Comments Add Comment

कम्युनिस्ट सरकार आफैं समाप्त हुने बाटोमा : उपेन्द्र यादव

१० जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् ।

कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म मुलुक पनि तहसनहस भइसक्ने उनले अध्यक्ष यादवले दावी गरे ।

नेकपाको सरकार दृष्टिबिहीन बनेर मुलुकलाई चलाउने प्रयास गरेको बताउँदै उनले यसले मुलुक पनि खतरामा पर्न सक्ने बताए । ‘विश्वमा चीनबाहेक कुनै पनि देशमा कम्युनिस्ट शासन चल्न सकेको छैन’ उनले भने, ‘चीनका कम्युनिस्ट आफ्नै ढंगले राम्रो नीति बनाएर अगाडि बढिरहेका कारण अहिलेसम्म टिकेको छ । विश्वका अन्य देशमा बनेका कम्युनिस्टहरु ध्वस्त भइसकेको र उनीहरुको ध्वस्तसँगै ती देशहरु पनि बर्बाद भइसकेको छ ।’

संघीय समाजवादी फोरम नेपाल सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पोल्याण्ड, हंगेरी, चेकास्लाभिया, रोमानिया, सोभियत संघ, युगोस्लाभिया जस्ता देशमा कम्युनिस्ट शासन भएपनि ती शासनसँगै कम्युनिस्टहरु ध्वस्त भएको बताए । ‘जसरी ती देशका कम्युनिष्टहरु ध्वस्त भए नेपालका कम्युनिष्टहरु पनि त्यहीं बाटो अँगालेका छन्’ उनले भने, ‘यहीं तरिकाले हिँडिरहे यिनिहरुको अवस्था पनि त्यस्तै हुन्छ । तर, तबसम्म देश पनि बर्बाद भइसकेको हुन्छ ।’

कम्युनिस्ट र कांग्रेसले युवालाई विदेश जान बाध्य बनाएको आरोप

अध्यक्ष यादवले अहिले युवाहरु विदेश पलायन भइरहेको अवस्था ल्याउने मुख्य श्रेय कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए ।

२५ वर्षअघि मुलुकमा ४ सय भन्दा बढी उद्योग, कारखाना रहेकोमा अहिले कुनै उद्योग नरहेकै कारण युवाहरुलाई विदेश जानुपरिरहेको उनले बताए ।

दैनिक ५ देखि ७ हजारसम्म युवा विदेश गइरहेका छन्’ उनले भने, ‘विदेशबाट दैनिक ५/७ जनाको शव आइरहेको छ । यो अवस्था ल्याउने काँग्रेस र कम्युनिस्ट नै हो ।’

अध्यक्ष यादवले जुट मिल, जनकपुर चुरोट कारखाना, भुकुटी कागज, बाँसबारी छाला जुत्तासहितका ४ सय भन्दा बढी उद्योगभन्दा रहेको हाम्रो मुलुकमा कांग्रेसले उदार अर्थ व्यवस्था नीति ल्याएर विगारेको र त्यसमा कम्युनिस्टहरुले पनि सहयोग गरेको बताए । ‘यी उद्योगहरु नियमित संचालन भएको भए युवाहरु आफ्नै देशमा रोजगारी पाउँथे’ उनले भने ।

प्रदेश २ समृद्व नभए मुलुक समृद्व हुँदैन

सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसदसमेत रहेका यादवले प्रदेश २ समृद्व नभएसम्म मुलुक समृद्व बन्न नसक्ने बताए । उनले प्रदेश २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भए मात्र पुरै नेपाल समृद्व हुने बताए ।

प्रदेश २ बर्बाद भए समृद्व नेपालको परिकल्पना मात्रै हुने बताउँदै उनले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन, अधिकारसम्पन्न बनाउन संविधान संशोधन जरुरी रहेको बताए ।

उनले प्रदेश बनेपनि प्रदेशलाई कुनै अधिकार नदिएको बताए । ‘प्रदेश त बनेको छ तर सबै शाषण सत्ता केन्द्रले नै हातमा राखेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment