Comments Add Comment

सुख्खा सिजनमा भैंसीको बिगौंती !

११ वैशाख, चितवन । सामान्यतया हिउँद वा सुख्खा सिजनमा भैंसीहरु ब्याउने गरेको कमैं मात्रै सुन्न पाइन्छ । भैंसी नै नब्याउने भएपछि बिगौती हुने कुरै भएन ।

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको भैंसी फार्ममा यतिबेला ५ बटा भैंसी ब्याएका छन् । त्यहाँ साना साना पाडापाडीहरु खेलेको दुध खाएको उफि्रएको देख्न पाइन्छ । छुट्टैं प्रकारको रमाइलो देख्न सकिन्छ ।

विश्वविद्यालयमा गरिएको अनुसन्धानले भैंसीलाई सुख्खा सिजनमा समेत ब्याउन सक्ने देखिएको छ । यसले हिउँदको समयमा हुने दुधको अभावलाई कम गराउन सकिने विश्वविद्यालयले दावी गरेको छ ।

विश्वविद्यालयका वैज्ञानिक प्रा.डा. भूमिनन्द देवकोटासहितको विज्ञ टोलीले सन् २०१३ देखि गरेको अनुसन्धानले भैंसीको प्रजनन क्षमता बढाउने बिषयमा महत्वपूर्ण उपलब्धी हात पारेको छ ।

हिउँदको सुख्खा याममा भैंसीले गर्भधारण नगर्ने र सो समयमा नब्याउने हुँदा दूधको अभाव हुने समस्याहरुलाई यहाँका अनुसन्धानकर्ताहरुले समाधान गरी किसानहरु समक्ष लैजाने तयारी गरेका छन् ।

यो समूहले चितवनको रामपुरमा रहेको भैंसी र्फम र पोखराको पशु विकास फारममा रहेका भैंसीहरुमा यसको प्राजेटिभ र नेगेटिभ असरहरुका बारेमा अध्ययन गरेको थियो । गएको असार २ गते बाली गएका भैंसीहरु धमाधम ब्याएका छन् । ती सवै मुर्रा जातका भैंसी हुन ।

भैंसी हिउँद चैत्र वैशाखमा ब्याउनका लागि जेठ वा असारमा बाली जानुपर्ने हुन्छ । तर त्यो समयमा भैसी बाली जाने सम्भावना अति कम हुन्छ । साउनदेखि कात्तिकसम्म भैंसीको प्रजनन सम्भावना रहन्छ । पुषदेखि फागुनसम्म मध्यम प्रजनन क्षमता हुन्छ भने, चैत्रदेखि असारसम्म एकदमै कम न्यून प्रजनन क्षमता रहेको हुन्छ । ‘सो समयमा भैंसीको शारीरिक प्रकि्रयामा उलथपुथल हुन्छ’ प्रा.डा. देवकोटाले भने ‘गर्मी, सुख्खापन, पोषणको कमी, हर्मोनमा हुने परिवर्तन जस्ता बिषयले भैंसी ब्याउने सम्भावना नै हुदैन ।’ भैंसी बाली लागेको १० महिनामा ब्याउँछ ।

विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी नेपालमा भैंसीमा देखिएको आम समस्याको समाधानका लागि यो अनुसन्धान उपयोगी हुने जनाएको छ । सन् २००२ देखि २००७ सम्म गरिएको एक अध्ययन अनुसार नेपालमा जनवरीदेखि अपि्रलसम्म भैंसीको प्रजनन् शून्य जस्तो देखिएको थियो । भैंसीले सरदर नेपालमा दुईसयदेखि तीनसय दिनसम्म दूध दिने गर्दछ ।

किन ब्याउँदैनन् हिउँदमा भैंसी ?

हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैंसीले गर्भाधारण गर्न नसकेको पाइएको छ ।

त्यसैगरी भैंसीको शरीरभित्र उक्त समयमा आन्तरिक परजीविको संक्रमण पनि बढी भएको पाइएको छ ।

नाम्ले, माटे लगायतका आन्तरिक परजीविका कारण भैंसीमा तनाव हुने गरेको र वातावरणीय तापक्रमका कारण पनि भैंसीलाई तनाव बढ्ने गरेको अध्ययनले देखाएको छ ।

भैंसीको डिम्बासयको कार्य क्षमतामा कमी आएर प्रजनन क्षमता घट्दै जाने र बाली जान कठिनाइ भएको देखिएको छ ।
सामान्यतय भैंसीहरु जेठदेखि असोजसम्म ब्याउने गरेपनि हिउँदको समयमा बाली पनि नजाने र नब्याउने गर्दछन् ।

चैतदेखि असार महिनासम्म नेपालमा भैंसीले गर्भधारण नगर्दा हिउँदको समयमा दूध अभाव हुने समस्या हुँदै आएको छ ।

नेपालमा हिउँदको समयमा दूधको अभाव हुने र वर्षादको समयमा दूध बिक्री नहुने समस्या रहँदै आएको छ ।

साउनदेखि मंसिरसम्म अधिकांश भैसीमा बाली जाने गर्दछन् । जसका कारण एउटा मौसममा धेरै दूध हुने र अर्काे मौसममा दूधको अभाव हुने गर्दछ ।

भैंसी ब्याएको २ महिनादेखि ४ महिनासम्म बाली जाने गरेपनि नेपालमा सो समयमा निकैं कम भैंसी मात्रैं प्रजननका लागि योग्य हुने गरेका छन् ।

के देखायो अनुसन्धानले ?

भैंसीहरुको उचित व्यवस्थापन, तनाव कम गर्ने, पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्माेन प्रविधि प्रयोग गरेर भैंसीलाई हिउँदको समयमा पनि प्रजनन योग्य बनाउन सकिएको प्रा. डा. देवकोटाले जानकारी दिए ।

भिडियो एक्सरेको प्रयोग गरी भैंसीको डिम्वासको नियमित परीक्षण, कार्य क्षमताको अध्ययन गर्न सकिन्छ ।

भैंसीका प्रजनन् अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्माेन तयार गरी भैंसीलाई खुवाइदै आएको डा.देवकोटाले बताए ।

भैंसीहरुलाई विशेष सूत्र तयार गरी पोषण तयार गरेर खुवाउनुपर्ने र आन्तरिक परजीविहरुको उपचार गर्नुपर्ने देखिएको छ ।
विगतका वर्षहरुमा प्रत्येक वर्ष १० वटा भैंसीमा यो परीक्षण गरिएकोमा तीन/चार वटामा मात्रै सफलता मिलेको थियो ।

यस वर्ष भने रामपुरमा नौ वटा मध्ये पाँच वटा र पोखरामा ७ वटा मध्ये दुई वटा भैंसी ब्याएका छन् ।

पोखराका भैंसीमा अन्य विधि प्रयोग गरिए पनि नकारात्मक परजीवि उन्मूलन नगरी छाडेकाले कम भैंसी ब्याएका हुन ।

रामपुरमा सबै विधि प्रयोग गरिएकाले चौ वटा भैंसीमध्ये पाँच वटाले गर्भधारण गरी ब्याएका छन् ।

विश्वविद्यालयका बायोटेक्नोलोजी केन्द्रका निर्देशक डा. ईश्वरी कडरीयाले भैंसीमा भएको बाँझोपनाको मोलिक्युलर तहमा अनुसन्धान गरिने बताए । त्यसका लागि सेन्टरका तर्फबाट विश्वविद्यालय समक्ष प्रस्ताव गरिने उनले जानकारी दिए ।

तीन चार वर्षमा किसानसमक्ष लगिने

विश्वविद्यालयका अनुसन्धानबाट तयार भएको यो प्रविधिलाई किसानहरु समक्ष तीन चार वर्षमा नै लगिने विश्वविद्यालयले जनाएको छ । यसलाई अब हामी सरलीकृत गर्ने तर्फ लाग्छौं, पहिला प्राविधिकहरुलाई तालिम दिन्छौं,’ अनुसन्धानकर्ता प्रा. डा. देवकोटाले भने, ‘भैंसीको तनाव व्यवस्थापन र पोषणसहित उसको डिम्वासयको परीक्षण गर्ने कामलाई सहज बनाउँछौं ।’

जिल्ला जिल्लामा रहेका प्राविधिकहरुलाई यसको ज्ञान दिएर किसानकहाँ प्रविधि पुर्‍याउने योजना रहेको उनले जानकारी दिए ।

विश्वविद्यालयले भैंसीका लागि आवश्यक दानाको शुत्रसमेत तयार गरी किसानहरु समक्ष लैजाने तयारी गरेको छ ।

किसानले यो सवै प्रकृयाका लागि हाल पाँच हजार रुपैयाँ खर्च गर्नुपर्ने देखिएको भैंसी विज्ञ प्रा.डा. देवकोटाले बताए । ‘आउँदा दिनमा यो रकम पनि घट्ला तर, हाल पाँच हजार खर्च गर्दा भैंसीलाई हिउँदको समयमा ब्याउन सक्ने गराउन सकिन्छ, हिउँदमा ब्याएका भैंसीहरुको मूल्य पनि निकैं राम्रो आउँछ घाटा हुँदैन’ प्रा.डा. देवकाटाले भने ।

हिउँदको समयमा भैंसी ब्याउँदा एकातिर दुधको आपूर्ति बढ्ने र अर्कोतिर त्यसले आर्थिक रुपमा पनि किसानहरुलाई फाइदा गर्ने ंप्रा.डा. देवकोटाको भनाइ छ ।

अबको अनुसन्धान भैंसीको दूधको क्षमता बढाउने र अवधि लम्वाउने तर्फ केन्द्रित गरिने प्रा.डा.देवकाटोले जानकारी दिए ।

भैंसीको नश्लीय सुधारका लागि कृतिम गर्भाधान नै उपर्युक्त हुने गरी किसानलाई सिफारिश गरिनेछ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले थप अनुसन्धान र प्रसारका लागि विश्वविद्यालयले सहयोग गर्ने वचन दिए ।

अनुसन्धान प्रविधीको हस्तान्तरण र थप प्रविधि सरलिकृतको लागि विश्वविद्यालयको आन्तरिक स्रोतबाट भएपनि व्यवस्थापन गर्ने उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले बताए ।

उपकुलपति प्रा.डा. ढकालले यसबर्ष भित्र विश्वविद्यालयमा राष्ट्रिय भैंसी अनुसन्धान केन्द्र स्थापना गरिने जानकारी दिए ।

नेपालमा भैंसीको अवस्था

नेपालमा ५२ लाखको हाराहारीमा भैंसी रहेको अनुमान छ । नेपालमा कुल दूध उत्पादनको ६७ प्रतिशत र मासु उत्पादनको ५७ प्रतिशत हिस्सा भैंसीले ओगटेको छ ।

दूध र मासु दुवैंमा भैसीको प्रयोग गरिने भएको हुँदा यसको संख्या घट्र्दै गएको विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. नवराज देवकाटाले जानकारी दिए ।

भैंसीको संख्या घट्दै जाने र स्थानीय जात हराउने खतरा पैंदा भएको भन्दै प्रा.डा देवकोटाले संरक्षणमा जोड दिनुपर्ने बताए ।

नेपालमा ३ प्रजातिका भैसी पाइने गरिन्छ । लिमे, पार्कोटे, गड्डी ३ प्रजातिका भैंसी छन् । पहाडी एवम् बेसीफाँटहरू र खोला किनाराका फाँटमा सदियौंदेखि अधिक भैंसी पाल्दै आएको पाइन्छ । नेपालमा पानीमा आहाल बस्ने वाटर बफेला पाइन्छन् । जंगलमा बस्नेलाई ‘स्वाम्प् बफ्यालो’ भनिन्छ ।

तराई क्षेत्रमा भारतिय प्रजातीको मूर्राप्रजातिसँग ‘क्रस बि्रडिङ’ गराएर नेपाली मौलिकताको मूर्रा ‘क्रस’ भैंसी उत्पादन भैरहेको छ ।

नेपालमा अझैपनि परम्परागत रूपमा नै भैंसीपालन भैरहेको छ । भैंसीको आर्थिक महत्वलाई राज्यले नजरअन्दाज गरेको भैंसी सम्वन्धि अनुसन्धानकर्ता डा.भूमिनन्द देवकोटाको भनाइ छ । ‘गाईभन्दा भैसीको महत्व बढी छ, गाईलाई नेपालमा मासुका रुपमा प्रयोग गर्न सकिदैन् तर भैसीलाई सकिन्छ, मःम लोकपि्रय नै छ,’ डा. देवकोटाले भने-‘भैंसीको दूध पोसिलो, चिल्लो पर्दाथ गाईकोमा भन्दा २ गुणा बढी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment