Comments Add Comment

गोरखामा सरकारी सवारी दुरुपयोग गर्नेमा जनप्रतिनिधि बढी

एक महिनामा २२ सरकारी सवारी प्रहरी नियन्त्रणमा

शनिवार गोरखा भित्रिने नाकामा रहेको मझुवा प्रहरी चौकीमा सरकारी सवारीको पास चेक गरिँदै

१२ जेठ, गोरखा । गोरखामा सरकारी कार्यालयका सवारी साधान जनप्रतिनिधीहरुले बढी दुरुपयोग गर्ने गरेको पाइएको छ ।

सार्वजनिक बिदाको दिन अनुमति नलिइ सरकारी सवारी चलाउने मध्ये अधिकांश जनप्रतिनिधि रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

एक महिनाको अवधिमा २२ वटा सरकारी सवारी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । ‘सार्वजनिक बिदाको दिन अनुमति नलिई चलेका १८ वटा मोटरसाइकल, एउटा स्कुटर र दुई वटा गाडी नियन्त्रणमा लिएका छौं’ पौडेलले भने, ‘दुरुपयोग गर्नेमा बढी वडा अध्यक्षहरु हुनुहुन्छ ।’

दुरुपयोग भएका सवारीहरु शहरी आवास तथा भवन डिभिजन कार्यालय र वडा कार्यालयको रहेको प्रहरीको भनाइ छ ।

सरकारी सवारीको दुरुपयोग भएको गुनासो बढ्न थालेपछि चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले बताए ।

‘बिभिन्न नाकामा चेकजाँच कडा पारेका छौं, सार्वजनिक विदाको दिन सरकारी सवारी चलाएको भेटेमा पास माग्छौं, पास नभएमा सवारी नियन्त्रणमा लिने गरेका छौं’ उनले भने ।

नियन्त्रणमा लिइएको सवारी विदा सकिएपछि छाड्ने गरिएको छ ।

सार्वजनिक विदाको दिन पास लिएर मात्र सवारी चलाउन सबै कार्यालय प्रमुखहरुलाइ निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए । ‘बिदाका दिन बिभागीय काममा जानुपर्दा अनुमति लिएर मात्र जाने भन्ने निर्णय कार्यालय प्रमुखहरुको बैठकमा गरिसकेका छौं’ प्रजिअ भट्टराइले भने, ‘विना अनुमति र विना काम बिदाको दिन सवारी चलाउन पाइँदैन ।’

जनप्रतिनिधिहरुले पनि स्थानीय तहले उपलब्ध गराएको पास लिएर मात्र सार्वजनिक बिदाका दिन सवारी चलाउनुपर्ने प्रजिअ भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment