Comments Add Comment

बीपी जेल बसेको सुन्दरीजल बन्यो देउवा-पौडेल गुटको झगडा स्थल !

एउटै समय र स्थानमा अलग-अलग कार्यक्रम

२५ वैशाख, काठमाडौं । सुन्दरीजल कांग्रेसका संस्थापक नेता बीपी कोइराला जेल बसेको स्थान हो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति बोकेर निर्वासनबाट फर्किएका उनलाई त्यहीँ थुनिएको थियो ।

तर, कांग्रेसका नेताहरुले अब त्यही सुन्दरीजललाई गुटको झगडा स्थल बनाउने भएका छन् ।

सुन्दरीजलस्थित वीपी संग्रहालयमा कांग्रेसको संस्थापन र पौडेल-सिटौला समूहले स्ववियु सभापति तथा पदाधिकारीहरुको अलग-अलग प्रशिक्षण कार्यक्रम राखेका छन् । रोचक त के छ भने प्रशिक्षण कार्यक्रमको समय पनि एउटै छ ।

बुधबार हुने कार्यक्रमको आयोजक ‘नेपाल विद्यार्थी संघ केन्द्रीय समिति’ भनिएको छ । संस्थापन पक्षको कार्यक्रमको संयोजन शहिद आदर्श क्याम्पसको स्ववियुले गरेको छ ।

पौडेल-सिटौला समूहको कार्यक्रमको संयोजन नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमिति र सहसंयोजन शहिद आदर्श क्याम्पसको नविसंघ इकाइ समितिले गरेको छ ।

नेविसंघका संस्थापन र अलग-अलग ब्यानर बनाएर आ-आफ्नो कार्यक्रमको प्रचार जारी राखेका छन् । संस्थापन पक्षको प्रचार सामाग्रीमा कार्यक्रमको प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथि रामचन्द्र पौडेल उल्लेख गरेर उनीहरुको तस्वीरसमेत राखिएको छ । तर, पौडेल-सिटौला समूहको ब्यानरमा नेताहरुको नाम, तस्वीर केही पनि उल्लेख छैन ।

हेर्नुहोस् अलग-अलग कार्यक्रमको ब्यानर

सुरक्षा सतर्कता बढाइयो

सुन्दरीजल त्यही ठाउँ हो जहाँ कांग्रेस संस्थापक वीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतले लामो समय जेल जीवन बिताएका थिए । राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइराला लगायतका नेताहरुलाई तत्कालीन सरकारले पक्रेर सुन्दरीजल जेलमा कोचेको थियो । सो स्थानलाई हाल ‘वीपी कोइराला संग्रहालय’मा परिणत गरिएको छ । यो ऐतिहासिक ठाउँमा बीपीलाई आदर्श पुरुष मान्ने कांग्रेसको मेलमिलाप होइन झगडा गर्ने स्थल बनेको छ ।

कांग्रेस नेताहरुले पार्टीलाई एकढिक्का बनाउनुको सट्टा गुटलाई प्रश्रय दिएपछि नेविसंघभित्रको विवाद उत्कर्षमा छ । कार्यक्रमलाई रोक्न नसके वा विवाद समाधान गर्न नसके यसले झडपको रुप लिनसक्ने भन्दै प्रशिक्षणस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति असन्तुष्ट पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । त्यही सिलसिलाअन्तर्गत सुन्दरीजलस्थित वीपी संग्रहालयमा आयोजित प्रशिक्षण पनि एक हो ।

समसामयीक राजनीतिक परिस्थितिमा पार्टीको भूमिका र आसन्न महाधिवेशनको तयारीबारे नेताहरुले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनेछन् । कार्यक्रमको उद्देश्यबारे नेविसंघ केन्द्रीय अध्यक्ष महरले भने- स्ववियु चुनावमा हामीले धेरै ठाउँमा जित्यौं । यो हाम्रो केन्द्रीय समितिको ठूलो उपलब्धी हो । ति सबै साथीहरुलाई ‘वेल ट्रेन्ड’ बनाउने कार्यक्रमको उद्देश्य हो ।

पौडेल दाइले आउँछु भन्नुभएको छ : महर

नेविसंघ अध्यक्ष नैनसिंह महरले यो केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रम रहेको र अर्को पक्षको कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘यो कार्यक्रम गर्ने भनेर केन्द्रीय समितिले पहिल्यै निर्णय गरिसकेको थियो, त्यसैअनुसार बुधबार बिहान ८ बजे कार्यक्रम राखिएको हो । रामचन्द्र पौडेल दाइले म पनि कार्यक्रममा आउँछु भनेर स्वयं मलाई नै भन्नु भएको छ । अर्को ब्यानर कसैले राख्दिन सक्छ, त्यसको अर्थ छैन ।’

एकलौटी गरेपछि काउन्टर दिन लागेका हौं: सुवेदी

नेविसंघका उपाध्यक्ष डिल्ली सुवेदीले भने छलफल, सल्लाह र आधिकारीक निर्णयबिना अध्यक्ष नैनसिंह महर अगाडि बढेपछि काउन्टर दिन लागिएको बताए । कृष्णप्रसाद सिटौला निकट मानिने सुवेदीले भने, ‘नेबिसंघ कुनै प्राइभेट लिमिटेड होइन । तर, अध्यक्षले नेविसंघलाई हरेकपटक एकलौटी चलाउन थालेपछि सुन्दरीजलको कार्यक्रमबाट हामीले काउन्टर दिन लागेका हौं ।’

उनले स्ववियुको पदाधिकारीको प्रशिक्षणबारे कुनै सल्लाह, छलफल र निर्णय नभएको दावीसमेत गरे ।

प्रशिक्षण कार्यक्रममा देशभरबाट करिब ३ सय जनाको सहभागीता रहने अनुमान छ । पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी दिने र बदलिँदो समय परिस्थितिसँगै स्ववियु पदाधिकारीहरुलाई सक्षम र सबल बनाउने कार्यक्रमको उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment