Comments Add Comment

दाङमा वायु गुणस्तर मापन केन्द्र, सवा करोड खर्चेर ल्याइयो मेसिन

वायु प्रदूषण मापन गर्न घाेराहीमा ल्याइएकाे यन्त्र । तस्वीरः निमुसंगम घर्ती

७ जेठ, घोराही । दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुनेछ ।

त्यसका लागि सवा एक करोड रुपैयाँको मेसिन आइतबार सदरमुकाम घोराही ल्याइएको छ । वातावरण मन्त्रालय वातावरण बिभागसँग भएको सम्झौताअनुसार एक करोड २५ लाख रुपैयाँ लागतको मेसिन रामपुर ल्याइपुगेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए ।

घोराहीमा सन्चालित सिमेन्ट उद्योग र बजार क्षेत्रबाट निस्कने सबै प्रकारका वायु प्रदुषणको मापन उक्त यन्त्रले गर्ने छ । त्यसको आधारमा सुधारका लागि काम थालिने उपमहानगरपालिकाले जनाएको छ ।

दाङको सदरमुकाम घोराही र त्यस आसपासमा करिब आधा दर्जन सिमेन्ट उद्योगहरु सन्चालित छन् । त्यसबाट निस्किने धूलोबाट स्थानीयबासी पीडित छन् । साथै घोराहीमा बढ्दो शहरीकरण र सवारी साधनको चापले पनि वायु प्रदुषण बढ्दै गएको बताइन्छ ।

यसबाट वायुमा धुलोको कण कति छ भन्ने पत्ता लाग्छ । साथै उद्योग कलकारखानाबाट निस्किने धुँवा, गाडीहरुबाट निस्किने धुवाँ, ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्रा पनि छुट्याउन सकिन्छ । सोही आधारमा न्यूनिकरण गर्नका लागि काम थालिने वातावरण निरीक्षक निर्मल चौधरीले बताए ।

यस्तो मेसिन हाल काठमाडौंको रत्नपार्क, ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल, चितवनको सौराहा, रूपन्देहीको लुम्बिनी लगायतका स्थानमा पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment