Comments Add Comment

ओली सरकारलाई लिम्बुवान नेताको चेतावनीः तिम्रा आन्द्राभुँडी छामिसकेका छौं !

झ्याम कि झ्याम हानाहान गर्ने हो भने सत्ता पल्टिन्छः कुमार लिङदेन


८ वैशाख, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार राजधानीको माइतीघर मण्डेलामा ‘पहिलो चरणको आन्दोलन’ अन्तरगत विरोध प्रदर्शन गर्‍यो । त्यहाँ लिम्बुवानी नेता कुमार लिङदेनले करिब १३ मिनेट चर्को भाषण गरे ।

संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नेता लिङदेन सडक आन्दोलन र आवेगात्मक बाटोबाट यहाँसम्म आइपुगेका पहिचान पक्षधर नेता हुन् । शुक्रबारको कार्यक्रममा पनि उनी आक्रामकरुपमै प्रस्तुत भए ।

लिङदेनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई सम्वोधन गर्दै अब अर्को चरणको कार्यक्रममा राजधानीमा ५/६ हजार लिम्बुवान भोलेन्टियर उतारेर ‘झ्याम कि झ्याम हान्ने’ र ‘सत्ता पल्टाइदिने’ चेतावनी दिए ।

आदिवासी जनजाति महासंघले थालेको आन्दोलनलाई लिम्बुवानदेखि मगरातसम्म नयाँ पहिचानयुक्त राज्यहरु बन्नुपर्छ भन्ने मागसहित अघि बढाउनुपर्ने भन्दै लिङदेनले ईयुको प्रतिवेदन कार्यान्वयन नगरिए देशमा आगो बल्ने बताए ।

लिङदेनले क्षेत्रीहरुलाई पनि फकाउने प्रयास गरे । उनले क्षेत्रीहरुको भाग बाहुनले खाएको आरोप लगाए । साथै काठमाडौंका नेवारहरुलाई पनि उनले आन्दोलनमा उठ्न आग्रह गरे ।

काठमाडौंका पाँचतारे होटलमा पञ्चायतकालदेखि नै गोरुको मासु पाकिरहेको लिङदेनले बताए ।

पहिचानवादी नेता लिङदेनले आदिवासीको यो आन्दोलनलाई लिम्वुवानदेखि मगरातसम्म पहिचानयुक्त राज्यहरुको घोषणाको माग जोड्नुपर्ने बताए पनि महासंघले घोषणा गरेको आन्दोलनमा ‘सत्ता पल्टाउने’ मागहरु समावेश थिएनन् ।

आन्दोलनकारीले बोकेका प्लेकार्ड र ब्यानरहरुमा गाई मारेको अभियोगमा थुनिएकाहरुलाई रिहा गरिनुपर्ने, माघे संक्रान्ति, ल्होसार जस्ता पर्वहरुमा विदा कटौती गर्ने सरकारी निर्णय खारेज हुनुपर्ने, विशेष संरक्षित क्षेत्रहरु अविलम्ब घोषणा गरिनुपर्ने र पहिचानका आधारमा प्रदेशहरुको नामाकरण गरिनुपर्ने आदि मागहरु समेटिएका छन् ।

झ्याम कि झ्याम हान्नुपर्छ, अनि रमाइलो हुन्छः लिङदेन

लिम्बुवान नेता लिङदेनको भाषण उनकै शब्दमाः

नेपालको आदिवासी आन्दोलनमा हिजोआज अलिकति खुशीको माहोल आउन आँटेको हो कि जस्तो मलाई आभास भइरहेको छ । आदिवासी जनजाति महासंघले घोषणा गरेको यस कार्यक्रममा सडक पीडित नेवारहरु थपिनुभएको छ । र, हाम्रो पहिचानमा आधारित गठबन्धन राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपा राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, तामाङसालिङ पार्टी, खसान संघर्ष समितिलगायतका आदिवासी जनजाति ७/८ वटा पार्टी हामीले पनि ऐक्यवद्धता जाहेर गरिरहेको कुरा म यहाँ घोषणा गर्न चाहन्छु ।

‘अब भिड्ने हो’

यो हाम्रो पहिलो चरणको कार्यक्रम हो । अब अरु चरणको कार्यक्रम अलि सशक्त भएर जाने हामीले विश्वास लिएका छौं । अब हामीले यो आदिवासी आन्दोलनलाई अलिकति आक्रामक किसिमले लानुपर्छ कि जस्तो हामीलाई लागिरहेको छ ।

आक्रामक भन्नाले बन्दूक बोक्ने भनेको होइन । तर, के हो त ? यहाँ संसारले हेरिरहेको छ हामीलाई । संसारले देखिरहेको छ । अब भिड्ने हो ।

अब अर्को चरणको आन्दोलनमा म आशा गर्छु, हामी यहाँ ५/१० हजार भेला हुन्छौं । कसले हामीलाई रोक्न खोज्छ ? झ्याम कि झ्याम हानाहान गर्ने हो । हामी ५ हजार लिम्बुवान भोलेन्टियर्स यो चोकमा यहीँ सहीद हुनका लागि तयार भइरहेका छौं । यहाँ हामी पहिले पनि आएका हौं, फेरि यो सिंगो सरकारलाई, यो गृहमन्त्रीलाई , यो प्रधानमन्त्रीलाई, यो राज्यलाई हाम्रो च्यालेञ्ज छ, हामी मर्न आउँदैछौं, तिमीहरुका हतियारहरु तयार गरिराख ।

यो सिंहदरबारमा राक्षस बस्छ । काठमाडौंको सत्तामा राक्षसहरु बस्छ । हामी लड्न तयार छौं । कोही अब डराएर भाग्ने अवस्थामा छैन ।

सबै आदिवासी जनजाति महासंघसँग सम्बन्धित साथीहरु, हाम्रो आन्दोलन अलिकति सशक्त (पारौं) । केही गर्नेवाला छैन । यहाँको प्रहरीको, यहाँको सेनाको, यहाँको राज्य संयन्त्रको आन्द्रा, भुँडी, गिदी हामीले बहुत राम्ररी छामिसकेका छौं । केही छैन । केही छैन । ५/१० हजार मान्छे भेला भएर झ्याम कि झ्याम हानाहान गर्ने हो भने भोलि यो देशमा सत्ता पल्टिन्छ । हेर्‍याछौं हामीले ०४६ सालको आन्दोलन । त्यसले गर्दा कोही आत्तिनेवाला छैन । यो पहिलो चरणको कार्यक्रम भएर यसलाई शान्तिपूर्ण तरिकाले लान जरुरी छ । तर, आगामी कार्यक्रममा अलिकति हानाहान गर्न जरुरी छ ।

गोरु काटेको निहुँमा हामीलाई जेलमा हाल्ने ?

यहाँ सुनियो, एउटा आदिवासी माझी माछा मार्न जाँदाखेरि थुनामा परिरहेको छ । घाँस काट्न जाँदा निकुञ्जमा थुनामा परिरहेको छ । अनि गैंडाको सिङ काट्नेहरुचाहिँ यहाँ पजेरो चढेर कुदिरहेका छन् नि त फेरि ।

गाई मारेको अभियोगमा तामाङ, राई, लिम्बु, गुरुङ मगरहरु जेल परिरहेका छन् । अनि यहाँका फाइभ स्टार होटलहरुमा पञ्चायतकालदेखि गोरुको मासु पाकिरहेको छ । यहाँका सबै डिपार्टमेन्टल स्टोरहरुमा, या धनीमानीले किन्ने पसलहरुमा त्यो बीफ भनेको के हो ? त्यो बीफको बट्टाहरु छ त, त्यो के हो ? त्यो बीफको बट्टा लिएर यहाँका धनीमानीहरुले घिच्छन्, त्योचाहिँ के हो ? त्यो गोरुको मासु हो कि हैन ?

जब तिमीहरु विदेश जान्छौ… हे मन्त्रीहरु हो, हे सत्ताधारी हो ! त्यो विदेशमा गएर गोरुको मासु घिचेर आउँछौ त तिमीहरु । अनि यहाँ गोरु काटेको निहुँमा हामीलाई जेलमा हाल्ने ? खबरदार, पख । तिमीहरुसँग खुल्ला भिडन्तका लागि हामी तयारी गर्दैछौं । १२ बजे भिडन्त हुन्छ अब, दिनको १२ बजे । जस्ट वेट । केही समय पर्खनोस्, हामी त्यो किसिमले तयारी गरिरहेका छौं । यस्तो अन्याय, यस्तो अत्याचार धेरै दिन जान सकिँदैन । पर्खिन सकिँदैन ।

ईयुको प्रतिवेदन तुरुन्त लागू नगरे आगो लाग्छ !

आज युरोपियन युनियनले यो चुनाव गल्ती छ भनेर भनिसक्यो । युरोपियन युनियनले के भन्यो ? प्रत्यक्ष चुनाव प्रणालीमा पनि आर्य खस नै जाने, अनि समानुपातिक चुनाव प्रणालीमा पनि आर्य खस नै जाने हो भने यो चुनाव प्रणाली धाँदली छ, यसबाट जितेका प्रधानमन्त्री सप्पै फर्जी छन् भनेर उसले भनिसकेको छ ।

केपी ओलीलगायतका मार्काका साथीहरुले युरोपियन युनियनको प्रस्तावलाई यो देशको सार्वभौम सत्तामाथि युरोपियन युनियनले औंला ठड्याएको भनेर आरोप लगाए । तिमीहरुको प्रतिवेदन लिँदिन भनेर धम्की दिए ।

युरोपियन युनियनमा २८ वटा देश छ । उनीहरुले भने, नलिए नलेउ न त । तर, हाम्रो प्रतिवेदन नलिनुको अर्थ हामीले दिने विकासको सहायता पनि नलिनु पनि हुन सक्छ । युरोपियन युनियनले यसो के भनेको थियो, केपी ओलीलगायत सप्पैले थुरुरु…. हल्लिएर सुरुवाल बिगारेर ईयुको प्रतिवेदन लिएका छन् ।

ईयुको प्रतिवेदनमा के भनेको छ भन्दा प्रत्यक्ष चुनाव प्रणालीमा पनि आर्य खस नै आउने, समानुपातिक चुनाव प्रणालीमा पनि आर्य खस नै आउने, यो नाजायज छ र यसलाई तुरुन्त हटाउनुपर्छ भनेर उनीहरुले भनिरहेका छन् । र, आदिवासी महासंघ र हामी पहिचानमा आधारित गठबन्धनले भनेका छौं, ईयुको प्रतिवेदन तुरुन्त लागू गर् होइन भने त्यो विषयलाई लिएर यो देशमा ठूलो आगो लाग्छ ।

नेपालमा जहिल्यै पनि त्यस्तै एउटा संयोग भयो । ०३६ सालमा पनि जब पाकिस्तानमा जुल्पिmकर अलि भुट्टोलाई फाँसी दिइयो, यहाँ बहुदल र निर्दलको काण्ड मच्चियो । त्यस्तै ईयुले अहिले जुन प्रतिवेदन दिएको छ, हेर्दै जानोस् सत्ताधारीहरु, युरोपियन युनियनको प्रतिवेदनको सवाललाई लिएर यो देशमा अब ठूलो आगो लाग्छ लाग्छ । यो कसैले रोक्न सक्दैन ।

बाहुनले झ्वाम कि झ्वाम खायो !

आज खस र क्षेत्री, क्षेत्री र बाहुनलाई एकैठाउँ बनाउने ? अनि क्षेत्रीको काँधमा चढेर बाहुनले रजाइँ गर्ने ? यो हुन सक्दैन । आज कुरा बुझेका छैनन्, तर, ईयुको प्रतिवेदन पछाडि कुरा बुझ्न थाले । क्षेत्रीहरुले मार्छन् है ओलीजी तपाईलाई ।

किनभने, सबै क्षेत्रीको भाग बाहुनले खाइदियो । यस्तो हुनुहुँदैन । क्षेत्रीको भाग क्षेत्रीले खानुपर्छ, बाहुनको भाग बाहुनले खानुपर्छ । तर, बाहुन र क्षेत्रीलाई एउटै समुदायमा राखेर ३२/३३ पर्सेन्ट त बाहुनले झ्वाम कि झ्वाम हान्यो नि त । खायो नि त ।

हामीले प्रष्ट भनेका छौं, खसक्षेत्री र बाहुनलाई भिन्नाभिन्न समूहमा राखेर समानुपातिकमा लानुपर्छ । आज हेर्नुस्, बरु लिम्बु माथि आएको छ, बरु आदिवासी माथि आएको छ । आज यो देशमा हराउँदैछ को भन्दा क्षेत्री । आज क्षेत्री काहीँ छैन । यसो हेर्दा क्षेत्री देखिनेहरु क्षेत्री छैन, हराइसक्यो । किनभने क्षेत्रीको भाग ओलीजीहरुले झ्वाम बनाइसके । जे होस् उहाँहरु पनि आन्दोलित हुँदै हुनुहुन्छ, यसमा हामीलाई एकदमै गर्व लागेको छ ।

नेवारहरुलाई जुर्मुराएर उठ्न आग्रह !

आज काठमाडौंको सडक विस्तारका नाममा …. अस्ति हामीले सुन्यौं, खोकना भन्ने ठाउँमा ३ सय रोपनी जमीन नेपाली सेनाले कब्जा गर्‍यो । ३० रोपनी जमीन सेनाले प्रयोग गर्‍यो र २७० रोपनी जमिन एकजना के सिलवाल भन्ने धनी बाहुनलाई बेच्यो अरे सेनाले । यस्तो अन्याय अत्याचार कहिलेसम्म सहने ? अब यो सहन सकिँदैन ।
आजभन्दा ३० /४० वर्ष अगाडि हामी जति नेपालीहरु छौं, योभन्दा धेरै कुहिरेहरु थिए । पर्यटकहरु थिए । पुसको दिनमा एउटा सर्ट लगाएर हिँड्दा काठमाडौंमा चिसो लाग्दैनथ्यो । विश्वको सबैभन्दा सफा ठाउँ थियो यहाँ ।

आज काठमाडौंका कुनै पनि ढुंगेधाराबाट पानी आउँदैन । यहाँका ढुंगेधारा नेवारका पूर्खाहरुले कसरी बनाए भनेर अमेरिकाका बैज्ञानिकहरुले चेक गर्दा पनि यसको प्रविधि पत्ता लाउन सकेनन् । यस्तो प्रविधि आज त्यतिकै मरेर गयो, सुकेर गयो । आज यस्तो महान नेवार सभ्यतालाई सडक विस्तारका नाममा जसरी कुल्चिइँदैछ, सम्पूर्ण नेवार साथीहरु, जसरी ०४६ सालमा गणेशमानसिंहको नेतृत्वमा नेवार साथीहरु जाग्नुभएको थियो, फेरि एकपल्ट नेवारहरु जाग्नोस् । तपाईको साथमा हामी छौं ।
तपाई महान जातिहरु हुनुहुन्छ । ०४६ सालको आन्दोलनमा अहिलेका यी केपी, सेपी एकजना मैले सडकमा देखिनँ त्यसबेला । मैले त यहाँ सम्पूर्ण नेवारहरु आन्दोलित भएको मात्रै देखिरहेको थिएँ । पञ्चायत व्यवस्था कसैले ढाल्यो भने त्यो नेवारहरुले ढालेको छ । तिनै नेवारहरुलाई एकपटक जुर्मुराएर उठ्न म आग्रह गर्दछु ।

यो संसारमा कहाँ छ हौ यस्तो न्याय ?

कैलालीबाट सबैभन्दा बढी भोट ल्याएर रेशम चौधरीजीले जित्नुभएको छ । हामी कसैलाई चित्त नबुझ्ने कुरा के हो भने उम्मेदवार हुन चाहिँ दिने अनि ३५ हजार भोट ल्याएर जितेपछि उहाँलाई जेलमा कोच्ने ? यो संसारमा कहाँ छ हौ यस्तो न्याय ?


०७२ सालमा कैलालीको टीकापुरमा जो घटना भयो, त्यो आफैंमा दुःखद छ । प्रहरी साथीहरुको जो मृत्यु भयो, त्यो हामीलाई पनि खुशी लागेको छैन, त्यो दुखद घटना हो । त्यो नहुनुपर्ने घटना हो । तर, त्यो घटना कसरी घट्यो भन्ने पनि त सोच्नुपर्‍यो नि त ।

अहिले पनि सशस्त्र पुलिस र जनपथ पुलिस मिल्दैनन् । अहिले पनि सेना र पुलिस भेट भयो भने लात्तले हानाहान चलिहाल्छ । त्यतिखेर पनि त्यही भयो । मान्छे थोरै आउँछ होला, थारुले के गर्न सक्छ र, ४/५ सयजना आउँछ होला भनेर सशस्त्र पुलिस र जनपथ पुलिसको कोअर्डिनेसन मिलेन । भरे थारुहरु ५० औं हजारको संख्यामा आए । र, त्यो पुलिसले कन्ट्रोल गर्न नसकेपछि एउटा दुख्द घटना घट्यो । केही प्रहरी साथीहरु, एसएसपी सहितको मृत्यु भयो, त्यो दुःखद हो । हामी सबैलाई दुःख लागेको छ ।

तर, त्यो एउटा राज्यको कमजोरीले, कर्मचारीको कमजोरीले भएको घटनामा निर्दोष थारुहरुलाई पक्डेर अडाइ वर्षसम्म जेलमा कोच्ने ? यो हुन सक्दैन । ११ वर्षको बच्चा करन चौधरी भन्ने, जसको आमा भर्खरै यहाँ (काठमाडौंमा) आउनुभएको थियो, बच्चालाई पक्डिइएको छ, जसको मानसिक असन्तुलन छ । उनलाई आमाबुवाले भेट्छन् भनेर प्रहरीले पोखरामा लगेर राखेको छ ।

हे प्रहरी साथीहरु, हे अदालतका न्यायाधीश साथीहरु विश्वका मानवअधिकारवादी संघसंस्थाले तिमीहरुलाई हेरिरहेको छ, हेगमा लगेर झुण्ड्याउँछ कुन दिन तिमीहरुलाई । पर्खिराख । ती निर्दोष थारु बन्दीहरुलाई तुरुन्त जेलबाट छुटाउनुपर्‍यो ।

यो अन्याय अत्याचारको विरुद्धमा सम्पूर्ण आदिवासी, जनजाति, दलित र मधेसीहरु एकजुट हुन जरुरी छ । र, अबको आन्दोलन अलिकति आक्रामक किसिमले लानुपर्छ । झ्यामझ्याम झुमझुम हुनुपर्छ, अनिमात्रै रमाइलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment