+
+

युएईमा बुद्ध जयन्ती संयुक्त रूपमा मनाइने

डिल्ली हुमागाई डिल्ली हुमागाई
२०७५ वैशाख १९ गते १२:४०

२ मे, दुबई । युएईमा क्रियाशिल सामाजिक संस्थाहरुले एकै मञ्चमा बुद्ध जयन्ती मनाउने भएका छन् । आगामी मे ११ दुबईको अल्कुजस्थित डुलस्को हलमा यस वर्षको बुद्ध जयन्ती पनि संयुक्त रुपमा मनाउन लागिएको हो ।

यसका लागि युएईका सामाजिक अभियन्ता डेरराज गुरुङको संयोजकत्वमा एक २५६२ औ बुद्ध जयन्ती मुल समारोह समिति गठन भइ त्यस अन्तर्गत विभिन्न समिति तथा उपसमितिले आआफ्नो जिम्मेवारी समेत सुरु गरिसकेका छन् ।

यूएईमा संयुक्त रुपमा मनाउन लागिएको बुद्ध जयन्ती समारोहलाई भब्य, सभ्य र अनुशासित बनाउन विभिन्न चरणमा बैठक र छलफल भइरहेका छन् ।

२५६२ औ बुद्ध जयन्ति मूल कार्य सम्पादन समितिको २७ तथा २९ अप्रिल २०१८ का दिन बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । संस्थाहरुसंग समन्वय गर्ने जिम्मा मणि भुर्तेल संयोजक रहने गरी परशुराम पौडेल, भिम हमाल, फलेन्द्र बलाम्की मगर र ओम कुमारी खाडलाई दिइएको छ ।

समारोहमा नेपालबाट कलाकार ल्याउने भनिए पनि समय अभाव पनि भएकोले युएईमा कार्यरत नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्ने र सबै कलाकारहरुलाई पारिश्रमिक दिनका लागि पहल गर्ने कलाकारमैत्री निर्णय गरेको छ । समारोहमा युएईमै उपलब्ध गुरुहरुबाट आवश्यक पुजा विधि, प्रवचन गर्ने पनि सर्वसम्मत निर्णय गरिएको छ ।

प्रचार प्रसार संयोजकमा मूल कार्य सम्पादन समितिका सदस्य गोविन्द ढकाललाई नियुक्त गरिएको छ ।

२९ अप्रिलमा  बसेको बैठकले नेपाली समाज युएई अध्यक्ष चन्द्रप्रसाद सापकोटा संयोजक रहने गरी कार्य सम्पादन समिति समेत गठन गरेको छ ।

समितिको सदस्यमा रमेश श्रेष्ठ अध्यक्ष (गैर आवशीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद युएई), डी. आर गुरुङ, (कार्यक्रम संयोजक तथा संरक्षक नेपाल आदिवासी जनजाती महासंघ युएई), पाशांग शेर्पा, (अध्यक्ष नेपाल आदिवासी जनजाती महासंघ युएई ), एकेन्द्र थापा( प्रबन्ध निर्देशक नमस्ते ट्राभल एल. एल. सी युएई) सदश्य सचिवमा गोविन्द ढकाल, (अध्यक्ष विश्व सहयोग संघ युएई ) र हरि(प्रसाद चापागाई, अध्यक्ष रुपन्देही सेवा समाज समाज युएई) रहेका छन् ।

कार्यक्रम आयोजना स्थलमा जानको लागि यायातायातको व्यवस्थापन मुल समितिबाट नगरिने बताइएको छ ।

यूएईमा सक्रिय कलाकारहरुको समुह अन्तरास्ट्रिय कलाकार समाज यूएई, नेपाली कलाकार समूह यूएई, लोक दोहोरी प्रतिस्ठान यूएई, कलाकार मञ्च यूएईबाट सिमित मात्रामा कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

त्यसै गरी समारोहमा विभिन्न जातजातिका सांस्कृतिक झाकी तथा नृत्यहरु पनि प्रस्तुत गर्ने मुल समितिको बैठकले निर्णय गरेको छ ।

नेपाली जनजाति महासंघ यूएईका अन्य प्रस्तुतिहरु पनि राखिने बताइएको छ । सांस्कृतिक कार्यक्रमलाइ सभ्य र व्यवस्थित बनाउन तथा कलाकार छनोट तथा प्रस्तुतिको छनोट गर्न सांस्कृतिक बिभाग संयोजक गोपिकृष्ण पंगेनिलाई सहयोग गर्नको लागि मूल कार्यसम्पादन समितिका सदस्य हरिप्रसाद चापागाईलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रम आयोजना गरिएको स्थान को सुरक्षास्थितिलाई मध्यनजर गर्दै कम्तिमा २ जना सेक्युरिटीको व्यवस्थापन गर्ने र उक्त कार्य सम्पन्न गर्ने जिमेवारी मूल कार्यसम्पादन समितिका सदस्य रमेश श्रेष्ठलाई दिइएको छ ।

समारोहको सफलताको लागि स्वयंसेवक संयोजकमा नरबहादुर घले रहने निर्णय भएको छ भने दिल लामा (उपसंयोजक) र सम्पूर्ण आयोजक संस्थाबाट सिफारिस भएका सदस्यहरु रहनेछन् चरम विवाद कार्यक्रमको मिति जति नजिकिदै छ, कार्यक्रमको स्वरुप, प्रस्तुति, गत वर्षको हिसाब किताब, व्यवस्थापन, मर्यादाक्रम, संस्थागत हैसियत र व्याक्तिगत कारणले विवादहरु सतहमा आइरहेका छन् ।

नेपाली आदिवासी जनजाति महासंघको सम्योजनमा कार्यक्रम गर्ने भनिए पनि पछिल्लो पटक कार्य सम्पादन समितिको सम्योजकको जिम्मेवारी नेपाली समाज युएईलाई दिने निर्णय भए चरम असन्तुष्टि बढेकाे छ ।

मिडिया संयोजकमा नेपाल पत्रकार महासंघ युएई शाखालाई राख्ने आयोजकको प्रस्तावलाई महासंघका बहुमत सदस्यले असन्तुष्टि जनाएको र यस बिसयमा महासंघभित्र पनि कुनै छलफल नभएको शाखाका सचिव मेघराज सापकोटाले बताएका छन् ।

गत सालको कार्यक्रम समिक्षा बैठकमा आयोजकले महासँघको भुमिका प्रति प्रश्न गरेका थिए । गत वर्ष ५१ सामाजिक र जातीय संस्था मिलेर मनाइएको बुद्ध जयन्ती समारोहको समाचार सम्प्रेषण नगरेको भन्दै युएईमा कृयाशिल पत्रकारहरु र सिङगो पत्रकार महासंघ विरुद्ध आयोजकहरुले सार्वजनिक रूपमा गाली गलौज गरेका थिए ।

सोही कारण अधिकाँश सदस्यहरु बिबादित यस कार्यक्रममा कुनै ठोस जिम्मेवारी नलिई तठस्थ भुमिकामा रहेर सहयोग गर्नुपर्ने पक्षमा रहेका छन् ।

त्यसरी नै कलाकारहरुको प्रस्तुति र जिम्मेवारीबारे पनि पुर्व सहमति विपरीत रातारात फेरबदल गरिएको भन्दै इनास युएई अध्यक्ष रेखा घिमिरेले असन्तुष्टि जनाएकी छन् ।

गत वर्ष २ हजार ४ सय जना सहभागीले ३० दिरामका दरले प्रवेश शुल्क वापत बुझाएको हजारौं रकमको हिसाबकिताब सार्वजनिक नगरेकोमा तत्कालीन हल ब्यवस्थापक उमेश वाबुकुदिख राईले आर्थिक अनियमितताको आरोप लगाएका छन् ।

तत्कालीन आर्थिक संयोजक एकेन्द्रबहादुर थापाले गत वर्षको सम्पुर्ण खर्च कटाएर करिब ४ हजार २ सय ६३ दिराम मात्रै बचत भएको हिसाब सार्वजनिक गरेका छन् । आयोजक संस्थाहरुको मर्यादाक्रम पुर्व सहमति अनुरुप नभएको भन्दै एनआरएन अध्यक्ष रमेश श्रेष्ठले आपत्ती जनाएका छन् ।

कलाकारहरुले छुट्टै मनाउने भए बुद्ध जयन्ती

यसैबीच अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज आबुधाबी क्षेत्रको तत्वाबधानमा २५६२ औं बुद्ध जयन्ती साँस्कृतिक साँझ २०१८ आयोजना हुने भएको छ ।

आगामी मे ११ तारिख, शुक्रबार आबुधाबी मलयाली समाजको हल, मुसफ्फामा आयोजना गरिएको उक्त कार्यक्रमलाई भब्य, सभ्य तथा एतिहासिक रूपमा सफल बनाउन युएईमा कृयाशिल सबै संस्थाहरुलाई इनासले सार्वजनिक आह्वान गरेको छ ।

प्रबासमा पनि नेपाली धर्म, संस्कृति तथा भेषभुषा संरक्षणमा सबैको उत्तिकै महत्व हुने हुँदा कार्यक्रममा मोलम, पूजापाठ, प्रवचन तथा प्रसाद ग्रहणको व्यवस्था गरिएकोले युएईमा श्रमरत सबै नेपालीहरुलाई उपस्थितिको लागि आग्रह गरिएको छ ।

कार्यक्रमलाई माया गरी प्रस्तुति दिन चाहाने सबै स्रष्टा तथा सर्जकहरूलाई पनि आफ्नो कलाकारिताको प्रस्तुति दिने बराबर अवसर प्रदान गरिने छ र सबैको उपस्थतिका लागि हार्दिक निमन्त्रणा गर्दै कार्यक्रम संयोजक, भिम घिसिङ्गले सार्वजनिक सूचना जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?