Comments Add Comment

धार्मिक पर्यटनको आकर्षक गन्तव्य ‘त्रिपुरासुन्दरी’

   २४ वैशाख, डोल्पा । चारैतिर होचो भू–भाग । दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने टाँकेभिर । प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिङ्गा । त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारिपट्टि देखिने हिउँले सिँगारिएका मुकुटेश्वर, कागमारा र अरु हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा । मन्दिर अवस्थित जमीनसँग जोडिएको उर्बर फाँट । हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ, जौ जस्ता अन्नबाली । उब्जाउयोग्य जमीन मासेर बनाइएका रङ्गीचङ्गी जस्ता छाइएको बस्ती । त्रिपुरासुन्दरी मन्दिरका यी बाहिरी आकर्षण हुन् ।

मन्दिर पुगेपछि देखिने यस्ता दृश्यले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ । डोल्पाको त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृश्य अत्यन्तै आकर्षक र लोभलाग्दा छन् । मन्दिर नेपालका परम्परागत मन्दिर भन्दा फरक शैली र आकारको छ । मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड, नदीनालाको दृश्यावलोकन पूजाआजा पछिको भक्तजनको मुख्य रोजाइमा पर्छ । चारैतिर होचो भू–भाग र बीचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न मात्रै वर्षेनी यहाँ हजारौँं भक्तजन आउने गरेको पुजारी निर्मल उपाध्यायको भनाइ छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएपछि भक्तजनको चाप पनि दिन प्रतिदिन बढ्न थालेको छ । त्रिपुरासुन्दरी मन्दिर नेपालमा मात्र नभई भारतमा समेत ठूलो शक्तिपीठका रुपमा चिनिन्छ । मन्दिर पुग्ने जो कोही भक्तजन आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलोभेरी नदी, हिउँले सेताम्ये हिमाल, समथर फाँट अनि विशाल नाङ्गा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतुर देखिन्छ् । अझ विशेष चाडपर्वमा त फोटो खिच्नसमेत पालो पर्खनु पर्छ । 
मन्दिर निर्माणका लागि भारत सरकारले रु तीन करोड ३३ लाख सहयोग गरेको थियो ।

प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ व्यक्तित्वको प्रमुख गन्तव्यस्थल बन्दै आएको छ । श्री स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अंग कन्ड्याउलो (ढाड) पतन भएको शक्तिपीठ हो यो । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अंग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ति छ । त्रिपुरासुन्दरी मन्दिरदेखि पाँच मिनेटको दूरीमा भैरव मन्दिर पनि रहेको छ । एक वर्षयता मात्रै त्रिपुरासुन्दरीमा प्रधानमन्त्री, सुरक्षा प्रमुख र राजदूतहरुबाट भ्रमण भएको छ ।

पञ्चायतकालदेखि राजा–महाराजासमेत दर्शनका लागि यहाँ आउने गरेको बूढापाकाहरु बताउँछन् । यस मन्दिरमा पूर्वराजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि गुरु शंकराचार्य, पुरीनाथ बाबा लगायतका प्रसिद्ध साधुसन्तले आइसकेका पुजारी बताउँछन् । ठूलो शक्तिपीठ भएपनि दुर्गम भएकाले मन्दिरको महत्व दुनियाँले थाहा पाउन नसकेको अर्का पुजारी रविप्रसाद न्यौपानेले बताउनुभयो । ‘यो मन्दिर नेपालका अन्य त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो, त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कन्ड्याउलो पतन भएको ठाउँ र दशमहाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ,’ उनले भने – ‘उचित प्रचार–प्रसार हुन नसक्दा सम्भावना बोकेर पनि ओझेलमा परेको छ ।’

मन्दिरको तलपट्टि हेलिकप्टर पार्किङ गर्न खाली समथर जमीन छुट्याइएको छ । गत चैत ३० मा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरासुन्दरीमा पूजा गर्नुभएको थियो । डोल्पाको इतिहासमै पहिलो पटक बहालवाला प्रधानमन्त्री त्रिपुरासुन्दरी पुगेर पूजाआजा गरेको यहाँका पुजारीहरु बताउँछन् । चैत २९ मा पनि भारतका तीन पूर्वराजदूतले त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए । पन्ध्रदिने डोल्पा पदयात्राको तालिका बनाएका उनीहरुको पहिलो गन्तव्य त्रिपुरासुन्दरी थियो । 
डोल्पाले धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वराजदूत रणजीत रायले बताउनुभयो । उनका अनुसार डोल्पा पुग्ने सबैको चाहना छ तर, कसरी, कहाँबाट डोल्पा जाने भन्नेबारेमा जानकारी नहुँदा चाहेर पनि तीर्थालु डोल्पा आउन सक्दैनन् । डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए डोल्पाले धार्मिक पर्यटन विकासको हिसाबमा फड्को मार्ने राजदूत रायको बुझाइ छ ।

यस्तो छ त्रिपुरासुन्दरीको इतिहास 

ईसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ ।

परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाविसको कोट गढीमा विक्रम शाही महाराजको दरबार थियो । शाहीले यसै कोट गढीका १४ घर बिष्टलाई आफ्ना काजीका रुपमा राखेका थिए । अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा धान कुट्ने ओखल थियो । ओखलमा धान कुट्ने गरिन्थ्यो । धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलाप देखिन थाल्यो । कहिले चारपाथी धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्दथ्यो । यस्ता अचम्मका घटना भएपछि यो कुरा मन्त्री बिष्टका कजेनीहरुले आफ्ना काजी बिष्टहरुलाई बताए ।

काजीहरुले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए । शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरुलाई बोलाएर ओखल उत्खनन गर्ने मनसाय पोखे । ओखलमुनि के रहेछ भन्ने अनौठो कुरा हेर्न राजा र प्रजा आतुर थिए । सल्लाह भएअनुसार भोलिपल्ट बिहानैदेखि सबै गाउँले बोलाएर ओखल उत्खनन गर्न लगाए । उत्खननमा सयौँ मान्छे लगाइयो । बेलुकी हुँदासमेत ओखल निकाल्न सकिएन, थोरै बाँकी रह्यो । सबै थाकेका थिए । बाँकी रहेको काम भोलि पूरा गर्ने शर्तमा सम्पूर्ण टोली घर फर्किए । भोलिपल्ट बिहानै सबेरै ओखल उत्खनन गर्न आउँदा त ओखल जस्ताको तस्तै उत्खनन नगरेकै जस्तो अवस्थामा देखिएपछि सबैजना चकित परे । राजाले विभिन्न गाउँबस्तीबाट हजारौँ मान्छे बोलाएर रातदिन लगाएर ओखल उत्खनन गर्न लगाए । 
लगातार दुई दिनसम्मको प्रयास पछि ओखल निकालियो । त्यो अचम्मको ओखलभित्र अनौठा दृश्यहरु देखिए । ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घिउको कराईमाथि तामाको थाली, थालीमाथि षट्कोण यन्त्र, त्यसमाथि कुँडेस र त्यसभित्र नवदुर्गा भगवतीका नौ बहिनीका स्वरुप देखिए । खन्दै गर्दा बाउसोको टुपो तामाको षट्कोण लिखित यन्त्रमा लाग्यो । खन्ने काजी बेहोस भए ।

पुतलीरुपी देवीहरु उडेर विभिन्न ठाउँमा विराजमान भइन् । देवीको रुप लिएका पुतलीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा विराजमान छन् । विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् ।

नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहर तार पुग्दा बाँदर फड्का खोलामा पुल नलाग्दा त्रिपुरासुन्दरीलाई गुठीका रुपमा चढाउने भाकलपछि पुल लागेको र डोल्पाका नौ राज्य एकीकरण गरेको किंवदन्ती छ । डोल्पासम्म पुग्न नेपालगञ्जबाट जहाज चढेर जुफाल विमानस्थल झर्नुपर्छ भने सडक मार्गको प्रयोगसमेत गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment