Comments Add Comment

प्रधानमन्त्रीका कारण झापामा आदिवासी रंगशाला निर्माण अलपत्र भएको अारोप

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कारण झापाको कमल गाउँपालिकामा निर्माणधीन आदिवासी रंगशाला निर्माण अलपत्र परेको आदिवासी रंगशाला तथा स्मृति पार्कले आरोप लगाएको छ ।

रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण रंगशाला निर्माण अलपत्र परेको पार्कको समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी बताएको हो ।

२०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो । सोही अनुरुप सरकारमार्फत बजेट बिनियोजन भएर रंगशाला निर्माण सुरु भएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा रंगशालाको नाम परिवर्तन गर्ने काम भएपछि निर्माण अलपत्र परेको समितिको दाबी छ ।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले प्रधानमन्त्री ओलीले आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’ को नाममा बजेट बिनियोजन गरिएपछि निर्माण रोकिएको बताए ।

विकासका लागि आफ्नो संस्कार र संस्कृतिसंग जोडिएको पीतापूर्खाको चिहान भत्काउन तयार भएको आदिवासी प्रति धोका दिने काम कदापी स्वीकार्य नहुने अध्यक्ष राईको भनाइ रहेको छ ।

उनले भने, ‘हामी बिकास बिरोधी होइनौ तर पहिचान नै मेटेर बिकास गर्ने प्रवृति कदापि स्वीकार्य छैन ।’

सरकारले पहिलो पटक आर्थिक बर्ष २०६७/०६८ मा ‘आदिवासी रंगशाला’ निर्माणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो ।

तत्कालीन रक्षामन्त्री तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको ‘आदिवासी रंगशाला’ कै नाममा दोस्रो पटक पनि आर्थिक बर्ष २०७०/०७१ मा डेढ करोड र तेस्रो पटक आर्थिक वर्ष २०७१/०७२ मा ३५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

उक्त बजेटबाट रंगशाला क्षेत्रमा रहेको चिहान भत्काउने, मैदान सम्याउने, स्मृति स्तम्भ निर्माण लगायतका आधारभूत काम भएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा भने आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’ को नाममा ४० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । तर, आदिवासी समुदायको बिरोधपछि उक्त रकममार्फत काम हुन सकेन ।

त्यसपछि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आर्थिक वर्ष २०७३/०७४ मा पनि ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा एक करोड बजेट बिनियोजन भयो । नाम परिवर्तनकै विषयलाई लिएर आदिवासीले विरोध गरेपछि उक्त रकम समेत फ्रिज भएको थियो ।

आदिवासी समुदायले लामो समयदेखि समाधि स्थलको रुपमा प्रयोग गर्दै आएको उक्त क्षेत्रमा द्वन्द्वकालमा सशस्त्र प्रहरी बल पाथिभरा गण स्थापनापछि समाधिष्टमा रोक लगाइएको थियो । समाधिष्टमै रोक लगाइएपछि आदिवासी समुदायले विरोध गरेका थिए ।

आदिवासीको विरोधपछि सशस्त्र प्रहरीको मातहतमा रहेको उक्त क्षेत्रमा आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण गर्ने र पुरानो समाधिस्थलको पूर्व क्षेत्रमा समाधिका लागि ठाउँ दिने सहमति भएको थियो ।

सोही सहमतिपछि त्यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिवंगतहरुको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment