+
+

ट्राफिक प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्तासँगको विवाद जोडियो, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ८:३३

४ जेठ, काठमाडौं । लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

‘त्यो लागूऔषध सेवनकर्ताहरुको अखडा जस्तो ठाउँ रहेछ, त्यहीँ घिमिरे पनि गएका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनी मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि परियारसहितको समूहले उनको हत्या गरेको देखिएको छ ।’

उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । ‘तर, बयान र सोधपुछपछि ६ जनाको संलग्नता खुलेको छ’, ती अधिकृतले भने, ‘थपको संलग्नता पुष्टि नभए छाडिनेछ ।’

प्रहरीले यसबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । स्रोतका अनुसार, प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत् रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । घिमिरेले समेत लागूऔषध गाँजा सेवन गर्ने गरेको पक्राउ परेकाले दाबी गरेका छन् ।

‘पहिले राम्रो सम्बन्ध भएपनि पछि मनमुटाव हुँदै गएको बयानबाट खुलेको छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘विवादका क्रममा परियारसहितकाले इँटा लगायतले हानेर हत्या गरेको देखिन्छ ।’

बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । शुक्रबार अपराह्न मृत भेटिएको खबर आएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिएको थियो ।

शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगेर जाँच थालिएको थियो । घटनास्थल मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन ।

खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?