Comments Add Comment

माग्नेबुढाका हातभरी अवार्ड, उठाए यस्तो प्रश्न

हाँस्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ ले गत वर्ष कतिवटा अवार्ड जिते उनैलाई थाहा छैन । तर यति थाहा छ भएका कुनै पनि अवार्डमा उनी खाली हात हुनु परेको छैन ।

गएको वर्ष उनले ‘छक्का पञ्जा’ फिल्मबाट सर्वोत्कृष्ट हाँस्यकलाकारको विधामा लगभग सबै अवार्ड सोहोरेका थिए ।  यो वर्ष पनि ‘छक्का पञ्जा २’ बाट त्यही पारा झिकेका छन् । यो वर्ष उनले दुई वटा अवार्ड जितिसकेका छन् भने बाँकी रहेका अवार्डमा पनि उनकै वर्चश्व नरहला भन्न सकिन्न ।

माग्नेबुढा अवार्ड थाप्न जान भने अल्छि गर्न थालेका छन् । केही दिनअघि एनएफडीसी अवार्डमा उनी अनुपस्थित थिए भने बिहिबार आयोजित डी सिने अवार्डमा पनि उनी गएनन् । के उनलाई अवार्डदेखि अघाएका हुन् ?

माग्नेले कार्यव्यस्तताले अवार्ड थाप्न जान नसकेको बताए । उनी हाल पोखरामा छक्का पञ्जा ३ को सुटिङमा व्यस्त रहेका छन् । उनी काठमाडौंबाहिर भएकाले होला आयोजकले पनि ताकेता गरेनन् ।

‘अवार्ड पाउँदा पक्कै पनि खुशी लाग्छ, काठमाडौंमा भएको भए थाप्न जान्थेँ,’ उनले भने । उनले आफूले अवार्ड जितेकोमा फेसबुकमा स्टाटस लेख्दै खुशी सेयर गरका थिए ।

माग्नेबुढाको घरमा छोटो समयमै धेरै अवार्ड थुपि्रएका छन् । ती अवार्डहरु भविष्यमा आफ्नो लागि आत्मसन्तुष्टीको विषय हुने उनको बुझाई छ ।

‘सुरुमा अवार्ड पाउँदा जति खुशी लाग्थ्यो, त्यस्तो त अहिले हुँदैन, तर पनि राम्रो त लागिहाल्छ,’ उनी भन्छन् ।

उनले नेपालमा आयोजना हुने अवार्डहरुको एउटा रहस्य बुझ्न सकेका छैनन् ।

माग्नेबुढा भन्छन्, ‘कुनै अवार्डमा एउटा फिल्मको आधिपत्य हुन्छ, अर्को अवार्डमा त्यो फिल्मको नामोनिशाना हुँदैन । यस्तो किन हुन्छ मैले बुझ्न सकेको छैन ।’

उनले उदाहरण दिँदै भने, ‘परिक्षार्थिले लेखेको उत्तरपुस्तिका एउटा शिक्षकले जाँच्दा ८० नम्बर अर्कोले जाँच्दा शून्य नम्बर त हुँदैन नी ।’

माग्नेबुढा कलाकारको प्रोत्साहनका लागि अवार्ड आवश्यक रहेको बताउँछन् । तर, पछिल्लो समयमा अवार्डहरु सस्तो हुँदै गएको, कलाकारकै आकर्षण घटेको तथा राम्राले भन्दा हाम्राले अवार्ड पाउने गरेको चर्चा बाक्लिएको छ । यस सम्वन्धमा प्रश्न गर्दा माग्नेबुढा टक्टकिदै भन्छन्, ‘म त नयाँ कलाकार हुँ । मैले यस्तो विषयमा बोलेँ भने माग्नेले ठूला कुरा गर्‍यो भन्लान् । त्यसैले टिप्पणी नगरौं होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment