वेच्छिक अवकास लिएर बालसाहित्यमा पूर्ण रुपमा लागेका हुन् ।

हालसम्म २५ वटा पुस्तक प्रकाशन गरिसकेका प्रधानका बालसाहित्यसम्बन्धी १५ वटा पुस्तक प्रकाशन छन् । वालबालिकालाई साहित्यिक सामग्री दिनुभन्दा नेपाली बालसाहित्यसम्बन्धी खोजअनुसन्धान गर्ने, साहित्यकारहरुलाई तालिम दिने तथा बालसाहित्यको ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्ने काममा उनी ध्यान दिन्छन् ।

उनलाई अधिकांश बालसाहित्यकारले वर्ष पुरुषका रुपमा छनौट गरेका थिए । उनका बाल ऐतिहासिक पुस्तक त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा पाठ्यक्रममा राखिएको छ । उनका दुई भागमा प्रकाशित बालवाङ्मय कोश नेपाली बालसाहित्यकै महत्वपूर्ण कृति हो । उक्त कोशमा १२५ वर्षअघिदेखिका बालपुस्तकको परिचय संकलन गरिएको छ ।

२. प्रभा भट्टराई

बालसाहित्यमा नयाँ नाम भए पनि प्रभा भट्टराई बालबालिकाले रुचाएको नाम हो । २०६० सालदेखि बालसाहित्यमा सक्रिय प्रभाले सुरुमा ‘मेरो सानो भाइ’ पोसिला कविता प्रकाशन गरेकी थिइन् । हालसम्म १७ वटा पुस्तक प्रकाशन गरेकी प्रभाका फलफूलको जानकारीसम्बन्धी पुस्तकका कारण विद्यालयहरुमा बढी लोकप्रिय भएकी हुन् ।

उनका पुस्तकलाई सेभ द चिल्डेन, रुम टु रिड, एसिया फाउन्डेसन, शिक्षा मन्त्रालयको एसिया फाउन्डेसनले प्रकाशन गरिरहेको छ । वर्ष ०७४ मा मात्रै उनका ७ पुस्तक प्रकाशन भए ।

३. शास्वत पराजुली

अर्थशास्त्रमा स्नातकोत्तर गरेर अमेरिका पुगेका शाश्वत पराजुली नेपालमा बालसाहित्यमा काम गर्ने रहर जागेर नेपाल फर्किएका हुन् । उनले नेपालमा पहिलोपटक रंगीन बालपत्रिका ‘मेला’को प्रकाशन गरेका थिए ।
मेलामा प्रकाशित बालमनोवैज्ञानिक सामग्रीका कारण उनी चाँडै लोकप्रिय बने ।

उनी नेपालमा बढी विक्री हुने बालपुस्तकका लेखक पनि मानिन्छन् । उनका ४० वटा पुस्तक प्रकाशित छन् । बाल उपन्यास ‘आधा देशको राजकुमार’ का लागि उनले अन्तर्राष्ट्रिय नेपाली साहित्यिक पुरस्कार प्राप्त गरेका थिए ।

चर्चित साहित्यकार पिता कृष्णप्रसाद पराजुलीका छोरा शास्वत बालमनोविज्ञानलाई आधार बनाएर हरेक शिशुदेखि किशोरसम्मका साहित्य लेख्ने लेखक हुन् । वर्ष ०७४ मा उनका ३ वटा पुस्तक प्रकाशन भएका थिए ।

४. अनुराधा

गण्डकी बोर्डिङ स्कुल पोखरामा पाठ्यपुस्तक भन्दा बढी बालसाहित्य पढेका कारण झण्डै विद्यालयबाट निकालिएकी अनुराधा आजभोलि नेपालकी नाम चलेकी साहित्यकार बनेकी छन् ।

परम्परागत भन्दा भिन्न साहित्य लेख्ने भएका कारण उनी विद्यार्थी माझ त लोकप्रिय छिन् नै, समकालीन साहित्यकारहरुले पनि उनको नाम लिन्छन् ।

पद्मकन्या क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर अनुराधा बेलायतबाट अन्तर सांस्कृतिक पर्यटन विषयमा पनि स्नातकोत्तर हुन् ।

उनले रेडियो नेपालमा अंग्रेजी समाचार वाचन गरिन् भने च्यानल नेपालमा मनोरञ्जनात्मक कार्यक्रम पनि चलाइन् । बाल साहित्यमा रुचि भएका कारण कथालय प्रकाशन गृहमा प्रवेश गरेकी अनुराधा अहिले रुम टु रिडकी तालिम संयोजक हुन् ।

उनका एक दर्जन पुस्तक प्रकाशित छन् । ती मध्ये ‘ऐलियन’ नेपाली बालसाहित्यको मानक कृति हो ।

५. विनयकुमार कसजु

नेपालमा बालसाहित्यसम्बन्धी तालिम दिने, गोष्ठी गराउने, बालसाहित्यको गुणस्तरमा रातदिन खटिरहने व्यक्ति हुन्, विनयकुमार कसजु । कस्ता साहित्य लेख्दा बालबालिकालाई सिर्जनशिलता बढ्छ र उनीहरु भविष्यमा असल नागरिक हुन्छन् भन्ने खोज नै विनयको बालसाहित्यको मुख्य ध्येय हो ।

उनले हालसम्म १४० वटा पुस्तक सम्पादन गरिसकेका छन् । खगेन्द्र सङ्ग्रौलाजस्ता चर्चित लेखकलाई बालसाहित्यमा ल्याउने जस पनि कसजुलाई नै जान्छ । इन्टरनेटमा बालसाहित्यको सामग्री राख्ने र त्यसलाई सर्वसुलभ बनाउने श्रेय पनि उनले नै पाएका छन् ।

६. कार्तिकेय घिमिरे

सानै उमेरदेखि बालसाहित्यमा केन्द्रित भएर लाग्ने कमै लेखकमध्ये कार्तिकेय घिमिरे पर्छन् । बाल प्रतिष्ठान नेपालका अध्यक्ष र केटाकेटी मेडियाका प्रमुख कार्तिकेयका ७० वटा पुस्तक प्रकाशित छन् । उनले ३० भन्दा बढी बाल साहित्यको अनुवाद र सम्पादन गरेका छन् । बालसाहित्य प्रतिष्ठानमार्फत उनले फरक परिवेशका प्रतिभाशाली बालकहरुलाई पुरस्कृत गर्दै आएका छन् ।

प्रत्येक वर्ष ३ जनादेखि १० जनासम्म बालबालिकालाई १० हजारका दरले पुरस्कृत गर्ने कात्र्तिकेयको पुरस्कारको स्रोत यिनै ७० वटा पुस्तकको रोयल्टी हुन् । उनी दर्जनौ पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

७. यसु श्रेष्ठ

नेपालमा छोटो समयमा धेरै बाल पुस्तक लेख्ने व्यक्तिमा पर्छन् यसु श्रेष्ठ । ०५८ सालदेखि पत्रपत्रिकामा बालसाहित्य लेख्न थालेका यसुको पहिलो पुस्तक ०६२ सालमा छापिएको थियो । त्यसयताको १० वर्षमा उनले एक सयवटा बाल पुस्तक प्रकाशन गरिसकेका छन् । तीमध्ये दुई दर्जन पुस्तक सर्वाधिक विक्री हुने पुस्तकहरुको सूचिमा परेका छन् । वर्ष ०७४ मा उनले ११ वटा पुस्तक प्रकाशन गरेका छन् ।

नेपाल बालसाहित्य समाजका सचिव र कथावाचक समाजको महासचिवसमेत रहेका यसु श्रेष्ठ बालसाहित्य लेखेरै राम्रो जीवन चलाउने व्यक्ति मध्ये पर्छन् । उनले शिशुदेखि १४ वर्ष उमेर समूहका भिन्न भिन्न पुस्तक लेखको छन् । त्यसबाहेक दृष्टिविहीन बालबालिकाहरुको पाठ्यसामग्रीमा पनि उनले काम गरिरहेका छन् ।

८. माधव सयपत्री

थोरै तर गुणस्तरीय बालसाहित्य रचना गर्ने लेखकमा माधव सयपत्रीको पनि नाम लिइन्छ । मूलधारको साहित्यबाट स्थापित भएका माधव सयपत्री मूलतः शिक्षक हुन् ।

शिक्षण पेसा गर्दा बालबालिकाहरुलाई गुणस्तरीय सामग्रीको खाँचो देखेर आफूले बालसाहित्य लेख्न थालेको अनलाइनखबरलाई बताए ।

हालसम्म एक सय २५ वटा बालकथा लेखेका माधव सयपत्रीका १० वटा पुस्तक प्रकाशित छन् । उनका सीमान्त विचलन उपन्यास र अन्य दुई प्रौढ कथा संग्रह पनि प्रकाशित छन् ।

९. शान्ता दाहाल

२० वर्ष स–साना बालबालिकालाई अध्यापन गराएर बालमनोविज्ञान बुझेकी शान्ता दाहाल पनि बालपुस्तकको अभाव देखेर यो क्षेत्रमा आएकी हुन् ।

विशेषतः १० वर्ष मुनिका बालबालिकाको बौद्धिक विकास गर्न आवश्यक पर्ने पुस्तक उनको मुख्य चासो हो । हालसम्म १५ वटा पुस्तक प्रकाशन गरेकी शान्ताका पुस्तक शिक्षा मन्त्रालयको प्रारम्भिक बालबिकास शाखामार्फत देशभर पुग्ने गर्छ ।

उनका पुस्तक सेभ द चिल्ड्रेनले पनि प्रकाशन गरेको छ । वर्ष ०७४ मा मात्र उनका ७ वटा पुस्तक प्रकाशन भएका छन् ।

१०. कृष्णदीप सिग्देल

रंगपत्रकारिता गर्दा गर्दै ०५८ सालमा ‘हिउँगोरी’ परिकथा अंग्रेजीबाट अनुवाद गरेपछि कृष्णदीप सिग्देल बालसाहित्यमा छिरेका हुन् । त्यसयता उनी नेपालका ब्यस्ततम बाल पुस्तक लेखकमा गनिन्छन् । उनका ६० वटा पुस्तक प्रकाशन भएका छन् ।

त्यसमध्ये २५ वटा विश्वप्रशिद्ध पुस्तकका अनुवाद हुन् । ०७४ सालमा उनका ३ वटा पुस्तक प्रकाशन भएका छन् । त्यसबाहेक उनले यो वर्ष १० वटा पुस्तकको सम्पादन गरेका छन् । उनी शिक्षण पेसामा संलग्न छन् ।

११. अनन्तप्रसाद वाग्ले

दुई दशकदेखि बालसाहित्यमा निरन्तर लागेका अनन्तप्रसाद वाग्ले ४६ पुस्तकका लेखक हुन् । उनले ०५९ सालमा ‘आप्पाको झण्डा’ कथा संग्रह प्रकाशन गरेका थिए ।

त्यसयता उनका सबैजसो कृति बालआख्यानमै केन्द्रित छन् । शिक्षण पेसा गर्दा बालपाठ्य सामग्रीको अभाव भएर यो क्षेत्रमा आएका अनन्त शिक्षण पेसाबाट अवकास लिएर अन्ततः पूर्णरुपमा लेखनमा लागेका छन् ।

उनले केही वर्ष वालपत्रिका ‘कोपिला’को पनि सम्पादन गरेका थिए । उनले लेखका सबैजसो पुस्तक बेस्ट सेलर छन् । यद्यपि बाल उपन्यास ‘यार्सा’ उनको सबैभन्दा बढी रुचाइएको पुस्तक हो । त्यसबाहेक उनले ६० भन्दा बढी पुस्तकको सम्पादन गरेका छन् । हाल उनी रुम टु रिडमा कार्यरत छन् । वर्ष ०७४ मा उनका ८ वटा पुस्तक प्रकाशन भएका छन् ।

१२. विजयराज आचार्य

कुनैबेला विद्यार्थी राजनीतिमा राम्रो सम्भावना देखाएका विजयराज आचार्य राजनीतिमा हुने अनेक प्रपञ्चबाट बच्न बालसाहित्यमा छिरेका हुन् ।

समाज परिवर्तन गर्न नेताको भाषणभन्दा पुस्तक महत्वपूर्ण हुने बुझेपछि उनले विश्वप्रशिद्ध व्यक्तिहरुका जीवनी नेपाली भाषामा अनुवाद गर्न थाले । त्यसलाई प्रकाशन गर्न विवेक सिर्जनशील प्रकाशन गृह खोलेका आचार्यले हालसम्म १५० पुस्तकको लेखन, सम्पादन र प्रकाशन गरिसकेका छन् ।

उनको एउटा पुस्तक चिल्ड्रेन स्टोरीको नाममा साहित्यकार महेश पौडेलले अनुवाद गरेका छन् । उनी महासचिव रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रले गाउँ गाउँमा पुगेर बालबालिकालाई लेखन तालिम दिने र उनीहरुका रचना प्रकाशन गर्छ ।

हालसम्म २ हजार ५ सय बालबालिकालाई तालिम दिइसकेको उक्त संस्थाले २५ जना कथाकार पनि जन्माएको दाबी गरेको छ ।

यसबाहेक ललिता दोषी पनि बालसाहित्यमा परिचित नाम हो । ०३८ सालदेखि पत्रपत्रिकामा बालसाहित्य कोर्न थालेकी दोषी गीतकार पनि हुन् । उनका १९ वटा बालसाहित्यका पुस्तक प्रकाशन छन् ।

पाठकहरुको नजरमा अरु पनि बालसाहित्य लेख्ने स्रष्टाहरु छन् कि ? कमेन्ट बक्समार्फत जानकारी दिन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?