Comments Add Comment

५ वर्षपछि साउदीको जेलबाट छुटे थानेश्वर


१४ जेठ, काठमाडौं । करिब ५ वर्षपछि साउदीको जेलबाट थानेश्वर भुसाल रिहा भएका छन् । परिबन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका हुन् ।

उनलाई जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको छ । उनलाई अब डिपोर्टेशन सेन्टरबमा पठाएर नेपाल फर्काउन अन्तिम प्रक्रिया पुरा गर्नुपर्नेछ । थानेश्वरसँगै साथमा नगेन्द्र लामा पनि जेलमुक्त भएका छन् ।

भुसाललाई जेलमुक्त गर्न प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ४५ लाख रुपैयाँ रकम संकलन गरेको थियो । सो रकम बुझाएर थानेश्वर जेलमुक्त भएको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले अनलाइनखबरलाई बताए ।

थानेश्वरकी आमा यमकलाको रोदनसहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील पीएनसीसीको संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।

कसरी परेका थिए जेल ?

नवलपरासीको मध्यविन्दु नगरपालिका ८ घर भएका थानेश्वरको परिवार निकै गरिव छ । गरिबीलाई नै मेटाउन सवारी चालकका रुपमा उनी साउदी पुगेका थिए ।
तर, दुर्भाग्यबस अर्काको गल्तीका कारण भएको दुर्घटनामा अदालतले उनलाई जेलबाट छुट्न ४५ लाख ब्लड मनी तिर्नुपर्ने फैसला गर्‍यो ।

तर, उनको परिवारको दयनीय अवस्थाका कारण त्यो सम्भव थिएन । त्यसैले उनको उद्धारका लागि सहयोग संकलन अभियान सुरु गर्दा उत्साहजनक रुपमा सहयोग रकम संकलन भएको थियो ।

अभियानका लागि गैह्रआवासीय नेपाली संघ एनआरएनएले पनि १२ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले थानेश्वर बचाउ अभियानमा सहयोग गरेका थिए । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो ।

युवा अवस्थामा नै विदेशिएका थानेश्वर अहिले ३८ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो ।

साउदीको अदालतले दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वरलाई दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दिएको थियो ।

छोरा छुटाउन हारगुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडिन् र अर्को बिहे गरिन् । थानेश्वरका बुवा पनि काम गर्न सक्दैनन् । काम गर्ने क्रममा रुखको हाँगोले टाउकोमा लागेर उनी अशक्त जस्तै भएका छन् ।

अहिले यमकला एक्लैले घरको सबै ब्यवहार हेर्छिन् । उनी जति पीडा बोकेरै भएपनि छोरालाई नेपाल फिर्ता ल्याउन कस्सिएकी थिइन् ।  उनको पहलमा सुरु भएको थानेश्वर बचाउने अभियान सफल भएको छ । अब अामा यमकलालाई छोरा थानेश्वर घर आइपुग्ने दिनको ब्यग्र प्रतीक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment