Comments Add Comment

पार्टी एकताको दिन कहाँ हराए झलनाथ ? गुमाए वरियता

नेकपाको हाइकमाण्डमा ओली र प्रचण्डपछि माधव नेपालको इन्ट्री

फाइल फोटो

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकता घोषणाको ऐतिहासिक मौका गुमाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् ।

खनाल तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा थिए । तर, एमाले र माओवादीले एकता गरेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ मा उनलाई माधव नेपालले उछिनेका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री खनाल देखिएनन् । दुवै पार्टीको संयुक्त बैठक र पार्टी एकीकरण घोषणासभामा खनालको खोजी भयो । पार्टीलाई उनी कता छन् भन्ने आधिकारिक जानकारी नै थिएन ।

पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । खनाल व्यापारिक कामका सिलसिलामा चीन र मलेसियातर्फ बेला बेलामा जाने गर्छन् । उनका छोरा निर्भिक चित्रकार चिनियाँ कम्पनीसँग मिलेर व्यापार व्यवसायमा छन् ।

भैरहवाको गौतमबुद्ध विमानस्थलको ठेक्का लिएर काम नगरेको चिनियाँ ठेकेदार कम्पनीको नेपाली कन्सल्ट्यान्टसमेत हुन् खनालपुत्र निर्भिक । पार्टी एकता संयोजन समितिमा रहेका खनाल जेठको पहिलो साता पार्टी एकीकरण हुने भनिएका बेला ऐतिहासिक अवसर छाडेर व्यापारिक प्रयोजनमा बिदेशिनु लज्जाको विषय बनेको नेकपाका एक नेताले बताए ।

खनालले पार्टी एकताको अवसरमात्र गुमाएनन्, नेकपाको ९ सदस्यीय हाइकमाण्डमा पनि घटुवा भएका छन् ।

यसअघि केपी ओलीपछिको वरियतामा रहेका खनाल एकीकृत पार्टीमा ओली र प्रचण्डपछि तेस्रो वरियतामा रहने थिए । संयोजन समितिमा पनि उनी तेस्रो वरियतामै थिए ।

पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेपछि उनको बरियता तल पारिएको स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्डपछि दोस्रो बरियतामा तत्कालिन एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल रहनेछन् ।

नेपाल पछिल्लो समय ओली र प्रचण्डबीच अविश्वास हटाउन र पार्टी एकीकरण टुंगो लगाउन सक्रिय भएका थिए । नेकपाको शीर्ष बरियतामा ओली र प्रचण्डको हैसियत समान बरियतामा रहनेछ ।

दोस्रो बरियतामा नेपाल रहनेछन् भने त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा बादल र बिष्णु पौडेल रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment