Comments Add Comment

सरकारले सुरु गर्‍यो प्रदेशस्तरीय सुरक्षा गोष्ठी

१२ वैशाख, काठमाडौं । सरकारले देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु गरेको छ । फिल्डमै गएर सुरक्षा अवस्थाबारे अध्ययन, अनुसन्धान र निरीक्षण गर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बुधबार प्रदेश २ को बारा पुगेका छन् ।

१४ गते प्रदेश ५ को बुटवलमा र १८ गते प्रदेश ३ को हेटौंडामा गोष्ठी आयोजना हुनेछ । अन्य प्रदेशमा हुने गोष्ठीको मिति भने पछि तय गरिने गृहमन्त्रालयले जनाएको छ ।

बुधबार बारा पुगेका मन्त्री थापाले नयाँ परिवेशमा आएका समस्याको कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा नयाँ विधि पत्ता लगाउन गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

प्रदेश २ को गोष्ठी उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले सातवटै प्रदेशमध्ये प्रदेश २ बढी सम्वेदनशील र महत्वपूर्ण भएको बताए ।

उनले शान्ति स्थापना र राजनीतिक स्थायित्वका लागि संवेदनशील र जिम्मेवार बन्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । खुला सिमानाबाट हुने तस्करी, गुण्डागर्दी र घरेलु हिंसा नियन्त्रणका लागि कार्ययोजना बनाउन उनले गोष्ठीमा सहभागीहरुलाई निर्देशन दिए । वर्षा आउँदै गरेकाले उद्धार तथा राहतको पूर्व तयारी गर्न पनि उनले निर्देशन दिएका छन् ।

कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले प्रदेश र संघको सुरक्षा अधिकार सम्बन्धमा केही समस्या रहेको बताउँदै दुई हप्ताभित्र त्यसको समाधान गर्ने पहल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment